close

‘पशुपालनमा आकर्षण छैन’

‘पशुपालनमा आकर्षण छैन’

Trulli
ADVERTISEMENT

मनाङ । मनाङको नासोँ गाउँपालिका–४ का सुरेश थकाली पशु व्यवसायी हुन् ।  'पहिला याक, चौँरी धेरै सङ्ख्या  पालिन्थ्यो । अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ । युवाको चाहना छैन । के गर्नु हामीले पनि घटाउँदै लगेका छौँ', उनले भने ।  पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको उनकाे भनाइ छ ।  

विगतमा याक, चौँरी पाल्दै आएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ । याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । चौँरी, याक घट्दै गएपछि झोपा पाल्न थालेको उनले बताए । 'पशु व्यवसायमा युवाको चासो नै पाइँदैन, पहिला ६०÷७० याक, चौँरी पालेको थिएँ । अहिले ४०/५० झोपा पाल्न थालेको छुु', व्यवसायी थकालीले भने

पुर्खौली पेसा धान्नै मुस्किल भएको उनको भनाइ छ । 'बिस्तारै मैले पनि व्यवसाय फेर्दै गएको छु । युवा जति पढ्न, अन्य काम तथा व्यवसायतर्फ आकर्षित हुन्छन्, अहिले पर्यटन व्यवसाय, अन्य व्यवसायतर्फ लागेका छन्, केही विदेश पलायन हुन्छन्, यसले गर्दा पुर्खौली पेसा जोगाउन सकस छ', किसान थकालीले भने । पशुपालन कम हुँदै गएपछि मैले डेरी पनि खोलेर व्यवसायलाई विस्तार गरिरहेको उनले बताए। 
    
उनले धारापानीमा डेरी सञ्चालन गरी दूध, दही, घ्यु बिक्री वितरण गर्दै आएको बताए । यसले पनि मौसमले पनि फरक पार्ने रहेछ कि के हो कुन्नी अहिले फेरिदै गएको अनुभव हुने गरेको उनले बताए । कोही विदेश, युवा जति पढ्न तथा कामको सिलसिलामा अन्य पेसामा लाग्न थालेपछि पुर्खौली पेसालाई बचाउने उद्देश्यले आफूले व्यवसाय विस्तार गर्दै गएको उनकाे भनाइ छ । पेसाको बचाउनका लागि आफू उदाहरणीय बनाउने उद्देश्यले व्यवसायलाई निरन्तरता दिइरहेको र सन्तुष्ट पनि रहेको उनले बताए । 

त्यस्तै नासोँ–३ धारापानीका श्रीमानसिं गुरुङ ड्रोना लेक लगायतका अन्य खर्कमा नै चौँरी, याकको गोठ राखेर पशुपालनमा व्यस्त देखिन्छन् । उनले पशुपालनलाई बचाइरहन समस्या भएको बताए । पहिला जस्तो पशुपालनमा आकर्षण नै नभएको उनको भनाइ छ । 
    
'पहिलाको जस्तो गोठालो नै पाइँदैन। वैदेशिक रोजगारी र अन्य पेसामा लाग्न थालेका छन् । पशुपालन र कृषि पेसा धरापमा छ', व्यवसायी गुरुङले भने, 'गोठाला पाउनै मुस्किल छ, यसले गर्दा धेरै पशु पाल्न सकस छ ।' 
    
त्यसैगरी नासोँ गाउँपालिका–६ तिल्चेका पशु व्यवसायी धर्मजङ्ग गुरुङले भीमताङ, ड्रोना लेक, हिमलुङलगायतका खर्कमा गोठ राखेर नै करिब ६०/७० याक, चौँरी पालिरहेका छन्। पशुपालनलाई राम्रो गरी गर्न सकिएमा आम्दानी राम्रो रहेको उनले बताए । उनले एक सयको हाराहारीमा याक चौँरी पालिरहेको जानकारी दिए। 
    
'याक, चौँरीको व्यवसाय गर्नसके त आम्दानी राम्रो हुन्छ । प्रतियाकको रु एक लाख ५० हजारसम्म मूल्य पर्छ । चौँरीको मूल्य रु एक लाखसम्म पर्छ ।यति भनेको राम्रो आम्दानी हो । युवाको चाहना नै छैन । अझै भएन स्थानीय सरकारले पनि सहयोग गरेको छ । तर पनि युवाका पेसामा आउन सकेका छैनन्', उनले भने । 
    
त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय  पशुपालक कृषक याङदुङ गुरुङ अहिले लेकतर्फ वस्तु लिएर खर्क पुगेका छन्। आइस लेक, माथिल्लो खर्कमा गोठ सार्दै पशुपालन गरिरहेका उनले बताए । 'अहिले त न खर्कमा घाँस छ । न त बस्तु पाल्न युवाले चाहन्छन् । पशुपालन नै घटेपछि मासु घट्यो, सामान ढुवानीका लागि प्रयोगमा पनि कम हुन थाल्यो । के गर्नु जोगाउन कोही लाग्दैनन्, कुन बेला मनाङमा याक चौँरीपालन हराउँछ भन्ने लाग्न थालेको छ', उनले भने । 
    
सानैदेखि यही पेसामा लागेको छाड्न मन नलाग्ने उनले बताए । 'यी पशुको धेरै माया लाग्छ। के गर्नु चरण घटेको छ । पशुपालन, कृषि क्षेत्रमा अहिले आकर्षण नै छैन भन्न मिल्ने छ।  अहिलेका युवाले व्यवसाय नै फेरेका छन् ।अब के याक, चौँरी पाल्ने र रु हामीजस्ता पाका रहिञ्जेल मात्रै याक, चौँरी रहन्छजस्तो लाग्छ, यसको संरक्षण अब युवाले गर्नुपर्छ', उनले भने। उनले अहिले ६५ याक चौँरी र ७० भेडा च्याङ्ग्रा पाल्दै आएका छन् । 
    
युवा पशुपालनबाट विमुख हुन थालेपछि स्थानीय ,प्रदेश र सङ्घीय सरकारले प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याए पनि पेसा फेर्नेको सङ्ख्या नै बढी भेटिन्छन् । 'हाम्रो उमेर विस्तारै घर्कदैछ, त्यसैमाथि हामी सामाज सेवामा लागेपछि पशुपालनतर्फ समय दिन नसकिने रहेछ', वडाध्यक्षसमेत रहेका पशुपालक किसान चोल्पा गुरुङले भने । 
    
उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ नदिन गरेको उहाँले बताउनुभयो । खर्कसम्म पुग्नै मुस्किल हुने गरेको उनले बताए । पशुपालनतर्फ प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याएको भए पनि पशुपालन घट्दो अवस्थामा रहेको उनले सुनाए । 'विगतमा हामीले हाम्रो कति याक, चौँरी, भेडाच्याङ्ग्रा छ गन्नै सकिँदैन थियो । अहिले त आँखाले देखिन्छ, खर्कभर भेडा च्याङ्ग्रा, याक चौँरी हुन्थे, अहिले कति पशु पालिएको छ भन्न सकिन्छ', उनले भने, 'अहिले मेरो पनि पशु घटेको छ, यस्तै ५०÷६० पशुचौपाय होलान् ।'
    
विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याकचौँरीको प्रयोग गरिन्थ्यो । याक, चौँरी, भेडाच्याङ्ग्राको उनबाट बनाइएको लुगा नै लगाइन्थ्यो । अहिले त कुन देशबाट आउँछ भन्ने भइसक्न थालेको छ । यहाँका पुराना मानिसले याक, चौँरी र भेडाच्याङ्ग्राको उनबाट बनेका भाङ््ग्रालगायतका कपडा उत्पादन गर्न कम भएको छ । याकचौँरीको माध्यमबाट नै मनाङमा कृषि व्यवसाय जोत्न र सामग्री ढुवानी गर्न प्रयोग गरिन्थ्यो तर, अहिले यसको प्रयोग घटेको छ । 
    
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले पशुपालन घटेसँगै उनका सामग्री बनाउन पनि कम भएको र ढुवानीमा पनि कम प्रयोग गर्न थालिएको बताए । याक चौँरी कम पाल्न थालिए पछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्जालसँग जोड्न थालिएको अध्यक्ष लामाले जानकारी दिए। 
    
पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ । पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ । 
    
जिल्लामा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौँरी र भेडाच्याङ्ग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिन्छ । कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ तर यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको अभाष हुन थालेको छ । हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहजता भएको कृषकको भनाइ छ । पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन् । 
    
यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरुको भनाइ छ । हिमपात समय भएको भए बिरुवा र पशुपन्क्षीले खानेपानीको जोहो हुने थियो तर, अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । पानी नै मुख्य आवश्यकता हो । मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए । 
    
'विगतमा भन्दा अहिले पशुपालन घटेको तथ्याङ्कमा देखिएको छ । त्यसका लागि युवालाई पशुपालनतर्फ प्रोत्साहन गर्ने कार्य, सेवा सुविधालाई सहज बनाएका छौँ', उनले भने, 'हामीले दिने प्राविधिक सेवालाई प्रभावकारीरुपमा घर घरमा नै पुगेर सकेको सेवा दिइरहेका छौँ ।'