close

कोरोना कहरः विकास बजेट खर्च गर्नै सकेनन् उदयपुरका पालिकाले 

कोरोना कहरः विकास बजेट खर्च गर्नै सकेनन् उदयपुरका पालिकाले 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरका स्थानीय तहले जेठ मसान्तसम्ममा ८१.०९ प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) गरेका छन् । विकास निर्माणको पिक आवारमा कोभिड कहर भएकाले तुलनात्मक रुपमा खर्च हुन नसकेको हो । कोरोनाले गत वर्ष जस्तै चालु आर्थिक वर्ष पनि उत्साहजनक रुपमा बजेट खर्च हुन सकेको छैन । असार पहिलो साता बित्न लाग्दासम्म कोभिडका कारण काम रोकिन पुग्दा पुँजीगत (विकास निर्माण) रकम ८१.०९ प्रतिशत खर्च भएको पाइएको छ ।

 

आर्थिक वर्षको अन्त नजिएकै बेला कोभिड फैलिएपछि गत बैशाख तेश्रो सातादेखि उदयपुरमा लागू भएको निषेधाज्ञा अहिलेसम्म नखुल्दा बजेट खर्चमा अवरोध आएको सम्बन्धित कार्यालयको भनाइ छ । आर्थिक वर्षको अन्तिममा आएर योजना छनौट, उपभोक्ता समिति गठन, सम्झौता र हतारमा काम गर्ने परम्परा थियो  । आर्थिक वर्षको मध्यतिर पुग्दापनि बजेट खर्च नगर्दा समस्या भएको हो । भौतिक पूर्वाधार लगायत विकास निर्माणका काम गर्ने चैतदेखि असारसम्म (पिक सिजन) मा कोभिड फैलिएकोले काममा अवरोध आएपछि खर्च हुन नसकेको हो ।  


कोभिड संक्रमण बढ्न नदिन बैशाख पहिलो सातादेखि प्रशासनले कडाई गर्दै २५ गतेदेखि जिल्लाभर लागू गरेको निषेधाज्ञा आउँदो ७ असारसम्म कायम हुनेछ । अझै पनि गाउँगाउँमा संक्रमणको क्रम नरोकिएकाले परीक्षण जारी राखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । निषेधाज्ञाकै कारण चालु तर्फको दाँजोमा पुँजीगत तर्फको बजेट खर्चमा थप समस्या भएको छ ।


  
जारी निषेधाज्ञाले काम गर्न नपाएपछि पुँजीगत र चालु दुवै शीर्षकको रकम खर्च गर्न समस्या भइरहेको कार्यालयहरुको भनाई छ । स्थानीय तहहरुको पनि समस्या उस्तै छ । भौतिक पूर्वाधारको काम गर्ने मुख्य सिजनमै कोभिड विरुद्ध केन्द्रित हुनु परेपछि वार्षिक लक्ष्य र बजेट सिलिङ अनुसार काम गर्न नपाउँदा चालु वर्ष खर्च अनुमान भन्दा कमै खर्च हुने जनप्रतिनिधिहरु बताउँछन् । स्थानीय तहहरुले कतिपय रकम शीर्षकान्तर र रकमान्तर गरेर कोभिडमा लगाउनु परेको पनि बताएका छन ।

 


कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुर (कोलेनिका) ले भने सम्बन्धित कार्यालयले बिनियोजित बजेट मध्ये ८० प्रतिशत निकासा लगेको जनाएको छ । कोलेनिकाका सूचना अधिकारी गणेशप्रसाद आचार्यले जिल्लाका सबै विषयगत कार्यालयहरु र स्थानीय तहहरुले बिनियोजित रकमको ८० प्रतिशत भन्दा बढी निकासा लगेको छ । 

 

चालु वर्ष उदयपुरको कुल ४ अर्ब ५१ करोड ६९ लाख ७९ हजार २ सय ९७ रुपैयाँ बजेट मध्ये जेठ मसान्तसम्म ३ अर्ब ६६ करोड २८ लाख ३० हजार ६ सय १३ रुपैयाँ निकासा भइसकेको छ । जुन हिस्सा ८१.०९ प्रतिशत हो ।

 
चालुतर्फ २ अर्ब ३७ करोड ६३ लाख १५ हजार ४ सय २० मध्ये ७६.५५ प्रतिशत अर्थात १ अर्ब ८१ लाख ९० हजार १५ हजार ३ सय ६१ रुपैयाँ निकासा भइकेको छ । पुँजीगत तर्फ २ अर्ब १४ करोड ६ लाख ६३ हजार ८ सय ७७ रुपैयाँ मध्ये १ अर्ब ८४ करोड ३८ लाख १५ हजार २ सय ५२ रुपैयाँ अर्थात ८६.१३ प्रतिशत निकासा भइसकेको छ । कोलेनिकाले विषयगत कार्यालयको माग अनुसार निकासा दिने गरेको आचार्यले बताएका छन् । 

 

कोभिड उपचारका नाममा धेरै कार्यालयहरुले एकातिर बजेट रकमान्तर गरेर विकास निर्माण तर्फको रकम कटौती गर्ने गरेका छन् भने अर्का तर्पm संक्रमणको डरले समयमा काम गर्न नपाउँदा पुँजीगत रकम खर्च हुन सकेको छैन । गत वर्ष ११ चैतदेखि लकडाउन लाग्दा समस्या भएको थियो भने यो वर्ष बैशाख तेश्रो सातादेखि उस्तै प्रकृतिको निषेधाज्ञा लागू हुँदा पुँजीगत खर्च उत्साहजनक हुन नसकेको हो ।


कुन पालिकाको कति खर्च?

स्थानीय तह तर्फ जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ पालिकाका लागि बिनियोजित २ अर्ब ९८ करोड ५६ लाख ५९ हजार २ सय ८७ रुपैयाँ मध्ये २ अर्ब ३७ करोड २३ लाख ३१ हजार ९ सय ९० रुपैयाँ अर्थात ७९.४५ प्रतिशत निकासा भएको छ । 

 

जस अनुसार त्रियुगा नगरपालिकाको ७७ करोड ४३ लाख २ हजार ३ सय ५० मध्ये ७२ करोड ६९ लाख ६५ हजार ६ सय ४८ रुपैयाँ निकासा भइसकेको छ । जुन कुल रकमको ९३.८८ प्रतिशत हो । त्यस्तै कटारीको ५२ करोड ३६ लाख ६९ हजार ६ सय २० मध्ये ४८ करोड २९ लाख १६ हजार ६ सय ६ रुपैयाँ अर्थात ९२.२१ प्रतिशत निकासा भएको छ ।


चौदण्डीगढी नगरपालिकाको ५१ करोड २६ लाख ८३ हजार ४ सय ७७ बजेट मध्ये ४७ करोड ३९ लाख ५१ हजार १ सय ६४ रुपैया खर्च भएको छ । बेलका नगरपालिकाको ४३ करोड ३१ लाख ३२ हजार ८ सय ५० रुपैया खर्च भएको छ ।  त्यसैगरी उदयपुरगढी गाउँपालिकाको ४१ करोड १७ लाख १५ हजार २ सय ७० रुपैया खर्च भएको छ । 

 

रौतामाई गाउँपालिकाको ३६ करोड ९४ लाख १२ हजार ८ सय ९० रुपैया खर्च भएको छ । ताप्ली गाउँपालिकाको २५ करोड ४० लाख १४ हजार ३ सय ५० रुपैया मध्ये २० करोड ७५ लाख २७ हजार ५ सय ९६ रुपैया खर्च भएको छ । लिम्चुङबुङ गाउँपालिकाको २३ करोड ३ लाख ९८ हजार ५ सय मध्ये १८ करोड ५० लाख ३ सय १९ रुपैया खर्च भएको छ । 


त्यसैगरी समग्र जिल्लाको पुँजीगत बजेट २ अर्ब ३७ करोड ६३ लाख १५ हजार ४ सय २० रुपैया मध्ये जेठ मसान्त सम्म १ अर्ब ८१ करोड ९० लाख १८ हजार ३ सय ६१ रुपैया खर्च भएको छ । यो ७६.५५ प्रतिशत हो ।

 

पुँजीगत तर्फ भने २ अर्ब १४ करोड ६ लाख ६३ हजार ८ सय ७७ रुपैया खर्च भई ८६.१३ प्रतिशत खर्च भएको छ । त्यसैगरी जिल्लाको चालु र पुँजीगत गरी ४ अर्ब ५१ करोड ६९ लाख ७९ हजार २ सय ९७ रुपैया मध्ये ३ अर्ब ६६ करोड २८ लाख ३० हजार ६ सय १३ रुपैया खर्च हुँदा ८१.०९ प्रतिशत खर्च भएको तथ्यांक छ ।