close

अघिअघि कालोपत्रे, पछिपछि भ्वाङ !

अघिअघि कालोपत्रे, पछिपछि भ्वाङ !

Trulli
ADVERTISEMENT

बझाङ- जयपृथ्वी राजमार्गमा सडक कालोपत्रेको काम पूरा नहुँदै उप्कन सुरु भएको छ । खोड्पे-चैनपुर १ सय ८ किलोमिटर जयपृथ्वी राजमार्गमा विभिन्न निर्माण कम्पनीद्वारा कालापत्रे, आरसीसी ढलान, नाली निर्माण र मोड चौडा र पर्खाल निर्माणको काम चलिरहेको छ ।


सडक कालोपत्रेमा भने गुणस्तरहीन सामग्री प्रयोग हुँदा उप्किन थालेको छ । बाग्थलादेखी चैनपुरसम्मको रिसोलिङ गर्ने जिम्मा लिएको जलजला निर्माण सेवाले गरेको कालोपत्रे जयपृथ्वी नगरपालिका-७ सुवेडामा उप्किएको पाइएको हो । कालोपत्रे गरेको साता दिन नबित्दै सडक उप्किन थालेको स्थानीय र गाडी चालकले बताए ।

 

२०६५/०६६ मा कालोपत्रे गरिएको ओटासिल सडक उप्किसकेकाले अहिले विभिन्न ठाउँमा टालटुल, नाली निर्माण, आरसीसी ढलान, मोड चौडा पार्ने काम भइरहेको हो । सडक मर्मतमा प्रयोग भएका कच्चा पदार्थ गुणस्तरीय नभएको र सडक कालोपत्रे गर्नुअघि सडक सफा नगरिएका कारण अहिले सडकको यस्तो हालत भएको स्थानीय अशोक मल्लले बताए ।


उनका अनुसार सडकमा २० एमएम अर्थात् २ सेन्टिमिटर मोटाइमा कालोपत्रे हुनुपर्नेमा १५ एमएममा कालोपत्रे भएको छ । वर्षायाममा रातारात काम भएको सडकमा अहिले धेरैजसो ठाउँमा कालोपत्रे उप्किएर पानी जम्ने, खाल्डाखुल्डी र धुलो उड्ने भइसकेको छ । 

 

सडक मापदण्डअनुसार मर्मत नभएको र आगामी बर्खायामसम्म फेरि कच्ची सडकजस्तै हुने स्थानीय युवा धीरेन्द्र मल्लले दाबी गरे । सडक मर्मतका नाममा बर्सेनि करोडौँ रकम निकासा भए पनि निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा हरेक वर्ष यात्रुले सास्ती भोग्नु परेको छ । 


कालोपत्रे उप्किएको गुनासो बढ्न थालेपछि सडक डिभिजन कार्यालय बैतडीले सडकको गुणस्तर हेर्न इन्द्र जोशीसहितको टोली बझाङ पठाएको डीई रमेश चौधरीले जानकारी दिए । ‘डिभिजन कार्यालयले गुणस्तर र कच्चा पदार्थ प्रयोगबारे अनुसन्धान गरी पुनः कालोपत्रे गर्न लगाउनेछ’, डीई चौधरीले भने ।

 

हाल ८ करोड रुपैयाँ लागतमा बझाङ, बैतडी, दार्चुलाका विभिन्न सडक मर्मत भइरहेका छन् । सडक डिभिजन कार्यालय बैतडीका अनुसार जयपृथ्वी राजमार्गमा खोड्पे-बित्थड, बित्थड-बाग्थला, बाग्थला-झोता र झोता-चैनपुर गरी ४ खण्डमा ग्लाल्लेख निर्माण सेवामार्फत विभिन्न निर्माण कम्पनीले सडक मर्मतको जिम्मा लिएका छन् । 


खोड्पेदेखि बित्थडसम्म ग्याभ ग्लाल्लेख जेभी र धुलिखेल जगदम्बा निर्माणले सडक मर्मत गरिरहेका छन् । बित्थडदेखि बाग्थलासम्म मुनाल कन्स्ट्रक्सन र बित्थडदेखि झोतासम्म ग्याभ ग्लाल्लेख जेभीले सडक मर्मत गरिरहेका छन् । त्यसतै, बाग्थलादेखी चैनपुरसम्मको रिसोलिङ गर्ने जिम्मा जलजला निर्माण सेवाले लिएको छ ।

 

यस्तै, झोतादेखि चैनपुरसम्म कुमार श्रेष्ठ निर्माण सेवाले सडक मर्मत तथा कालोपत्रे गरिरहेको छ । जागृत्ति निर्माण सेवाले बाग्थलादेखि चैनपुरसम्म आरसीसी ढलान, नाली निर्माण, मोड चौडा पार्ने र पर्खाल निर्माणको काम गरिरहेको छ । 

 

यी सबै कम्पनीले ग्वाल्लेख निर्माण सेवाबाट काम गरिरहेको सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर बर्खबहादुर कठायतले बताए । 


इन्जिनियर कठायतका अनुसार यसअघि १० करोड ९९ लाख रुपैयाँ सडक स्तरोन्नतिमा खर्च गरिसकेको ग्लाल्लेख निर्माण सेवाले अझै १५ करोड ४७ लाख बराबरको काम गर्न बाँकी छ । अन्य निर्माण कम्पनीबाट पनि ६ करोड ३२ लाख रुपैयाँको काम हुन बाँकी रहेको छ ।