close

ठेकेदारको लापरवाहीले सुनकोसी नदीको पुल ८ वर्षदेखि अलपत्र

उदयपुर र खोटाङवासीलाई सधैं सास्ती

ठेकेदारको लापरवाहीले सुनकोसी नदीको पुल ८ वर्षदेखि अलपत्र

उदयपुर र खोटाङवासीलाई सधैं सास्ती

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुर र खोटाङलाई जोड्ने मुख्य सडक नाकामा पर्ने सुनकोशीको फोक्सिन्टारस्थित पक्की मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सुरु भएको ८ वर्ष पुग्न लाग्दा सम्म अलपत्र परेको छ ।


२० चैत, २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म ३५ प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या पर्दै आएको छ ।


गाईघाट–दिक्तेल लोकमार्ग अन्तरगत उदयपुरतर्फ रौतामाई गाउँपालिका–५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– १ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २० चैत, २०७५ मा सम्पन्न गर्ने गरी २३ चैत, २०६९ मा ठेक्का सम्झौता भएको थियो ।


साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाई र १ सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती र वाईपी जेवीले लिएको छ ।


३ स्पानको सो पुल बनाउन सडक विभागले १९ करोड ६० लाख रुपैंयाँमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । हालसम्म ६ करोड ६६ लाख रुपैंयाँ भुक्तानी समेत दिइसकिएको पुल योजना सेक्टर १ कार्यालयले जनाएको छ ।


सेक्टर १ कार्यालयले  पुल निर्माणको सुरुवात नै ढिला भएका कारण म्याद सकिइसक्दा पनि ३५ प्रतिशत भन्दा बढी काम हुन नसकेको बताए । उनका अनुसार निर्माण कम्पनीलाई पटक पटक ताकेता पनि गरिएको छ ।


निर्माण कम्पनीले बन्दाबन्दीको बहाना बनाएर काम नगरेको गाईघाट दिक्तेल सडक योजना कार्यालयको गुनासो छ । पुलको हालसम्म उदयपुरतर्फ २ वटा फाउण्डेसन पिल्लर उठाइएको छ भने पारिपट्टी एउटा फाउण्डेसन पिल्लर निर्माण भएको छ ।


सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न निकै ढिला हुने स्थानीयहरु बताउँछन् । कोशीमा बाढी आएको बहाना र विभिन्न अन्य बहाना बनाएर निर्माण कम्पनीले काम नगर्ने गरेको रौतामाई गाउँपालिका–५ का वडा अध्यक्ष पाण्डव राई बताउँछन् ।


वडा अध्यक्ष राईले पटक पटक ठेकेदारलाई पुल छिटो बनाउन ताकेता गर्दा पनि काममा ढिलाई भइरहेको बताए । ‘यो पुल बनाउने भनिएको ८ वर्ष पुगिसक्यो तर, अहिलेसम्म पिल्लरै बनिसकेको छैन’ अध्यक्ष राईले भने ‘पुल नबन्दा दुई जिल्लाबासीलाई आउजाउ गर्न ठूलो समस्या भइरहेको छ ।


पुल समयमा नबनेकै कारण वर्षेनी हिउँद (कात्तिक) मा बेलिब्रीज जडान गर्ने र वर्षा लागेपछि जेठ पहिला सातामा खोल्नु पर्ने बाध्यता रहेकोे अध्यक्ष राईले बताए । पुल समयमा नबने कै कारण बेलिब्रीजमा मात्र वर्षेनी राज्यको १ करोड हाराहारी रकम खर्च हुने गरेको छ । यो क्रम बिगत ४ वर्षदेखि निरन्तर चलिरहेको छ ।

 

बेलिब्रीज लगाउन र खोल्न झन्झट हुने गरेको गाईघाट–दिक्रेल सडक योजना कार्यालय गाईघाटका डिभिजन ईन्जिनियर गोपालप्रसाद खकुरेलले बताए ।


सगरमाथा लोकमार्ग अन्तर्गत उत्तर दक्षिणको रणनीतिक महत्वका सडक योजनामा पर्ने उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण हुने मोटरेबल पक्की पुल नबन्दा आर्थिक गतिबिधिमा समस्या हुने गरेको बताउँछन् ।


गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्की राम्चे बीचमा पर्ने सुनकोसीमा पुल नबन्दा खोटाङ र उदयपुरबीच सिधा यातायात ठप्प भएको छ ।

 

हिउँदमा बेलीब्रिजको माध्यमबाट सिधा यातयात सञ्चालन भए पनि वर्षातमा सुनकोशीमा आउने बाढीले बेलिब्रिज बगाउने भएकाले वर्षातपछि बेलिब्रिज खोल्दा यातायात ठप्प नै हुने गर्दछ ।


पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पुर्वी सेक्टर कार्यालय धरान सुनसरीका डिभिजन ईन्जिनियर कौलास देवको भनाइ छ ।


अहिले २०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो । तर, पुरानो डिजाइनले काम नगरेपछि पुन पुलको डिजाइन बनाउँदा ढिलो भएको निर्माण कम्पनीका साईट ईन्चार्ज मदन मगरले बताए । २०६९ सालमा गरिएको पुलको डिजाइनै असफल भएपछि पुलको नयाँ डिजाइन गर्न झन्डै २ वर्ष लागेको बताए । नयाँ डिजाइन आकी ब्रिज हो ।

 

पूर्वी नेपालका जिल्लामा पुल निर्माणको जिम्मा पाएको पुल योजना पूर्वी सेक्टरको कार्यालयका अनुसार १६ करोडको लागत छ । पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडांैले जिम्मा लिएको हो ।

 

पुरानो डिजाइनमा पुल निर्माण गर्न पुगेको निर्माण कम्पनीले पिलर गाड्नका लागि खाल्टा खन्ने कार्य सुरु गरेर काम रोकेको हो । पुल निर्माण कम्पनीका सञ्चालक रामुकुमार थापाले केही प्राविधिक र कर्मचारी राखेर क्याम्प स्थापना गरी एक महिना सम्म पिलर गाड्न खाल्टा खन्ने काम सुरु गरे पनि पछि छाडेर हिँडेको फोक्सिङटारका स्थानीयबासी इन्द्र राउतले बताए ।

 

योजनाको कार्यालय गाईघाटका प्रमुख खकुरेलले पुलको डिजाइनमा कहिले विभाग र कहिले पुल योजना कार्यालय धरानलाई दिँदा ढिलाइ भएको हो । ‘यसमा कारण धेरै छन’, उनले भने, ‘पुल निर्माणको आवाश्यक सामग्री पु¥याए पनि गिट्टी, बालुवामा पनि मुख्या समस्या छ ।’

 

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य सुरु गरेको गाइघाट–दिक्तेल सडक योजनाले अहिले गाईघाट दिक्तेल सडक निर्माण गरी सकेको छ । २३ वर्ष भित्र सडक बने पनि पुल नबन्दा गाईघाट– दिक्तेल धुले सडक सिधा यातयात सञ्चालन हुन सकेको छैन । हिउँदमा सिधा यातायातको लागि बेलिब्रिज गाईघाट–दिक्तेल जडान गरी यातायात सञ्चालन गर्ने गरिएको छ ।

 

सुनकोसीमा पानीको बहाव घटेपछि लगाइने र बर्खायाम सुरु भएपछि झिक्ने बेलिब्रिजले हिउँदमा मात्र सिधा यातातयात सञ्चालन हुन्छ । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म बेलीब्रिज खोलेपछि सिधा यातायात ठप्प हुन्छन् ।


६ महिनाका लागि पूर्ण रुपमा बन्द हुने गर्दछ । बर्खा लागेसँगै सुनकोसी नदीको बहाव बढेको कारण बेलिब्रिज बगाउने डरले ६ महिनाका लागि बेलिब्रिज झिक्नुपर्ने बाध्यता भएको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनायो ।


पुल नभएकै कारण खोटाङ्गमा विभिन्न उपभोग्य बस्तु समेत चर्को मुल्यामा ढुवानी हुने गरेको व्यापारीहरुको भनाइ छ । पूर्व खोटाङको लागि सम्पूर्ण उपभोग्य वस्तुहरु उदयपुरको गाईघाटबाट मात्र ढुवानी हुने गरेको छ ।