कोरोनाले आफ्नाे-बिरानो चिनाइदियो 


  • change font
  • change font
  • change font

१६ असोज राती जिउमा तापक्रम बढेको अनुभूति भयो । त्यतिबेला ज्वरो १ सय डिग्री मात्र थियो । अर्काे दिन गोपाल पाण्डे दाइको मेडिकलमा गएर नाप्दा ज्वरो थिएन । सामान्य रुघाखोकी थियो । दाइले खोकीको सिरपसहित एन्टिबायोटिक दिनुभयो । ३ दिनजति औषधी खाएपछि निको भएजस्तो लाग्यो । त्यसपछि निरन्तर कर्ममा सरिक भएँ । 


भौतिक दूरी कायम गर्दै पालिकाहरूमा छोटो भेटघाट गरियो । दिनभर फिल्डका काम, साँझ पत्रिका सेटिङका लागि समाचार बनाउने क्रम निरन्तर रह्यो । २४ असोज बिहानै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा आयोजकको भूमिकामा रहें । लगत्तै प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी आउने राष्ट्रिय युवा संघको कार्यक्रममा छोटो अवधि सरिक भएँ । त्यसपछि त्यहाँबाट बाहिरिएँ ।

 

असोज मसान्तको १-२ दिन अघिबाट पुनः सामान्य रुघाखोकी लाग्यो । कार्यव्यस्तताले थकान भएको होला भन्ठानें । ख्यालै गरिनँ । पालिका खबरको नयाँ जिम्मेवारी पाएपछि मनमा उमंग छँदै थियो । त्यसलाई निरन्तरता दिन जिम्मा पाएको १० दिनमै सबै पालिकाको समाचार समावेश गरिसकेको थिएँ ।


सँगै आफूले सञ्चालन गरेको पत्रिका र अनलाइनका लागि फिल्डमा काम बढेको बढ्यै । १ दिन एक पालिका पुग्ने र त्यहाँका समाचार लेखनसँगै सम्बन्धका नयाँ आयाम थप्दै जाने निधोसहित दौडादौड चलिरह्यो । 


कार्यव्यस्तता यतिमा मात्र सीमित थिएन । निजी जीवनका केही काम हुने नै भए । घर बनाउन निर्माण सामग्रीको जोहो, दसैं नजिकिँदा बाख्रा फर्मको थप व्यवस्थापन र नयाँ खोर निर्माणको योजना पनि बन्यो । कार्यव्यस्तता बढेसँगै सामान्य रुघाखोकीलाई धपेडीले होला भन्ने सोचें । त्यसै पनि बर्सेनि यो मौसममा रुघाखोकीले मलाई छाडेन । यस वर्ष पनि यस्तै भयो भन्ने लाग्यो ।


तातोपानी पिउनुपर्छ भन्ने श्रीमतीको आज्ञा शिरोधार्य गरें तर रुघाखोकी बिसेक भएन । बिहे गर्दाको वर्ष २०६६ भरि नै मलाई खोकी लागेको थियो । त्यसैले यसलाई पनि सामान्य रुपमा लिएँ ।


३० असोजको घटना हो हो । सरावल गाउँपालिका आउँदै छु भनेर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेललाई फोन गरें । तर, रामग्राम पुगेर नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग र प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीसँग पनि सानो भलाकुसारी भयो । 


रुघाखोकीका कारण जिउमा थकान महसुस भएको थियो । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी कुनै कार्यक्रममा व्यस्त भएकाले भेट नहुने लख काटें । उहाँको फोन पनि उठेन । सरावल नगई म अफिसै फर्किएँ । त्यो दिन शुक्रबार थियो ।


अर्काे दिन शनिबार बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रहनुभएका गोपाल पाण्डेय दाइलाई भेटें । आफ्नो समस्या सुनाए । उहाँले ‘भाइरलको सिजन छ । केही दिनअघि लगेको औषधी खानु भएन कि ? अब रगत परीक्षण गरेर मात्र औषधी चलाऔं’ भन्नुभयो । 


त्यसपछि गरिएको रक्त परीक्षणबाट टाइफाइड देखियो । उहाँसँग केही एन्डिटबायोटिक औषधी पनि लिएँ । सामान्य ज्वरो आए पनि १ सयभन्दा तलै थियो ।


२ कात्तिक हुनुपर्छ । औषधी खाँदै बीचमा १ दिन शारीरिक श्रम पनि गरियो । काम गर्न छाडेको धेरै भएकाले जिउ दुखेको आमाले सुनाउनुभयो । मलाई पनि हो त नि भन्ने भयो । औषधीले ज्वरो निको भए पनि ज्यान करकर दुखिरह्यो । हातखुट्टा बाउँडिन थाले । शरीरका अंगले सिल्का हान्न छाडेन ।


शरीर थिलोथिलो भएपछि अब त कोरोना परीक्षण गर्नुपर्छ भन्ने निर्णयमा पुगें । यही बेला सरकारले पिसीआर परीक्षणसमेत रोक्यो । कहाँ जाने, के गर्ने भन्नेमा अनिर्णयको बन्दी बनें । कर्मचारीहरूसँग ३० असोजदेखि नै भौतिक दूरी राखेको थिएँ । छोरी दीपिका साता दिनअघि नै आमासँगै बसेकी थिइन् । छोरा दिपेश झगडा गरेर १५ दिनअघिबाटै मसँग सुतेको थिएन । 


४ कात्तिकमा पिसीआर परीक्षण गरें । म रुघाग्रसित भएकैले होला, स्वास्थ्यकर्मीले पनि ‘तपार्इंको नतिजा पोजेटिभ आउँछ भनेका थिए ।


४ र ५ कात्तिकमा डिस्टेन्स मेन्टेन गरेर आइसोलेसनबाटै कार्यालयको काम फत्ते गरें । ६ कात्तिकमा कोरोना पोजिटिभ आयो । अनलाइनका काम घरैबाट गर्न सबै कर्मचारीलाई निर्देशन दिएँ । बेलुकी आउने प्राविधिक कर्मचारीलाई आज नआउनू, अब दसैंपछि मात्र भनें । सबैलाई सुरक्षित हुन सचेत गराएँ ।


श्रीमतीले गन्ध थाहा पाइनन्

 

आफू संक्रमित भएपछि सन्त्रास त छँदै थियो । कतै छोराछोरीलाई पनि पोजेटिभ छैन भन्ने त्रासले मन बाउँडियो । मित्र प्रमोद अर्यालले कोरोना संक्रमण हुँदा नाकले गन्ध र जिब्रोले स्वाद पाइँदैन भनेको झल्यास्स सम्झेँ । मलाई त्यस्तै भएको थियो । श्रीमतीसँग स्वादै छैन, गन्ध पनि छैन भनेँ । यतिबेलासम्म म एक्लै आइसोलेसनमा थिएँ । उनले खाना बनाउँथिन् । शौचालय र ढोकाका चुकुल मैले प्रयोग गरेपछि स्यानिटाइज गरिहाल्थेँ । 


७ कात्तिकमा श्रीमती लक्ष्मी घिमिरेले प्वाक्क बोलिन्, ‘खोइ मेरो नाकले पनि केही थाहा पाएजस्तो लाग्दैन ।’ त्यसपछि मैले अब घरका सबैलाई संक्रमण भएको अनुमान लगाएँ । नगरप्रमुख धीरज शर्मा बस्यालसँग फोनमा गफिएँ । ८ कात्तिकमा नेसनल प्याथ ल्याबका लक्ष्मण घिमिरेलाई फोन गरें । ‘बहिनीहरू पिसीआर गर्न आउँदै छन्, सहजीकरण गनुहोला’ भनेर सहयोग मागेँ । सोही दिन बेलुकी लक्ष्मीको पोजिटिभ र मुनाको नेगेटिभ नतिजा आएको लक्ष्मण दाइले बताउनुभयो । मुनालाई ज्वरो पनि आइरहेको थियो । 


त्यसपछि हामी अफिस भएकै ठाउँ आइसोलेसनमा बस्यौं । मुनालाई कन्ट्रयाक ट्रेसिङ गरेपछि अब आमा, भाइ र बुहारी बस्ने घर, जहाँ हाम्रा छोराछारी पनि छन् । त्यहाँ संक्रमण छैन भन्नेमा हामी पुग्यौं । मन अलि हलुंगो भयो ।

 

कर्मलाई निरन्तरता
 
घरमा आमालाई ढाड दुखाइको समस्याले पिरोलिरहेको थियो । ‘मेरुदण्डको हाड खिइएको छ । औषधी खाइरहनुपर्छ । फिजिओ गर्नुपर्छ, काम छाड्नुस् आमा । बाख्रा हेर्ने यो उमेर होइन’ भनेर डा. राजेन्द्र सन्जेलले भनेको आजै पनि ताजै लाग्छ । तर आमाले काम नगर्नू भनेको मान्नु भएन । चिसो मौसममा दमले बढी च्याप्छ । आमा उठ्नै नसक्ने अवस्थामा पुग्नुभयो । भाइलाई हामी आइसोलेसनमा हुँदा कष्ट भयो भन्ने चिन्ताले पिरोल्यो ।  


आमाको ढाडको एक्सरेको अवस्था यकिन गरेर औषधी गर्न भाइलाई अह्राएँ । उसले पनि सकेसम्म अस्पताल र मेडिकल दौडाएकै हो । तर, आमालाई निको नहुने कोरोनाका कारण टाढा अस्पताल लगे पनि डाक्टरले नहेर्ने । बर्दघाटका सरकारी, निजी र सामुदायिक सबै अस्पताल÷मेडिकल पठाइयो । तर, कोही कसैले एक्सरे गर्न मानेनन् । कोरोना बहाना छँदै थियो । बरु, स्वास्थ्यकर्मीले नदुख्ने औषधी भिडाए । त्यसबाट हामी आइसोलेसनमा बसेकालाई थप पीडा दियो । 

 

हिजोसम्म १ कल फोनका भरमा हस् भन्नेहरूले कोरोना कहरका बेला गरेको बहानाबाजी आँखै अगाडि देख्न पाइयो । आमाको एक्सरेका लागि रसिद काटेर पनि पैसा फिर्ता गरेनन् । एक्सरे त परेको कुरा । कर्म बिर्सनेहरूले पेसाप्रति इमानदार नभएको अनुभूति गरेँ । तर, रमेश भाइ हामी आइसोलेसनमा हुँदा दायित्व पूरा गर्न लागिरह्यो ।


अन्त्यमा,


कोरोनाकै कारण परिवारमा दसैं खल्लो भयो । एकान्तबासमा दम्पती नै भएकाले हामीलाई त्यति गाह्रो भएन । आमा र भाइले ल्याएको च्याङग्राको मासुको झोल र मुलाको सुकुटी खायांै । तल्लो तलामा हामी भएकै घरमा बस्ने लालुदाइले भर्‍याङमा ल्याएर दिएको गुर्जाे-बोझो पनि खाइयो । ज्वरो नभएकाले खान्की घट्न पाएन । एक छाकबाहेक सबै भान्सामै तयार बनाएर खायाैँ ।


कोरोना संक्रमित भएपछि आइसोलेसन बसाइका क्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालबाट प्राप्त ३ पुस्तक अध्ययन गरेँ । क्रमशः कोरोना पीडा भुल्न थालेँ ।


धेरै शुभेच्छुकका शीघ्र स्वास्थ्यलाभको कामनाबाट प्रोत्साहन मिल्यो । १३ कात्तिकमा मेरो र १७ मा जीवनसाथीको पिसीआर नेगेटिभ आयो । तर, शारीरिक दुखाइ र आलस्यले अहिले पनि छाडेको छैन । आइसोलेसन बसाइका क्रममा हिजो संकटमा साथ दिनेहरू टाढा र टाढा भएकाहरू नजिक भएजस्तो ठानेँ ।


(पाण्डेय नवलपरासी पश्चिमका पालिका खबरदाता हुन्)