close

बाजुराको त्रिवेणी नगरपालिकाको नवौँ नगरसभा: ८ सय नागरिकलाई रोजगार ग्यारेन्टी

बाजुराको त्रिवेणी नगरपालिकाको नवौँ नगरसभा: ८ सय नागरिकलाई रोजगार ग्यारेन्टी

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगर प्रमुख एक टोल, एक आर्थिक विकासका लागि पूर्वाधार निर्माण, नगरबासीलाई कोभिड संक्रमण नियन्त्रण तथा रोकथाम गर्न कोभिड अस्पतालको थप स्तरोन्नति र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेलगायत विषय समेटिएका छन् ।


नवौँ नगरसभाले सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै ३/३ महिनामा मुटु रोग, किड्नी रोग, महिलामा आङ खस्ने, आँखा रोगको न्यूनीकरण, निदान उपचारका लागि छतारा स्वास्थ्य चौकी, तोली स्वास्थ्य चौकी, कैलाशमाडौं स्वास्थ्य चौकी, नगरपालिकाको केन्द्र टुडेगडामामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
 
कोरोना महामारीबाट बच्न नगरबासीलाई निःशुल्क खोप उपलब्ध गराइनेछ भने स्वास्थ्य संस्थामा निःशुल्क औषधी, फार्मेसी सेवा विस्तारका साथै अभिभावकविहीन बालबालिका, विपन्न, अपांगता भएका, एकल महिलालाई निःशुल्क औषधी उपलब्ध गराउने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।


त्यसैगरी विद्यालयमा प्राथमिक उपचारको व्यवस्थापनका साथै विद्यालय हाताभित्र जंक फुड निरुत्साहित गरिने, एक घर, एक करेसाबारी बाह्रै महिना हरियो तरकारी अभियान सञ्चालन गरिने भएको छ ।  युवालाई खेलकुदमा प्राथमिकता दिन क्रिकेट, फुटबल र अन्य खेलकुदका लागि २५ रोपनीमा रंगशाला निर्माण गरिनेलगायत नीति तथा कार्यक्रम समेटिएको छ ।


विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै बालकक्षादेखि उच्च शिक्षा हासिल गर्ने जेहेनेदार छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । त्रिवेणी नगरपालिकामा कैलाश बहुमुखी क्याम्पस स्थापनाका साथै त्रिभुवन विश्वविद्यालयको सम्बन्धका लागि पहल गर्ने, स्वास्थ जीवनका लागि सुरक्षित किसान त्रिवेणीका स्थानीय रैथाने उत्पादनलाई बजारीकरण गर्न हाट बजार व्यवस्थापन गरिने नीति तथा कार्यक्रम रहेको छ । 

 

एक विद्यालय, एक नमुना कृषि बगैँचा निर्माण कार्यक्रम लागू गरिने, धार्मिक पर्यटकीय गन्तव्यका लागि नाट्यश्वरी पदमार्ग विस्तार, दिगो आर्थिक विकासका लागि पर्यटकीय पूर्वाधार र बडिमालिका पर्यटन महोत्सव सञ्चालन गरिने भएको छ । मालागाड, बल्देमा मोटरेबल पुलको सोल टेस्टसँगै पुल निर्माणका लागि पहल गरिने, ३ वर्षमा नगरपालिकाका मुख्य सडक कालोपत्र गर्ने र नगरका बस्ती जोड्न रिङरोडको अवधारणाअनुसार सडक निर्माण गरिने भएको छ ।


तोलीको टुडेगडा, सालडाँडा, कैलाशमाडौं, नाटेश्वरीमा केबलकार निर्माणका लागि पहल गरिने, स्वच्छ खानेपानी अभियानअन्तर्गत एक घर, एक धारा र नगरपालिकाका गतिविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन मोबाइल एप निर्माण गरिने भएको छ ।
प्रदेश, संघीय सरकारको साझेदारीमा मेयर रोजगार कार्यक्रममार्फत करिब ८ सय युवालाई रोजगारी दिइनेछ । त्रिवेणीमा २५ शय्याको सुविधासम्पन्न अस्पताल स्थापना गरिनेलगायत नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।