close

कैलालीका १३ पालिकाको बजेट खर्चः गाउँपालिका सिरानमा नगरपालिका पुछारमा 

कैलालीका १३ पालिकाको बजेट खर्चः गाउँपालिका सिरानमा नगरपालिका पुछारमा 

Trulli
ADVERTISEMENT

धनगढी– कैलालीका १३ वटा स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबैजसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म न्यून बजेट खर्च भएको पाइएको छ ।

 

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार दोस्रो चौमासिकमा धनगढी उप–महानगरले ३६.१५ प्रतिशत, गौरीगंगाले ३९.६१ प्रतिशत घोडाघोडीले ३४.५८ प्रतिशत, टीकापुरले ३५.०७ प्रतिशत, भजनीले ३८.५४ प्रतिशत, लम्कीचुहाले ३९.४६ प्रतिशत खर्च गरेका छन् ।

 

चुरेले ३४.६० प्रतिशत, जानकीले ३१.४२ प्रतिशत, जोशीपुरले ३९.६७ प्रतिशत, बर्दगोरियाले ३१.२३ प्रतिशत र मोहन्यालले ३७.६६ प्रतिशत, कैलारी गाउँपालिकाले ४३.११ प्रतिशत र गोदावरी नगरपालिकाले ३०.३९ प्रतिशत खर्च गरेका छन् ।

 

सबैभन्दा बढी कैलारी, कम गोदावरी

 

हालसम्म कैलालीका १३ वटै पालिकामध्ये कैलारी गाउँपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार कैलारीले ४३.११ प्रतिशत बजेट खर्च गरेको हो ।

 

योजना समयमै सुरु भएकाले बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए । ‘हामीले पहिलो चौमासिकबाटै काम थालेका हौँ’, यो बजेट खर्च पर्याप्त भने होइन तर प्रभावकारी ढंगले काम भएको छ । तेस्रो चौमासिकमा बजेट खर्चको दर बढाउँछौँ ।’

 

कार्यालयको तथ्यांकअनुसार सबैभन्दा कम बजेट खर्च गोदावरी नगरपालिकाले गरेको छ । फागुन मसान्तसम्म गोदावरी नगरपालिकाले ३०.३९ प्रतिशत बजेट खर्च गरेको छ ।

 

‘काम भएको छ तर प्रगति नदेखिएको मात्रै हो, नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले भने, ‘पूर्वाधारतर्फ बढी बजेट छ । ठेक्कापट्टाको काम अझै सुरु भएको छैन । त्यसैले बजेट खर्च कम देखिएको हो । अहिले योजना कार्यान्वयनको चरणमा गएका छन् । अब उपलब्धि देखिने गरी बजेट खर्चले गति लिन्छ ।’

 

‘स्पिड’ बढाउनुपर्छ : प्रमुख भट्ट


कैलालीका १३ वटै स्थानीय तहले ३० देखि ४४ प्रतिशतसम्म खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ । ‘समग्रमा सबै स्थानीय तहको खर्च ३६.०६ प्रतिशत छ’, कार्यालय प्रमुख भट्टले भने, ‘२ चौमासिकको यहीँ प्रगतिलाई सन्तोषजनक भन्न सकिँदैन । पालिकाहरूले गति बढाउन आवश्यक छ ।’

 

पहिलो चौमासिक खरिद प्रक्रियामै बित्ने भए पनि दोस्रो चौमासिकमा ५० प्रतिशत बढी खर्च भइसक्नुपर्ने हो तर त्यसो हुन सकेन । अब पनि खर्चको गति बढाइएन भन्ने लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न नसकिने अवस्था छ ।