close

इलाम नगरको कोरोना खर्च सार्वजनिक

इलाम नगरको कोरोना खर्च सार्वजनिक

Trulli
ADVERTISEMENT

इलाम - इलाम नगरपालिकाले कोरोना संक्रमण  नियन्त्रणका लागि हालसम्म ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च स्थानीय तह आकस्मिक कोषबाट कोभिडका लागि छुट्याएको कुल रकमको ९४ दशमलव शून्य ३ प्रतिशत रहेको नगरपालिकाले बताएको छ । 


नगरपालिकाको आकस्मिक कोषमा ५ लाख ९४ हजार ३ सय १० रुपैयाँ बचत छ । उक्त रकमबाट अहिले कोरोना नियन्त्रण व्यवस्थापनको काम भइरहेको नगरपालिकाको भनाइ छ ।नगरको १२ वटै वडामा बन्दाबन्दीको समय समस्यामा परेका २ हजार ५ सय घरपरिवारलाई ५६ लाख ८७ हजार १ सय ८३ रुपैयाँ बराबरको राहत वितरण गरेको छ । 


विपन्न नगरबासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, साबुन र चिनी उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले जानकारी दिए ।नगरपालिकाले क्वारेन्टाइन निर्माण, व्यवस्थापनसँगै त्यहाँ बस्नेलाई खाना, खाजा, शैया, औषधी र स्वाब संकलन  किटको एकमुष्ट २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । ‘क्वारेन्टाइन व्यवस्थापन गर्न ४० थान शैया खरिद गरेका हौं’, नगरपालिकाकी स्वाथ्य शाखा प्रमुख रमन्ता पौडेल गुरागाईं भन्छिन् । १८ लाख ४ सय २४ कोरोना बिमामा खर्च भएको उनले बताइन् ।


कार्यालयमा दैनिक काम गर्ने नगरपालिकाको ३ सय ७ कर्मचारीको कोरोना बिमा गरिएको छ । महामारी नियन्त्रणसँगै नागरिकको स्वाथ्यलाई ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्न १० लाख ४० हजार ३ सय १७ खर्च छुट्याएको छ ।

 

आकस्मिक कोषमा ९९ लाख

 

नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न क्षेत्र तथा विषयको रकम, अनुदानसँगै दाताबाट ९९ लाख ५३ हजार ६२ रुपैयाँ स्थानीय तह आकस्मिक कोषमा संकलन गरेको छ ।  कोषमा प्रकोप व्यवस्थापनको १९ लाख ४५ हजार, नगरपालिकाका पदाधिकारी, कर्मचारी र शिक्षकका तर्फबाट १४ लाख ३८ हजार ७ सय ६३ रुपैयाँ जम्मा भएको छ ।


नगरपालिकाले १२ वटै वडाको लक्षित कार्यक्रम खर्च कटौती गरेर २ लाख ५० हजारको दरले ३० लाख रकम जम्मा गरेको थियो । यस्तै, नगरपालिकाका लागि छुट्याइएको कार्यक्रम खर्चबाट १० लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान १० लाखसँगै विभिन्न दाता तथा संघसंस्था, निर्माण व्यवसायीका तर्फबाट १५ लाख ६९ हजार २ सय ९९ रुपैयाँ जम्मा भएको नगरपालिकाले बताएको छ ।

 

सबै वडामा हेल्थ डेस्क स्थापना

 

नगरपालिकाले कोरोना भाइरसको प्रभावलाई न्यून गर्न १२ वटै वडामा हेल्थ डेस्क स्थापना गरेको छ । नगरका मुख्य बजार क्षेत्रमा डिस्इन्फेक्ट गरिएको नगरप्रमुख महेश बस्नेतले बताए ।


नगरपालिकाले अहिले नयाँ बसपार्क सेरामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । क्वारेन्टाइन व्यवस्थापन गर्न दुई चौकीदारसँगै एक स्वास्थ्यकर्मी दैनिक खटिरहेको प्रमुख बस्नेतले जानकारी गराए । क्वारेन्टाइन बस्नेलाई खानासँगै बिहान र दिउँसो दुई पटक नास्तासमेत खुवाउने व्यवस्था छ । 


कोरोना कहरकै बीचमा स्वास्थ्य क्षेत्रलाई सबल बनाउने उद्देश्यले ३ वटा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु भएको बस्नेत बताउँछन् ।  नगरपालिकामा १४ स्थानमा स्वास्थ्य केन्द्रसँगै इलाम बजार क्षेत्रमा मातृशिशु सेवा तथा आयुर्वेद अस्पतालको सेवासमेत सञ्चालनमा छ । 


नगरपालिकाले कोभिडको महामारीलाई  ध्यानमा राखी एउटा एम्बुलेन्स खरिद गर्ने तयारी थालेको छ । संक्रमितलाई अस्पतालसम्म पुर्‍याउनुका साथै नगरका गर्भवती तथा सुत्केरीलाई निःशुल्क स्वास्थ्य केन्द्रसम्म पुग्न सहज होस् भनेरै एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख बस्नेतले जानकारी दिए ।


जिल्ला बाहिरबाट आएकाहरू नगरपालिकाको क्वारेन्टाइनमा ४ दिन देखि २१ दिनसम्म बसेका थिए ।  नगरपालिकाले अहिलेसम्ममा १ हजार १ सय ८ जनाको पिसिआर परीक्षण गरिसकिएको नगरपालिका प्रमुख बस्नेतले बताए । त्यसमध्ये ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २२ जनाको रिपोर्ट आउँन बाँकी रहेको नगरपालिकाको स्वाथ्य शाखाले जनाएको छ ।


जिल्लाका क्वारेन्टाइनमा ३ सय १६ जना रहेकामा तीमध्ये हाल २६ जना मात्र बसेका छ । अरु निको भएर घर फर्किएको नगरपालिकाले बताएको छ ।