close

नेताज्यू ! यहाँको आचरण नसुध्रिए अनि देशैभर उदाउने छन्, बालेनहरु

नेताज्यू ! यहाँको आचरण नसुध्रिए अनि देशैभर उदाउने छन्, बालेनहरु

Trulli
ADVERTISEMENT

काठमाडौँ । हुन त बहुदलीय व्यवस्थाको चुनावी अखडामा दलहरू बिचको स्वस्थ प्रतिस्पर्धा जस्तो सुन्दर पक्ष अरू केही हुन सक्दैन । तर, अहिले देश हाँक्ने दल र नेताहरूको बोलाइ र गराइमा देखिन थालेको विचलनका कारण जनताहरू राजनीतिज्ञको विकल्प स्वतन्त्र नागरिकमा देख्न थालेका छन् । जसले बहुदलीयवादमा विश्वास राख्नेहरूलाई नराम्रो झट्का दिँदै छ ।

 

अहिले बालेन शाह काठमाडौँ मात्र नभएर देशभरि चासोको विषय बनेका छन् । कतिपय राजनीतिक पण्डितहरू त कतै बालेनले काठमाडौँको मेयर जित्ने त होइन भन्ने लख समेत काट्न थालेका छन् । यहाँ चासोको कुरो बालेनले जित्छन् कि हार्छन् भन्ने होइन । चासोको कुरो त बालेनसँग उदाउँदै गरेको स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण हो । अनि चासो हो, नैतिकताको खडेरीमा रुमलिएका नेतामाथि जनताले गुमाउँदै गएको विश्वासको पनि ।

 

हामीले ठुलो कष्टसाथ स्थापित गरेको बहुदलीय व्यवस्थामा बेला बेलामा प्रहार नभएको होइन । त्यस्तो बेला जनताले त्यसको प्रतिकार गर्न कहिल्यै अस्वीकार गरेनन् । अनि त्यस्तो अवस्थामा राजनीतिक दलहरूको अग्रसरता र वाचा पनि विश्वास गर्न लायक नै रह्यो । आफू सुध्रिने र नेपालको राजनीतिक संस्कारलाई पनि सुधार्ने उनीहरूको वाचामा सधैँ जनताले पत्याइदिए जस्तो पनि गरेका छन् । तर, अब केही मतदातालाई लाग्न थालेको छ, यो व्यवस्थालाई बचाउने हो भने राजनीतिकको छाता नओढेका व्यक्तिलाई अगाडि बढाएर पशुपतिमा छोडेको साँढे झैँ बनेका नेपालको राजनीतिक दल र नेताहरूलाई सही मार्गमा ल्याउनै पर्छ । कतै अहिले नै जनताले राजनीतिक दललाई ब्यालेटबाट झट्का दिने त होइनन् ? भन्ने  अवस्था सिर्जना हुन थालेको छ । 

 

बहुदलीय व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष दलहरू बिच स्वस्थ प्रतिस्पर्धा नै हो । चुनावका बेला यो सुन्दर पक्ष चम्किलो बनेर सबैतिर प्रस्फुटित बन्छ पनि । चुनावी माहौलमा नेता र राजनीतिक दलले गर्ने वाचा जनताका लागि सुनौलो सपना बन्छन् । तर, चुनावपछि त्यो वाचा सम्झिने फुर्सद शायद कमै नेतालाई हुन्छ ।

 

राजनीतिक दल र नेतामा आएको नैतिकताको खडेरीले युवा जमातलाई हाम्रो राजनीतिक अभ्यासबाटै टाढा लैजाँदै छ । अहिले यो देशमा गरिँदै आइएको राजनीतिक अभ्यासको गलत अर्थ समेत लगाइन थालिइएको छ । अहिले बालेनको जितका लागि आतुर अधिकांश जमात त्यही युवाहरू भित्र नै छन् । जसको मनोभावलाई सम्बोधन गर्न अहिले पनि राजनीतिक दलहरू चुकिरहेका छन् ।

 

हुन त राजनीतिक दल र नेताहरूको कमजोरीलाई व्यवस्थाप्रति नै अनास्था फैलाउने माध्यमका रूपमा स्विकार्न मिल्दैन र सकिँदैन पनि । तर, कुनै राजनीतिक पार्टीको झन्डा नबोकेको युवा, मै हुँ भन्ने नेताहरूको अखडामा बलियो प्रतिस्पर्धी बनेर निस्कन्छ भने त्यसलाई परिवर्तनको शंखनाद्का रूपमा स्विकार्नै पर्छ । परिवर्तनको अर्थ, बहुदलीय व्यवस्थालाई अन्यत्र मोड्नु पर्छ भन्ने होइन । परिवर्तनको अर्थ, अब देश हाँक्ने नेताहरूको आचरण, बोलाइ र गराइमा समानताको सुरुवात हुन पर्छ भन्ने मात्र हो ।

 

जनताले अहिले मेट्रो ट्रेन र फ्लाइओभरको सपना देखेका छैनन् । सपना देखेका छन् त बसु, हिँड्न लायक सडक, फोहर मैलाको सही व्यवस्थापन र धारामा पानीको । काठमाडौँका मतदाताले अहिले बालेनसँग पनि योभन्दा ठुलो केही अपेक्षा गरेका छैनन् ।   

 

हुन त आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय र उम्मेदवार छनोटमा असन्तुष्टि देखाएर बागीका रूपमा चुनावी मैदान ओर्लिएका र चर्चा कमाएकाहरू पनि छन् । तर, त्यो पंक्ति जनताको परिवर्तनका लागि नभएर आफ्नो अहम्मा खेलवाड भएका कारण चुनावी मैदानमा छन् भन्नु अनर्थ नलाग्ला । उनीहरूको केही चाहना पार्टीभित्र जमेर बसेको कुँडा मैलालाई पखाल्नु हुन सक्ला तर, उनीहरूको स्वतन्त्र उम्मेदवारी जनताको आवश्यकतालाई पुरा गर्न हो भन्न सकिँदैन । कतै न कतै व्यक्तिगत स्वार्थ र कुण्ठा लुकेको त्यस्तो अधिकांश उम्मेदवारीलाई भने सकारात्मक रूपमा लिन सकिँदैन । किनकि त्यस्ता उम्मेदवारको जितले स्वार्थमा डुबेका नेतालाई नभएर यो व्यवस्थालाई घात गर्नेछ ।

 

पार्टीको केही निर्णयलाई अस्वीकार गरेर चुनावी अखडामा उत्रिएका उम्मेदवारहरू अहिले मतदाता, त्यसमा पनि मुख्यतः युवा पंक्तिले रोजे र खोजे जस्तो छैनन् । होला, कुनै पार्टीको सदस्यता नलिई स्वतन्त्ररुपमा चुनावी मैदानमा होमिएकाहरूको पनि परीक्षण हुन त बाँकी नै छ । तर, बालेन शाह र गोपाल हमाल जस्ता उम्मेदवारका पछाडि देखिएको भीडले राजनीतिक दलहरूलाई बदलिन आग्रह भने गरेको छ । चरित्र सुधार्न घचघच्याइ रहेको छ । यस्ता सत्यलाई स्विकार्न अब ढिला गर्नु हुँदैन । नत्र अहिले स्वतन्त्र उम्मेदवारको पछाडि उभिने शक्तिले भोलि व्यवस्थाको विरुद्ध मुख खोल्न थाले भने त्योभन्दा दुखद् समय केही हुँदैन । किनकि अब हामीसँग योभन्दा सुन्दर व्यवस्थाको अर्को विकल्प पनि छैन नै ।

 

अब यो देशमा कोही राजा र कोही रैती पनि छैनन् । देश चलाउँछु भन्ने दल समेत जनताप्रति उत्तरदायी बन्नु पर्छ भन्ने आवाज कहिले काहीँ मौका हेरेर बाहिर आउने गरेको छ । अहिले त्यही आवाजको प्रतिनिधि पात्र बनेका छन्, बालेन शाह । 

 

एउटा स्वतन्त्र उम्मेदवारको जितले जनताको दुख कष्टमा ठुलो प्रभाव पार्ला भन्ने आशा गर्नु जायज नहोला । तर, राजनीतिक दल र नेताहरूको बोलाइ र गराइमा समानता नआएसम्म जनताले परिवर्तन महसुस गर्न सक्दैनन् । हुन सक्ला, बालेनको लोकप्रियताले नेताहरूलाई आफ्नो बारेमा सोच्ने केही फुर्सद मिल्ला कि ?

 

जनताले अहिले मेट्रो ट्रेन र फ्लाइओभरको सपना देखेका छैनन् । सपना देखेका छन् त बसु, हिँड्न लायक सडक, फोहर मैलाको सही व्यवस्थापन र धारामा पानीको । काठमाडौँका मतदाताले अहिले बालेनसँग पनि योभन्दा ठुलो केही अपेक्षा गरेका छैनन् ।   

 

अर्कोतिर, २० लाख नयाँ मतदाता थपिएको अवस्थामा हिजो पाएको मतलाई मात्र जोडेर जित–हारको हिसाब किताब गर्ने नेताहरूले अब बालेन र गोपालले कमाएको झैँ इज्जत कसरी कमाउने भन्ने पनि हेक्का राख्नै पर्छ । जनताले देश हाँक्ने जनादेश दिएका दल र नेताले अझै पनि म नै मालिक हुँ भन्ने जमिन्दारी सोच कायम राख्ने हो ढिलो चाँडो मुलुक दुर्घटनामा जानुको विकल्प पनि छैन । अनि त्यो दिन देशैभरि उदाउने छन्, बालेनहरु ।