close

स्थानीय तहमा आर्थिक उच्छृंखलता : विद्यालय बन्द हुँदासमेत दिवा खाजाको रकम निकासा 

स्थानीय तहमा आर्थिक उच्छृंखलता : विद्यालय बन्द हुँदासमेत दिवा खाजाको रकम निकासा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका बेला बन्द भएको अवस्थामा समेत स्थानीय तहबाट विद्यालयलाई रकम निकासा भएको देखिएको छ ।


महालेखा परीक्षकको कार्यालयले निषेधाज्ञाका बेला विद्यालय बन्द भएको अवस्थामा समेत स्थानीय तहहरूले विद्यार्थीको दिवा खाजाबापतको रकम निकासा गरेको देखिएकाले यो अवधिको रकम असुलउपर गर्नुपर्ने औँल्याएको छ । 


महालेखाले यस्तो समस्या सबैभन्दा बढी प्रदेश २ का स्थानीय तहमा भएकाले विद्यालय बन्द भएको अवस्थामा निकासा गरिएको दिवा खाजाबापतको रकम असुलउपर गर्न निर्देशन दिएको हो ।


मलेपको प्रतिवेदनअनुसार विद्यालय बन्द भएको अवस्थामा सबैला नगरपालिका धनुषाले १ करोड १३ लाख, सिराहा नगरपालिका सिराहाले १ करोड ३८ लाख, फतुवा नगरपालिका रौतहटले ९७ लाख, गरुडा नगरपालिका रौतहटले ७७ लाख र गणेशनाथ चारनाथ नगरपालिका धनुषाले ८८ लाख रुपैयाँ दिवा खाजाबापतको रकम निकासा गरेको पाइएको छ । 


यीसहितका गरी २८ स्थानीय तहबाट वैशाख, जेठ र असार २०७७ मा दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजाबापत ५ सय ८२ विद्यालयलाई १४ करोड २१ लाख ६८ हजार रकम निकासा भएको महालेखाको ठहर छ ।
यस्तै, दुर्गाभगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका रौतटहले ७४ लाख ९९ हजार, छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार, जनकनन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार निकासा गरेका छन् ।


यसैगरी कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजारसमेत गरी १३ गाउँपालिकाले १ सय ६२ विद्यालयलाई ६ करोड ३ लाख ५६ हजार रुपैयाँ निकासा गरेका छन् । विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुलउपर गर्न महालेखाले सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । 

 

दिवा खाजा रकम बिद्यालयलाइ निकासा दिँदा नगदै वितरण गर्ने व्यवस्था नभएको अवस्थामा परोहा नगरपालिकाले रौतहटले यो वर्ष अभिभावकलाई नगदै बुझाउने गरी १ करोड १७ हजार रुपैयाँ निकासा गरेकाले यो रकम अनियमित देखिएको महालेखाले औँल्याएको छ ।