close

कर्णाली राजमार्गसँग जोडिँदै चिल्खाया

कर्णाली राजमार्गसँग जोडिँदै चिल्खाया

Trulli
ADVERTISEMENT

कालीकोट- कर्णाली राजमार्गमा यातायात सञ्चालनमा आएको करिब १५ वर्षपछि चिल्खाया गाउँ राजमार्गसँग जोडिने भएको छ । कर्णाली राजमार्ग र चिल्खाया तिला नदीमा पुल नहुँदा लामो समयदेखि राजमार्गसँग जोडिन सकेको थिएन ।

 

नदीपारि तिलागुफा नगरपालिकाले ३ वर्षअघि नै सडक निर्माण गरी गाउँमा मोटर पुर्‍याइसके पनि तिला नदीमा पुल नहुँदा चिल्खायामा सडक पुगे पनि गाडीको सुविधा थिएन । ३ करोड ७८ लाख रुपैयाँ लागतमा तिला नदीमाथि निर्माण भइरहेको मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेकाले चिल्खाया अब राजमार्गसँग जोडिने भएको हो ।

 

बर्खाको समय तिला नदीमा काठको पुलमा जोखिम मोलेरै ट्रयाक्टर सञ्चालनमा ल्याइए पनि हिउँदमा नदी बढेपछि राजमार्ग र चिल्खायाको सम्बन्ध टुट्दै गएको थियो । कालीकोटकै सुन्दर क्षेत्र चिल्खायालाई सडक सन्जालमा जोड्न स्थानीयले पुल निर्माणको माग गरेपछि २०७१ कांगे्रस नेता भूपेन्द्रजंग शाहीको पहलमा भौतिक पूर्वाधार कार्यालयबाट बजेट परेको थियो ।

 

नदीपारि गाउँ जाने सडक निर्माण भएको भए पनि प्रयोगमा आउन नसक्दा स्थानीयले गाडीको सुविधा पाएका छैनन् । अबको १ महिनाभित्र पुल निर्माण गरिसक्ने निर्माण कम्पनीका निर्देशक तारा शाहले बताइन् ।

 

‘उनले भनिन्, ‘पुल गत वर्षमै निर्माण गरिसक्ने योजना थियो । भौतिक पूर्वाधार कार्यालयले अहिलेसम्म भुक्तानी दिएको छैन । समयमा निर्माण सामग्री र कामदार नहुँदा केही ढिलाइ भएको हो ।’

 

तिला नदीमा पुल निर्माणपछि चिल्खाया क्षेत्रका स्थानीयको प्रमुख व्यापारिक केन्द्र नगरपालिकाको गाल्जे, नाग्म, मान्ममा उत्पादित वस्तु सहजै गाउँमा लैजान सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईंले बताए ।

 

उनले भने, ‘चिल्खायाका स्याउ, दही, दूध, खसीबोकालगायत कृषिजन्य वस्तु सहजै गाडीमा बजारमा पुग्नेछन् । यसले गर्दा स्थानीयको आम्दानीको स्रोत बढ्नेछ ।’

 

नगरपालिकाको मुख्य उत्पादन क्षेत्र चिल्खाया रहेकाले भैँसीगौँडादेखि चिल्खायासम्मको सडक निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । गत वर्ष पुल नहुँदा नदीबाटै स्काभेटर तार्दा नदीको बीचमै डुबेको थियो । गत वर्ष काठको जोखिम पुल तर्दा त्यहाँका २ बालबालिकाले ज्यान गुमाएका थिए ।

 

पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि गाउँपालिकामा विकास निर्माणको वातावरण बन्ने नगरप्रमुख रतनबहादुर शाहीले बताए । ‘तिला नदीमा पुल नहुँदा नगरपालिकाकोे सिंगो विकास निर्माणमा असर पुगेको छ’, उनले भने, ‘पटक-पटक निर्माण कम्पनीलाई समयमै पुल सम्पन्न गर्न ताकेता गरेपछि अहिले बल्ल निर्माणले तीव्र पाएको छ । आउँदो फागुनमै निर्माण सम्पन्न गरी भैँसीगौँडादेखि चिल्खामा गाडी गुड्ने छन् ।’

 

उनका अनुसार सरकार सञ्चालनको पहिलो वर्षमै नगरपालिकाका ९ वटै वडामा सडक पुर्‍याइसकिएको छ । केही ठाउँमा बर्खामा गाडी सञ्चालन हुन नसके पनि अधिकांश वडामा यातायात सुविधा पुगेको ।