close

जगन्नाथकाे काँडाकोटमा गुड्यो गाडी, पयर्टनको सम्भावना बढ्यो

जगन्नाथकाे काँडाकोटमा गुड्यो गाडी, पयर्टनको सम्भावना बढ्यो

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको दुर्गम गाउँपालिकाको रूपमा रहेको जगन्नाथका गाउँगाउँमा गाडी पुगेसँगै त्यहाँका कतिपय ठाउँमा पर्यटनको सम्भावना पनि बढेको छ । स्याउ, सिमी र लेकाली गहुँ उत्पादनको मुख्य केन्द्र मानिने जगन्नाथ गाउँपालिकाको वडा नं.- २ काँडाकोटलाई लक्षित गरी गाँउपालिकाले ३ वर्ष अगाडि सेरा-काँडाकोट सडक खन्ने कामको सुरुवात गरेको थियो ।


३ वर्षमा १० किलोमिटर सडकको ट्र्याक खुलेपछि हिजो शनिबार औपचारिक रूपमा सडक उद्घाटन नभए पनि गाउँपालिकाका कर्मचारीहरूले त्यहाँ पुगेर हेर्दा निकै रमणीय भएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । वनभोजका लागि २ वटा जीप र ४ वटा मोटरसाइकलसहित काँडाकोट पुगेर हेर्दा पर्यटनकका लागि निकै राम्रो सम्भावना देखिएको उनको भनाइ छ ।


कृषि शाखाको तथ्यांकअनुसार काँडाकोटमा हाल १० हजार स्याउका बिरुवा रहेको र आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्रले पकेटका लागि छनोट गरी २५ लाख रुपैयाँ विनियोजन गरेको हुनाले स्याउ खेती थप विस्तार हुने भएको छ ।

 

सडक संचालनपश्चात् त्यहाँको उत्पादन स्याउ र सिमीले बजार पाउनुका साथै बजारको समान सस्तो मूल्यमा स्थानीयले उपभोग गर्न पाउने जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । 


२ वर्ष अगाडिसम्म काँडाकोटका बासिन्दाले कुवाको पानी पिउँदै आएका र गत वर्ष गाउँपालिकाले ८ किलोमिटर टाढाबाट ६४ लाख रुपैयाँ लगानी गरेर काँडाकोटमा पानी पुर्‍याएपछि बाह्रैमास पानीका लागि सहज भएको छ भने नेपाल टेलिकमले टावर स्थापना गरेपछि गाउँपालिकाको लगानीमा विद्युत पुर्‍याउनुका साथै नेपाल टेलिकमले १६ पुस २०७७ देखि थ्रीजी सेवा विस्तार गरेको अध्यक्ष शाहीले बताए ।


समुद्र सतहबाट २ हजार ७०० मिटर उचाइमा रहेको दहडाँडालाई गाउँपालिकाले पर्यटकीय पार्क बनाउने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । उक्त स्थानबाट कर्णाली प्रदेशका कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरा प्रदेश (क)का ४ वटै स्थानीय तहको दृश्यावलोकन गर्न सकिने गाउँपालिकाका रोजगार संयोजक जोशीको भनाइ छ ।

 

पिलुचौरदेखि १२ किलोमिटर दूरीमा रहेको काँडाकोटका फाँटहरूले जोकोहीको मन नलोभ्याइरहन सक्दैन ।