close

३० करोड कारोबार गर्दै सकियो व्यापार मेला

३० करोड कारोबार गर्दै सकियो व्यापार मेला

Trulli
ADVERTISEMENT

रूपन्देही–‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड रुपैयाँ कारोबार गर्दै समापन भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा ८ देखि २० पुससम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्यभन्दा बढी ८ लाख दर्शकले अवलोकन गरेको आयोजकले बताए ।


मेला समापन अवसरमा राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेकाले सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताए । अध्यक्ष पाठकले बैकिङ तरलताको समस्या दीर्घकालीन समाधान गर्न र व्यापार घाटा न्यूनीकरणमा विशेष योजना एवं नीति बनाउन सरकारसँग माग गरे ।


संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले पराधीन अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन राष्ट्रिय पुँजीमार्फत औद्योगिकीकरण एवं व्यापार विविधीकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने आवश्यकता औँल्याए । आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरेले चुनौतीपूर्ण अवस्थामा मेला सफलतापूर्वक सम्पन्न भएको र ५ लाख आगन्तुकको लक्ष्य राखिएकामा ८ लाख बढीले अवलोकन गरेको बताए । उनले मेलामा ३० करोड रुपैयाँ बढीको कारोबार भएको जानकारी दिए ।

 

मेलाले स्वदेशी उत्पादनको पहिचान र बजार प्रवद्र्धनसँगै लोक संस्कृति प्रवद्र्धनमा टेवा पु¥याएको गैरेको भनाइ छ । उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उपमहानगर वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष उज्ज्वल कसजू, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले व्यापार मेलाबाट बचेको रकमको केही अंश बुटवलको विकास र सामाजिक काममा लगानी गर्न सुझाए ।


कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जिसीले सबैको सहयोग, सुझावबाट मेला सोचेभन्दा सफल भएको दाबी गरे । मेलामा स्वदेशी र विदेशी उत्पादनका ४ सय ७० स्टलले सहभागिता जनाएका थिए । मेला समापन अवसरमा मेला उपसमिति संयोजक, उत्कृष्ट स्टल, सहयोगी संघ–संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।