close

सरावलको केन्द्र जाेड्ने बाटो धमाधम कालोपत्रे हुँदै

सरावलको केन्द्र जाेड्ने बाटो धमाधम कालोपत्रे हुँदै

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - पश्चिम नवलपरासीको सरावल गाउँपालिका जाने भित्री कच्ची सडक कालोपत्रे गरिएको छ । पालिकाको वडा-३ सरावलमा ढल निकाससहित बाटो कालोपत्रे गरिएको हो । पुरानो सरावल बस्तीलाई इतिहासकारले कोलीय सायुगा नगर भन्दै आएका छन् । अहिले सरावलको कार्यालय यही रहेको छ । 


‘पर्यटन विकासमा लागि सडक अपरिहार्य रहेछ’, पालिकाका अध्यक्ष राधेश्याम चौधरी भन्छन्, ‘त्यसैले गाउँ-गाउँमा सडक विस्तार अभियान सञ्चालन गरेका छाैं । हरेक वडाका सडक कालोपत्रे गर्ने योजना छ ।’


प्रदेश सरकारबाट ५ करोड र सरावल गाउँपालिकाबाट ५ करोड गरी कुल १० करोडको लगानीमा वृक्षारोपणसहितको आधुनिक सडक निर्माण जारी रहेको अध्यक्ष चौधरीले  बताए । नालासँगै बाटो निर्माण भइसकेपछि पुनः दोस्रो चरणमा वृक्षारोपण गरिने उनले जानकारी दिए ।


कच्ची बाटो हुँदा बर्खा समय स्वानीयलाई आउजाउमा हुने समस्या हट्ने भएपछि स्थानीय खुसी छन् । ‘वरपर नालासहित बाटो पक्की गर्ने काम भइरहेको छ,’ अध्यक्ष चौधरीले भने, ‘अब सकिएपछि बाँकी बाटोलाई दोस्रो चरणमा पक्की गर्नेछौं ।’


पालिकाले भीमटाडी, श्रीनगर, सरावल हुँदै सरावलको महेशपुर जोड्ने सडकको त्रिवर्षीय आयोजना प्रदेश सरकारबाट स्वीकृति भई कामलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए ।


गाउँपालिकाले बाटो निर्माणका लागि उपलब्ध गराएको बजेटबाट नालासँगै पक्की बाटो निर्माण गरिएको सरावलका सन्दीप विक बताउँछन् । ‘बाटोसँगै पक्की नाला निर्माण कार्य पनि भइरहेको छ’, उनले भने, ‘यसले गर्दा जनतालाई स्थानीय सरकार छ भन्ने महसुस भएको छ ।’


बाटो कच्ची हुँदा दिनहुँ ढुवानीका लागि गुड्ने साना गाडी तथा अटोसँगै पैदल यात्रीलाई निकै समस्या परिरहेका बेला कालोपत्रे गरिएपछि गाउँटोलबासीलाई सुविधा हुने स्थानीय धर्मराज चौधरी सुनाउँछन् ।