close

बटौलीमा बजार अनुगमन : कतै चेतावनी, कतै जरिमाना

बटौलीमा बजार अनुगमन : कतै चेतावनी, कतै जरिमाना

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ । 

 

खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाई, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भए/नभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गरी जरिमाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्न चेतावनी दिइएको छ । 

 

खाद्यान्न तथा किराना पसलमा अनुगमन


बुटवल उपमहानगर वडा नम्बर ४ हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाद स्टोर्स, गोपीकृष्ण किराना पसल, कालिकापथमा रहेको न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठूल्दाइ ट्रेड सप्लायर्स/ठूल्दाइ खाद्यान्न भण्डारमा टोलीले अनुगमन गरेको छ ।


यस्तै, बुटवल वडा नम्बर ९ को हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एसिया एटुजेड सामग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरका अधिकृत ठगिश्वर पोखरेलले बताए ।


हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारीजन्य सामग्री गुणस्तरीय नभएकाले नष्ट गरिएको छ । उक्त पसललाई वडा कार्यालयमा व्यवसाय दर्ता गराई ३ दिनभित्र नापतौल कार्यालयमा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ । 

 

यस्तै, अर्घाखाँची कोल्ड ड्रिंक तथा मदिरा स्टोर्स, चौतारी बिजनेस ग्रुप, डिपिसी स्टोर्समा अनुगमन गरिएको छ । डिपिसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम जरिमाना गरिएको छ ।


चौतारी बिजनेस ग्रुपमा म्याद नाघेको खान अयोग्य क्रेकर ४६ पोका नष्ट गरिएको छ । अर्घाखाँची कोल्ड ड्रिंक तथा मदिरा स्टोर्समा म्याद नाघेको बियर ६ बोतल, क्यान बियर ५ थान, रियल गोल्ड ३ थान जफत गरी नष्ट गरिएको छ ।

 

अनुगमन गरिएका कतिपय पसलमा लेभल नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रमिला गुरुङले बताइन् । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र थमाइएको गुरुङको भनाइ छ । 

 

यस्तै, वडा नम्बर ९ कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हितविपरीतको कसुर गरेकाले ५ हजार रुपैयाँ जरिमाना गराइएको छ । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेकामा जरिमाना गरिएको अनुगमन टोलीमा रहेका वाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए ।

 

सामान बिक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफत गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिमानासमेत तिराइएको छ । 

 

बुटवलको सुक्खानगरमा रहेको पैँचो पसल प्रालिमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिइएको अनुगन समितिले जनाएको छ । 

 

यसैगरी वडा नम्बर ८ मा रहेको सुरभि मिष्ठान भण्डार सुरभि लज एन्ड रेस्टुराँमा पनि अनुगमन गरिएको छ । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएकाले ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

 

भाटभटेनी सुपर मार्केटमा अनुगमन

 

बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरिएको छ । बुटवल उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र सञ्चारकर्मीको रोहबरमा त्यहाँ अनुगमन गरिएको हो ।

 

भाटभटेनीमा प्रमाणपत्र सबै अद्यावधिक रहेको र तरकारीबाहेक अन्य सामान केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए । 

 

उपभोक्ता आफैं सचेत हुनुपर्छ : उपप्रमुख आचार्य


बुटवल उपमहानगर अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसँगै उपभोक्तामा जागरण ल्याउने अभियान आवश्य रहेको उल्लेख गरिन् ।

 

उपमहानगरले उपभोक्ता जागरणका कार्यक्रम पनि चलाइरहेको उनले बताइन् । राज्यका निकायको काम प्रभावकारी बनाउने र बजारमा हुने अराजकता नियन्त्रण गर्न उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने भएकाले सोहीअनुरूपको कार्यक्रम बनाइएको उनले दाबी गरिन् । 

 

‘उपभोक्ता आफैं सचेत, सजग र जागरुक भए कालोबजारी र मिसावट रोक्न सहज हुन्छ । सामान खरिद गर्दा चनाखो बन्ने हो भने ठगीको जोखिम कम हुन्छ,’ आर्चायले भनिन् । संयोजक आचार्यले उपभोक्ता सचेत नभएसम्म कानुनी कारबाही र बजार अनुगमन प्रभावकारी नहुने विचार व्यक्त गरिन् ।