close

बाजुराको बागथला-विजगडा सडक कालोपत्रे हुँदै 

बाजुराको बागथला-विजगडा सडक कालोपत्रे हुँदै 

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको बागथला-विजगडा सडक कालोपत्रे हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत २ वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा सडक निर्माण हुन लागेको हो । केदारस्यु गाँउपालिकाको बागथलाबाट बुङगल नगरपालिकाको गनैसम्म २ वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा २४ किलोमिटर सडक निर्माण हुन लागेको हो ।


सडकको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले शिलान्यास गरे । कार्यक्रममा मन्त्री बोहराले पहाडी जिल्लाहरूमा विकासका पूर्वाधार नभएका कारण बसाइँ सर्नेको संख्या बढ्दै गएको अवस्थामा यो सडक आयोजनाले यसलाई कम गर्ने अपेक्षा रहेको बताए ।


‘जिल्लामा विकासका पूर्वाधार नभएका कारण पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्ने क्रम बढेको छ । प्रदेश सरकारले पहाडी जिल्लाको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । अब सडकै नभएको भन्दै अन्यत्र बसाइँ सर्ने क्रम रोकिनेछ’, मन्त्री बोहराले भने ।


प्रतिपक्ष दलले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए पनि विकासको मूल फुट्ने क्रम जारी रहेको उनको दाबी छ ।

 

बुङगल क्षेत्रमा आर्थिक विकासका लागि प्रशस्त सम्भावना भए पनि सडक सञ्जालको पहुँच नहुँदा ओझेल परेकामा बागथला-विजगडागनै सडक स्तरोन्नतिसँगै यस क्षेत्रले विकासमा फड्को मार्ने मन्त्री बोहराले जिकिर गरे ।


मन्त्री बोहराले भने, निर्माण कम्पनीले विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने पुरानै रोग छ । अब त्यसो हुन दिन्नौँ । समयमा काम नगरे ठेकेदारलाई कारबाही गर्छौं ।’


सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको यो सडकको केएस कन्स्ट्रक्सन प्रालि धनगढीले ठेक्का पाएको छ । गत कात्तिकमा ठेक्का सम्झौता गरेको कम्पनीले २०७९ असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

 

निर्माण कम्पनीका अनुसार बागथला-विजगडा १५ किलोमिटर विजगडाअन्तर्गतको कफलसेरीसम्म ९ किलोमिटर सडकमा २ ठाँउबाट निर्माण सुरु गरिनेछ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २४ किलोमिटर सडक चौडा गर्ने, नाली, वाल, कल्भर्ट निर्माण र कालोपत्रे गरिनेछ ।

 

८ मिटर चौडाइ रहने यो सडक स्तरोन्नतिका लागि निर्माणमा कुनै अवरोध नआए समयै सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रतिनिधि जीतबहादुर तामाङले बताए । जिल्लाको पछाडि परेको बुंगल क्षेत्रको मुख्य सडक बागथला-विजगडा लेक हुँदै दार्चुलासम्म जोडिनेछ ।

 

अहिले जिल्लाको साइपालबाहेक ११ वटै स्थानीय तहका केन्द्रसम्म सडक सञ्जालको पहुँच पुगेको छ । गाउँ-गाउँमा सडक सञ्जाल जोडिएपछि बाजुराबासीलाई सहज भएको छ ।