close

सेती नदीमाथिकाे पुल अझै किन बनेन ?

पुल जाेड्ने सडक भत्कियाे तर पुल बन्न सकेन

सेती नदीमाथिकाे पुल अझै किन बनेन ?

पुल जाेड्ने सडक भत्कियाे तर पुल बन्न सकेन

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको चैनपुरस्थित पानकोट सेती नदीमा निर्माणाधीन क्रस पुलका लागि ठूलो क्रेन ल्याउन असहज भएपछि समयमै नसकिने संकेत देखिएको छ । पुल निर्माणको ठेक्का पाएको इलाइट कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि कपिल राईका अनुसार आगामी चैतभित्रै पुल बनाइसक्ने योजना भए पनि क्रेन ल्याउन नसक्दा ढिलाइ हुने देखिएको हो । 

 

‘पुल निर्माणका लागि आवश्यक सामग्री सबै आइपुगेको छन् । चितवनबाट क्रेन ल्याउने तयारी भए पनि जयपृथ्वी राजमार्ग साँघुरो हुँदा ल्याउन सकिएन’, राईले भने । झन्डै ८ करोड रुपैयाँको ठेक्का सम्झौता भएको पानकोट पुल फलाम र स्टिलबाट बन्नेछ । 

 

पुलका सामान बाहिरबाटै बनेर आएकाले उक्त पुलको नट-बोल्ट कस्न २ महिना लाग्नेछ । यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि बीचको पिल्लरका लागि खाल्डो खन्दा ढुंगा लागेको भन्दै काम रोकिएको थियो ।


गत चैतमा इलाइट कन्स्ट्रक्सन प्रालिसँग झन्डै ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएपछि क्रस ब्रिज बनाउने सहमति भएको थियो । सेती नदीपारिका स्थानीय तहलाई जोड्ने गरी २०७३ असार मसान्तमा निर्माण सक्ने सर्तसहिते ठेक्का सम्झौता भएको पक्की पुल ४ वर्षपछि ठडिन लागेको हो ।

 

सेती नदीपारिका झण्डै आधा भूभागलाई सडक संजालमा जोड्ने यो पुल समयमै नबन्दा वर्षौंअघि निर्माण सम्पन्न भएका सडक पनि बेकामे भएका छन् । यसअघि ठेकेदार कम्पनी नीलगिरि निर्माण सेवा र जागृति निर्माण सेवाले ६ करोड ७८ लाख रुपैयाँको लागतमा संयुक्त रूपमा पुल निर्माणको जिम्मा पाएका थिए ।


डिजाइन स्टिमेटमा त्रुटि भएका कारण पुल निर्माण हुन नसकेको निर्माण कम्पनीले दाबी गरेको छ । अहिले पुनः टेन्डर भई निर्माण कार्यले निरन्तरता पाएको हो । यो सेती नदीमा बनिरहेका पुलमध्ये पहिलो हुनेछ । 


काठे पुल निर्माणमा स्थानीय तहको प्रतिस्पर्धा

 

बझाङका स्थानीय तहहरूले प्रत्येक हिउँदमा सेती नदीमा अस्थायी पुल बनाउन प्रतिस्पर्धा नै गर्ने गरेका छन् । काठे पुलमा मंसिरदेखि वैशाखसम्म मात्र गाडी चल्ने गर्छन् ।


नदीमा पानीको बहाव बढ्नेबित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ । सेती नदीका पारितिर रहेका थलारा, खप्तड छान्ना, जयपृथ्वी नगरपालिकाको साविकको हेमन्तबाडा, लुयाटा र कैलाशका साथै मष्टा र तल्कोट गाउँपालिकाका धेरैजसो सबै गाउँबस्तीमा सडक संजाल जोडिएको छ ।


सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन पारितिर जान सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि काठेपुल राखेर यातायातका साधन ओहोरदोहोर गरे पनि जेठमा काठे पुल बगाएपछि बन्द हुने गर्छन् ।


सेती नदीमा पक्की पुल नबन्दा यो क्षेत्रका हजारौँ नागरिकले सास्ती भोग्दै आएका छन् । यस क्षेत्रका नागरिकलाई बिरामी ल्याउन, सामान ढुवानी गर्न र हिँडडुलमा समेत समस्या भएको स्थानीय करन धामीले बताए । 


बझाङ जोड्ने जयपृथ्वी राजमार्ग देउरा हुँदै चैनपुर जोडिए पनि सेतीपारि पक्की पुल निर्माण नहुँदा जिल्लाको एकतर्फ यातायात संचालनमा छन् भने अर्कोतिर यातायातका साधन जान सकेका छैनन् ।


बझाङका विभिन्न स्थानमा निर्माणाधीन ४ वटा पुल अलपत्र अवस्थामा छन् । सेती लोकमार्ग जोड्ने तमैल पुल, तल्कोट गाउँपालिका र मष्टा जोड्ने देवशैन पुल, झनाना पुल र रायलमा निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेका हुन् ।