close

बैंक खाता खोलिदिएर असंगठित क्षेत्रका मजदुरलाई समृद्ध बनाउँदै त्रियुगा

नगर प्रमुख चौधरीले खोलिदिए ५५ मजदुरको बैंक खाता

बैंक खाता खोलिदिएर असंगठित क्षेत्रका मजदुरलाई समृद्ध बनाउँदै त्रियुगा

नगर प्रमुख चौधरीले खोलिदिए ५५ मजदुरको बैंक खाता

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बैंकमा खाता नभएका ५५ मजदुरको बैंक खाता खोलिदिएका छन् । मजदुरको बैंक खाता खोलिएपछि जनही २०० रुपैयाँ बचत गरिएको छ ।

 

बैंक खाता सञ्चालनले संकटका बेला दुःख पाउँदा, बिरामी हुँदा साहू र अन्यको हात पसार्न जानुपर्ने बाध्यता हट्नेछ । ब्याजमा ऋण लिएर बन्धकजस्तै हुनुपर्ने र बेलाबेला ब्याजैमा काम गरिदिनुपर्ने अवस्थाबाट यसले थोरै भए पनि मुक्ति मिल्ने नगरप्रमुख चौधरीले बताए । 

 

त्रियुगा नगर क्षेत्रमा संगठित र असंगठित गरी करिब ५ सय श्रमिकको कुनै बैंक खाता छैन । त्रियुगामा डेढ दर्जन बढी वाणिज्य बैंक छन् । श्रमिकलाई बचत गर्ने बानी बसाल्न र अप्ठेरोमा सहयोग पुर्याएर जीवनस्तर उकास्न यो कार्यक्रमले सहयोग गर्नेछ ।

 

नगरपालिकाले श्रमिकका लागि नेपाल बैंकको ५० प्रतिशत सहभागितामा खाता खोलिदिएको हो ।

 

कोरोना कहरले आर्थिक कठिनाइका बेला मजदुरको बचत गर्ने बानी नभएकाले उनीहरूको पीडामा मल्हम लगाउन नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बैंक खाता खोल्ने घोषणा गरेको थियो ।

 

उदयपुरमा १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा श्रमिकका लागि त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गरेको थियो । नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नगरभित्रका सम्पूर्ण मजदुरलाई निःशुल्क बैंक खाता खोलिदिने घोषणा गरेको थियो ।

 

‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ नारासहित श्रमिक दिवस अवसरमा विशेष राहत प्याकेज घोषणा गरेकामा नेपाल बैंक गाईघाट शाखामार्फत ५५ जना मजदुरको खाता खोलिदिएर सुरु गरेको नगरप्रमुख चौधरीले बताए । 

 

मजदुरको बैंक खाता खोलिएपछि नगरपालिकाले जनही २०० रुपैयाँ बचत गरिदिएको छ । त्रियुगा नगरभित्र कार्यरत डकर्मी, सिकर्मी, चालक, कृषि मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत सबै क्षेत्रका ज्यालादारी तथा करारमा रहेका असंगठित गरी ५ सय मजदुर चालू वर्षमा खाता खोल्ने योजना रहेको नगरप्रमुख चौधरीले जानकारी दिए ।

 

नगरका १६ वटै वडा प्रत्येक मजदुरको नाममा त्रियुगा नगरपालिकाले २०० रुपैयाँ बराबरको रकम जम्मा गरिदिने कार्यक्रम छ । बचत गर्ने बानीको विकास गर्न खाता खोलिदिएको नगरप्रमुख चौधरीले सुनाए ।

 

‘मिहिनेत गरी दुःखले कमाएको कमाएको केही रकम बचत गर्ने बानी बसे सारोगाह्रो पर्दा उनीहरूलाई नै काम लाग्ने र व्यावसायिक पनि उनीहरू नै बन्नेछन्’, चौधरीले भने ।

 

सरकारले घोषणा गरेको एक नेपाली एक बैंक खाता कार्यक्रमअन्तर्गत मजदुरलाई २ सय रुपैयाँको बिउ पुँजी भएको निःशुल्क बैंक खाता खोलिएको हो । नगरपालिकाले बैंकमा खाता खोलिएपछि मजदुर जसोकुमारी चौधरी दंग छन् । उनी भन्छन्, ‘एकदमै खुसी छु । पहिलोचोटि बैंकमा खाता खोलेको हुँ ।’