close

भाडाकाे घरमा चलेकाे अस्पताल अब आइसोलेसनसहित आफ्नै  भवनमा

भाडाकाे घरमा चलेकाे अस्पताल अब आइसोलेसनसहित आफ्नै  भवनमा

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा-२ चिसापानीस्थित ढेंडारीफाँटमा निर्माणाधीन ५० शय्याको कोरोना विशेष आइसोलेसन सेन्टर भवन निर्माण पुनः सुचारु गरिने भएको छ । 


बर्दघाट नगरले आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरेको उक्त भवन निर्माण योजनालाई चालू वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राखिएको छ ।


कोरोना कहरबीच आर्थिक वर्ष ०७६/७७ मा आइसोलेसन सेन्टर भवन निर्माण थालिएको थियो । सरकारी स्वामित्वको चिसापानी अस्पताललाई नवनिर्मित आइसोलेसन भवनबाटै सञ्चालन गर्ने गरी भवन निर्माण हुँदै आएको हो । 


१५ शय्याको चिसापानी अस्पतालको आफ्नै भवन नभएका कारण भाडाको घरमा सञ्चालन भइरहेकाले त्यहाँ ५० शय्याको आइसोलेसन सेन्टर निर्माण हुँदै आएको थियो । 


आइसोलेसन भवन निर्माण गत आर्थिक वर्षको बजेटले नभ्याएपछि चालू वर्ष २० लाख बजेट थपिएको थियो । ‘आइसोलेसन भवन निर्माण सुरु गर्न नगरपालिकासँग सम्झौता भएको छ’, आइसोलेसन निर्माण उपभोक्ता समितिका अध्यक्ष डीपी श्रेष्ठले भने, ‘अब १/२ दिनबाटै धमाधम बाँकी काम हुन्छ ।’

 

बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले आइसोलेसन भवन निर्माणको योजना राखिएको बताए । उनले यसबाट नगरबासी लाभान्वित हुने दाबी गरे ।

 

‘अहिले २० लाखको योजना सम्झौता भयो’, नगरप्रमुख बस्यालले भने, ‘प्राविधिक स्टिमेटपछि १ करोडसम्मको योजना बनाइनेछ ।’

 

रोकिएको आइसोलेसन निर्माण पुनः सुचारु हुने भएपछि स्थानीय खुसी भएका छन् । आइसोलेसन भवनले वडामा मात्र नभई पूरै नगरबासीलाई सहज हुने वडा-२ का अध्यक्ष दया दर्लामी बताउँछिन् । बर्दघाट- १२ का स्थानीय देवेन्द्र पोखरेल रोकिएको काम ढिलै भए पनि सुरु हुनु सकारात्मक रहेको बताउँछन् ।