close

निर्माण व्यवसायीको लापरबाहीले १० वर्षसम्म बनेन पुल

नगर केन्द्र आउजाउमा डुंगाकै भर

निर्माण व्यवसायीको लापरबाहीले १० वर्षसम्म बनेन पुल

नगर केन्द्र आउजाउमा डुंगाकै भर

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नदीमा ठेक्का लागेको १० वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयलाई नगरपालिकाको केन्द्र आउजाउ गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ ।

 

 

आठ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने पुलको काम निर्माण व्यवसायीले समयमै नगर्दा अलपत्र अवस्थामा पुगेको हो ।

 

 


त्रियुगा नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको १० वर्ष बितिसक्यो तर निर्माण अझै अधुरै छ ।


बर्खाको समय नगरपालिका र वडा कार्यालयको केन्द्रसम्म जान असार, साउन, भदौ, असोजसम्म डुंगाको भर पर्नुपर्नुबाहेक स्थानीयसँग अरू विकल्प छैन । उदयपुरको चौदण्डीगढी नगरपालिकाका दुई ठाउँमा डुंगा सञ्चालन गरिएको छ ।


स्थानीय त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका- ६, बेल्टारस्थित नगरपालिका केन्द्र आउजाउ गर्न तीन वडाका स्थानीयलाई समस्या परेको हो । नगरपालिकाको वडा- ५ को सिवाई, सुन्दरपुरको सिवाई तथा ९ र १० नम्बरको हडियादेखि बेल्टार आउजाउ गर्न ज्यामिरेमा डुंगा सञ्चालनमा ल्याइएको हो ।


त्रियुगामा बाढीको सतह बढेसँगै सुन्दरपुरको व्यापारिक केन्द्र सिवाई, बेल्हा, सुन्दरपुर तथा ९ र १० वडाका हडियाबासीलाई बेल्टार आउजाउ गर्न डुंगा सञ्चालनमा ल्याइएको नगरप्रमुख खगेन्द्र राईले बताए ।


‘हिउँदमा पानी सुक्ने त्रियुगामा वर्षापछि भेलका कारण नदीमा पानीको सतह बढेपछि यातायात अवरुद्ध हुने गर्छ’, नगरप्रमुख राई भन्छन्, ‘पुल नहुँदा स्थानीय डुंगाको सहारा लिन बाध्य छन् ।’


१० वर्षअघि सुरु भएको सुन्दरपुरस्थित त्रियुगा नदीको पुल निर्माण कम्पनीको लापरबाहीले अझै नबन्दा बर्सेनि डुंगा चलाउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।


वडा- ९ को आधा भाग र १० नम्बर वडावासीलाई आउजाउ गर्न ज्यामिरेस्थित त्रियुगामै अर्को डुंगा सञ्चालनमा ल्याइएको छ । हडिया र सिवाई सुन्दरपुरका स्थानीयलाई नगरको कामकाज गर्न बेल्टार आउजाउ गर्ने सडकमा ५-७ फिट पानीको सतह बढेपछि असार पहिलो सातादेखि डुंगा चलाउनुपर्छ ।


डुंगामा आउजाउ गर्न प्रतिव्यक्ति २० रुपैयाँ भाडादर कायम गरिएको वडा कार्यालयले जनाएको छ ।


सिवाई पुलको काम अझै ७५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । २३ असार २०६७ मा सुरु गरेर २२ असार २०७० मा बनाइसक्ने गरी सम्झौता भएको थियो ।


सो पुल गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटले हेर्दै आएको छ । योजना कार्यालय गाईघाटका प्रमुख गोपालप्रसाद खकुरेल निर्माणाधीन पुलको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने दाबी गर्छन् । ‘यस वर्ष सक्ने गरी काम गर्न लगाइएको पुल निर्माणसँगै एप्रोच रोडको समेत ठेक्का लगाइसकेकाले चालू आर्थिक वर्षमा सञ्चालनमा ल्याउने योजना छ’, खकुरेलले भने । पुल बनाउने म्याद चार पटक थपिसकेको उनले बताए ।

 

१३ स्पानको २८४.६ मिटर लम्बाइ र पाँच मिटर चौडाइको सो पुल बनाउने जिम्मा महालक्ष्मी र लोकप्रिय जेभी कलंकी काठमाडौंले लिएका थिए । निर्माणको रेखदेख गर्दै आएको गाईघाट-दिक्तेल सडक आयोजनाले ७५ प्रतिशत काम पूरा भएको दाबी गरेको छ ।


सरकारी उदासीनता र निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणले गति नलिएको हो ।


‘निर्माण व्यवसायीको लापरबाहीका कारण पुल अलपत्र परेको हो । निर्माण सुरु गरेको पक्की पुल एक दशक पुगिसक्दा पनि सकिएको छैन’, वडा- ५ का वडा अध्यक्ष देवनारायण चौधरीले भने । हिउँदमा अस्थायी रूपमा बनाइएको बालुवाको पुलले राहत दिए पनि बर्खामा स्थानीयले सास्ती व्यहोर्नुपर्ने अवस्था रहेको चौधरी बताउँछन् ।


त्रियुगा प्रदेश १ का ठूला नदीमध्येमा पर्छ । सप्तरीको फत्तेपुर, उदयपुरको सिवाई-बेलटार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौदण्डीगढी नगरपालिका- ५ त्रियुगा नदीको सिवाईमा २०६७ सालदेखि पुल निर्माण सुरु गरिएको थियो ।


पुल निर्माण सुरु गर्दा महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैँ भएको भन्दै रामेछापका कमलविक्रम कार्कीले काम थालेका थिए । तर, उनले महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सबकन्ट्र्याक्टर भएर काम गरेको र घाटा भएपछि अलपत्र पारेर भागेको चौदण्डीगढी नगरपालिका वडा- ५ का वडा अध्यक्ष चौधरी बताउँछन् ।


जिल्लाको दोस्रो व्यापारिक केन्द्र बेल्टार बजारसँग खोटाङको चिसापानीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सरकारले यो पुल निर्माणको निर्णय गरेको हो ।


सुरुमा नौ करोड ७६ लाख रुपैयाँ लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण १३ करोड रुपैयाँभन्दा माथि पुगिसकेको प्राविधिक बताउँछन् । पहिलेको डिजाइन परिवर्तन गरेर नयाँअनुसार गर्दा काम ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी र लोकप्रिय कन्स्ट्रक्सन जेभीले जनाएका छन् ।


पुल निर्माण सुरुदेखि नै सुस्त गतिमा भइरहेको चौदण्डीगढी नगरपालिका प्रमुख राई बताउँछन् । ‘पुल छिटो सक्न र कामलाई तीव्रता दिन कन्स्ट्रक्सन कम्पनी र सडक विभागलाई पटकपटक अनुरोध गरेका छौं’, नगरप्रमुख राईले भने, ‘नगरपालिकाले पनि पुल चाँडै सकियोस् भनेर कन्स्ट्रक्सन कम्पनीलाई सहयोग गरे पनि विभिन्न बहानामा अलपत्र पर्दै आएको छ ।’