close

टेम्के डाँडामा ‘भ्यू टावर’

टेम्के डाँडामा ‘भ्यू टावर’

Trulli
ADVERTISEMENT

भोजपुर– प्रदेश १ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा भ्यू टावर निर्माण थालनी गरेको छ ।


प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड रुपैयाँभन्दा बढी लागतमा टावर बन्ने भएको हो ।


टेम्के डाँडाबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला छवटाका साथै अन्य ३३ वटा हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रदेश सरकारले टावर निर्माण गर्ने भएपछि स्थानीय उत्साहित भएका छन् । टावर निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए ।


अध्यक्ष राईले भने, ‘मुख्यमत्रीले शिलान्यास गर्नुभएको छ, अब भने टावर बन्नेमा गाउँपालिकावासी विश्वस्त छन् । यसले गाउँपालिकासँगै प्रदेश १ को पर्यटन विकासमा टेवा पुग्नेछ ।’


तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ लागतमा भ्यू टावर निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले जानकारी दिए ।


आचार्यले भने, ‘प्रदेश १ को मुख्य पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ । यसको नजिकै तावा भञ्ज्याङमा पोखरी निर्माण गर्ने लक्ष्यका साथ अन्य काम हुनेछ, यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पु¥याउने योजनाका साथ काम हुन्छ ।’


सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयले बताएका छन् ।


जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके प्रकृतिप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्न सक्ने प्रमुख जिल्ला अधिकारी वसन्राज पुरीले बताए । प्रजिअ पुरीले भने, ‘यो ठाउँ विशेष महत्त्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र हो, यहाँको प्राकृतिक सौन्दर्यलाई कायम राख्दै विकास गर्न सके आर्थिक टेवा पुग्ने देखिन्छ ।’


प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागिएको टावर किरात राईहरूको पहिचान झल्किने गरी डिजाइन गरिएको छ  । टावर २० मिटर अग्लो रहनेछ भने टावरको पहिलो तल्लामा संग्रहालय रहनेछ ।


भोजपुर र खोटाङको सिमानामा रहेको टेम्के डाँडामा शिलान्यास गरिएको टावर किरातहरूको पहिचान झल्किने गरी टावर बन्ने मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । यसले पर्यटनसँगै भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ । टावर निर्माणका लागि कुनै पनि बजेट अभाव नहुनेसमेत उनले बताए ।


टेम्केमा नेपालकै नमुना बन्नेसमेत जानकारी दिए । मुख्यमन्त्री राईले भने, ‘टेम्के डाँडा आफैँ टावर छ तर यो प्रदेश सरकारले त्यसै टावर बनाउन लागेको होइन, यसलाई किरात पहिचानको रूपमा रहेको चिण्डो आकारमा निर्माण गरेर नेपालकै नमुना भ्यू टावर बनाउने प्रदेश सरकारको लक्ष्य छ ।’


टावरको कुन्सालिङ कन्स्ट्रक्सन भोजपुरले आगामी २०८२ सालसम्ममा सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ ।