close

रामग्रामको केरवानीमा आधुनिक बसपार्क बन्ने

रामग्रामको केरवानीमा आधुनिक बसपार्क बन्ने

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ केरवानीमा बसपार्क शिलान्यास गरिएको छ । सहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वय इकाइ चितवनको लगानीमा निर्माण हुन लागेको आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले शिलान्यास गरे ।

 

५ करोड ६५ लाख रुपैयाँ लागतको आधुनिक रामग्राम बसपार्कको ठेक्का समीर कन्स्ट्रक्सन परासीले ३ करोड १९ लाख रुपैयाँमा लिएको हो । बसपार्क निर्माण २०७८ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

 

नगरपालिकामा स्थायी बसपार्क नहुँदा परासी बजारको बुद्धचोकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार कुरुप हुने गरेको छ । तर, अब बसपार्क बनेपछि उक्त समस्या सधैँका लागि सामाधान हुने नगरप्रमुख गुप्ताले बताए । ‘यो बसपार्क बनेपछि परासी बजारको कुरुपता हट्छ’, गुप्ताले भने, ‘बजार व्यवस्थित तथा सुन्दर देखिन्छ । रोजगारी पनि सिर्जना हुन्छ ।’ बसपार्क निर्माण योजना नगरपालिकाको प्राथमिकता प्राप्त आयोजना रहेको नगरप्रमुख गुप्ताको भनाइ छ ।


रामग्राम वडा नम्बर ४ का वडाध्यक्ष मदन यादवले बसपार्कले यातायातालाई थप व्यवस्थित गर्ने विश्वास व्यक्त गरे ।

 

२ बिघा क्षेत्रफलमा बन्न लागेको उक्त बसपार्कमा पहिलो चरण बसपार्कको कम्पाउन्डभित्र माटो फिलिङ, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, गार्ड भवन निर्माण हुनेछ भने गाडी पार्किङ स्थल, रिङरोड, फुटपाथ, वृक्षारोपण र शौचालय निर्माण गरिने रामग्राम नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिए ।


शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी, वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रकाश उपाध्याय, वडा नम्बर ६ का अध्यक्ष जितेन्द्रप्रसाद गुप्ता, उद्योग वाणिज्य संघका महासचिव गिरिराज पाण्डे, संघीय आयोजना कार्यान्वयन इकाइका प्राविधिक वीरेन्द्र मण्डललगायत सहभागी थिए ।