close

तेह्रथुमले पायो प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ करोड, कुन पालिकाले कति पाए ?

तेह्रथुमले पायो प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ करोड, कुन पालिकाले कति पाए ?

Trulli
ADVERTISEMENT

तेह्रथुम– तेह्रथुममा प्रधानमन्त्री रोजगार कार्यक्रमबापत ६ करोड रुपैयाँभन्दा बढी बजेट प्राप्त भएको छ । कार्यक्रमको बजेट सदुपयोग भए तेह्रथुममा एक हजार सात सय बढी नागरिकले रोजगार पाउनेछन् ।

 


दुई नगरपालिका र चार गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको तेह्रथुममा करिब चार हजार एक सय ९० जना बेरोजगारमा सूचीकृत भएको मेन्छयायेम गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक देवेन्द्र बस्नेतले जानकारी दिए ।

 


प्रधानमन्त्री रोजगार कार्यक्रममा नगरपालिका र गाउँपालिका प्रमुखहरूले युवा रोजगार लक्षित कार्यक्रम सञ्चालनका लागि बजेटको सुनिश्चितता गरेको फेदाप गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक रुद्रप्रसाद खनालले बताए ।


तीन तहका सरकारले स्वदेशकै र विदेशबाट फर्किएका बेरोजगार युवालाई त्यहाँ आर्जन गरेको सीप उपयोग गराउनसमेत प्रधानमन्त्री रोजगार कार्यक्रम उपयोगी रहेको बताएका छन् । रोजगार कार्यक्रमसँग जोडिन स्थानीय सरकारमार्फत नाम दर्ता गराई सूचीकृत भएका छन् ।


जिल्लाका ६ स्थानीय तहले एक महिने समयसीमा तोकेरै रोजगारीका लागि नाम दर्ता गराएका थिए । चालू आर्थिक २०७७÷७८ का लागि ठूलो संख्यामा बेरोजगार युवाले रोजगारी मागेको स्थानीय तहका प्रमुख बताउँछन् ।


लालीगुराँस नगरपालिकामा सबैभन्दा बढी एक हजार २१ बेरोजगार युवा सूचीकृत भएका छन् भने छथर गाउँपालिकामा सबभन्दा कम चार सय ८२ जना बेरोजगार युवा सूचीकृत भएका छन् ।

यस्तै, फेदापमा पाँच सय सात, आठराईमा नौ सय १८, मेन्छयायेम गाउँपालिकामा पाँच सय १७ र म्याङलुङ नगरपालिकामा सात सय ४५ जना बेरोजगार युवा सूचीकृत हुँदै रोजगारी मागेका छन् ।


प्रधानमन्त्री रोजगारसँगै फेदापले गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम सञ्चालनको लागि बजेट विनियोजन गरेको पालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता नवीनचन्द्र चोङवाङले बताए । उनले १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।


संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई चरणमा स्थानीय तहमा बजेट पठाइसकेको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजनाका निम्ति जिल्लामा तीन करोड ५७ लाख १८ हजार रुपैयाँ प्राप्त भएको छ भने युवा रुपान्तरण पहल आयोजनामा दुई करोड २७ लाख नौ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


यसरी अनुदान पाउने स्थानीय तहमा आठराईका लागि पारिश्रमिकमा आधारितमा ५५ लाख ८४ हजार, युवा रुपान्तरणमा ५१ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको छ भने गाउँपालिका अध्यक्ष कार्यक्रमको साझेदारीमा १४ लाख रुपैयाँ विनियोजन गरेको छ ।


फेदापले पारिश्रमिकमा आधारित ५१ लाख ७० हजार, युवा रुपान्तरणमा १५ लाख प्राप्त गरेको छ भने गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।


मेन्छयायेमले पारिश्रमिकमा आधारितमा ५१ लाख ७० हजार, युवा रुपान्तरणमा २२ लाख २४ हजार रुपैयाँ प्राप्त गरेको छ ।


छथरले पारिश्रमिकमा आधारित ६३ लाख, युवा रुपान्तरणमा २४ लाख, म्याङलुङ नगरपालिकाले पारिश्रमिकमा आधारित ५१ लख ७० हजार, युवा रुपान्तरणका लागि ३८ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको रोजगार संयोजक नवीन खतिवडाले बताए ।


यस्तै, लालीगुराँसले पारिश्रमिकमा आधारित ८३ लाख २४ हजार, युवा रुपान्तरणका लागि ५१ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको छ ।


जिल्लामा लालीगुराँसले सबैभन्दा बढी बजेट प्राप्त गरेको छ । फेदाप गाउँपालिकाले सबैभन्दा कम बजेट प्राप्त गरेको छ ।


स्थानीय तहका योजना छनोट गरी पठाएको आधारमा बजेट प्राप्त भएको हो । मुख्यमन्त्री रोजगारअन्तर्गतका योजनामा भने जिल्लामा बजेट प्राप्त भएको छैन ।


संघीय सरकारले निर्धारण गरेको कार्यविधिअनुसार सूचीकृत बेरोजगारलाई कम्तीमा सय दिन रोजगार दिने व्यवस्था छ । तर, हालसम्म कुनै पनि गाँउपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेका छैनन् ।


अघिल्लो आर्थिक वर्ष बजेट समयमै प्राप्त भए पनि काम भने असारमा चलेको थियो । यो आर्थिक वर्षको बजेट समयमै प्राप्त गरे पनि स्थानीय तहल काम कहिले सुरु गर्ने हुन् अझै टुंगो लागेको छैन ।


यो आर्थिक वर्षसम्म बेरोजारको तथ्यांकमा सूचीकृत भएकामध्ये आठराईमा दुई सय आठ, फेदापमा एक सय २९, मेन्छयायेममा एक सय ४३, म्याङलुङमा एक सय ६८ जना रहेका छन् ।


लालीगुराँस नगरपालिकाले भने सूचीकृत बेरोजारलाई रोजगारी उपलब्ध गराउने भएको छ । तर, सरकारले दिएको बजेटबाट निर्धारित उपलब्धि प्राप्त गर्न चुनौती देखिएको नगरपालिका प्रमुख  अर्जुन माबुहाङ बताउँछन् ।