close

बरेङ गाउँपालिकामा विद्युत् र सञ्चार अवरुद्ध 

बरेङ गाउँपालिकामा विद्युत् र सञ्चार अवरुद्ध 

Trulli
ADVERTISEMENT

बाग्लुङको बरेङ गाउँपालिकामा विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीय समस्यामा परेका छन् । सामान्य हावा चल्दा र पानी पर्नेबित्तिकै विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयले समस्या बेहोर्नु परेको हो ।

गाउँपालिकाका पाँचवटै वडामा विस्तार गरिएको विद्युत् प्रसारण लाइन र नेपाल टेलिकमको बिटिएस मोबाइल नेटवर्कमा अवरोध आउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । लामो दूरीको प्रसारण लाइन भएका कारण पानी पर्नेबित्तिकै विद्युत्मा पटक–पटक समस्या देखिने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । 

स्याङ्जाबाट गुल्मी हुँदै बरेङमा विस्तार भएको कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् अवरुद्ध हुँदा बरेङमा रहेका टेलिकमका बिटिएस टावरहरूसमेत बन्द हुने गरेको बरेङ गाउँपालिका–५ सुखौराकी मैना थापाले बताइन् । ‘हावा चले बत्ती आउँदैन । एक सातासम्म बत्ती नआउँदा दैनिक घरायसीदेखि अन्य काममा समेत अवरोध हुने गरेको छ,’ थापाले भनिन् ।

गुल्मीमा विद्युत् अवरुद्ध हुँदा बरेङमा पनि नआउने भएकाले अन्तरजिल्ला समन्वयमा समस्या देखिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘अर्काको जिल्लामा समन्वय गर्न कठिन हुँदो रहेछ । हामीललाई समस्या पर्दा गुल्मी गुहार्नुपर्छ,’ शर्मा भन्छन्, ‘विद्युत् समस्या समाधान गर्न पहल भए पनि प्रक्रियागत कठिनाइ छन् ।’

बरेङको बाटाकाचौर, सुखौरा र सल्यानमा सबैभन्दा धेरै विद्युत् र सञ्चारको समस्या छ । बाढीपहिरोले विद्युत्का पोल बगाउने, हावा चल्दा प्रसारण लाइनको तारमा रुख अल्झिनेलगायतका समस्याले बरेङमा विद्युत अवरुद्ध हुने गरेको छ । विद्युत् अवरुद्ध भएपछि साना उद्योग, बैंक तथा वित्तीय संस्थाको कारोबार, कार्यालयका काम र सर्वसाधारणको  दैनिकीमा समेत असर पर्ने गरेको छ ।

अन्तरजिल्ला प्रसारण लाइनसँग जोडिनका लागि जिल्लाकै जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको लुरुङ गाउँसम्म पोल र तार बिस्तारको काम भए पनि विद्युत् प्राधिकरण वितरण केन्द्र बाग्लुङले लाइन नजोडेको स्थानीयको गुनासो छ । 

‘जिल्लाभित्रबाट पुगेको लाइन भए हामीलाई बिग्रिएको समय गुनासो गर्न सहज हुन्थ्यो,’ अध्यक्ष शर्मा भन्छन्, ‘विद्युत्का लागि बाग्लुङबाट गुल्मी पुग्नुपर्ने अवस्था हुँदा समस्यामा छौं ।’ बरेङमा जिल्लामै सबैभन्दा धेरै फोरजी इन्टरनेट प्रयोग हुने गरेको तथ्यांक छ । तर, सोही गाउँपालिकामा रहेको टेलिकम टावरमा पटक–पटक समस्या आउने गरेको छ । 

टेलिकमको अन्तरिकभन्दा धेरै विद्युत्का कारण नेटवर्कमा समस्या रहेको सुखौराका स्थानीय दुर्गाप्रसाद शर्माले बताए । सुखौरा, बाटाकाचौर, धुल्लुबास्कोटको सिग्दी र जैमिनी नगरपालिका–१० को नाम्दुक बजारमा टेलिकमको टावर छ । सबै नेटर्वकमा फोरजी इन्टरनेट सञ्चालनमा रहेको टेलिकम बाग्लुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

सबै टावरमा १० देखि १४ घन्टासम्म धान्ने ब्याट्री ब्याकअप रहेको उनको दाबी छ । तर, नाम्दुकबाहेकका तीनवटै टावर भने विद्युत् अवरुद्ध भएलगत्तै बन्द हुने गरेका छन् । ‘सुखौरामा फोरजी चलेको छ, नयाँ ब्याकअपले राम्रै काम गर्छ,’ शर्माले भने, ‘सिग्दीको टावरमा ब्याकअप फेर्ने तयारीमा छौं ।’ 

विद्युत्कै कारण उपभोक्ताले टेलिकमका सेवा उपभोगमा समस्या खेप्दै आएको उनको तर्क छ । बरेङको सुखौरामा रहेको फोरजी टावरबाट मात्रै २४ घन्टामा ३ सय जिबी डाटा प्रयोगमा आउँछ, जुन जिल्लामा सबभन्दा बढी हो । 

सरदरमा जिल्लाका अन्य फोरजी टावरबाट २४ घन्टामा ९० देखि सय जिबी डाटा मात्रै प्रयोगमा आउने गरेको तथ्यांक टेलिकमसँग छ ।