close

बझाङका निर्माणाधीन खेल मैदान अलपत्र: धानखेतको हुटिङ- गोल !

बझाङका निर्माणाधीन खेल मैदान अलपत्र: धानखेतको हुटिङ- गोल !

Trulli
ADVERTISEMENT

बझाङ- बझाङमा क्रिकेट, भलिबललगायत खेलमा युवा आकर्षण बढ्न थालेको छ । पछिल्लो समय नेपाली क्रिकेट टिमले विदेशमा देखाएको प्रदर्शनबाट यहाँ युवाहरू क्रिकेट खेलतर्फ आकर्षित भएका हुन् ।

 

तर, उपयुक्त खेल मैदान र खेल सामग्री अभाव हुँदा क्षमता प्रदर्शन र प्रशिक्षण गर्न असहज भएको खेलाडीहरू बताउँछन् । बझाङ छबिसपाथिभेरा, दुर्गाथली, जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिकाका युवाहरू खेलतर्फ आकर्षित देखिन्छन् ।

 

बझाङका खेलाडीले प्रादेशिक स्तरमा उपस्थिति जनाए पनि अभ्यास खेलहरू कम भएका कारण राष्ट्रिय स्तरमा पुग्न नसकेको बताउँछन् । 

 

अभ्यास खेल खेल्नकै लागि यहाँका युवाहरू खेतमा लगाइएको बाली भित्र्याउने समय कुरिरहेका हुन्छन् । भलिबल, क्रिकेटजस्ता खेलका लागि खेलाडीको कमी नभएको तर खेल मैदान अभावले यहाँका युवाहरू पछाडि परेको केदारस्युँका दीपेन्द्र भण्डारीले बताए ।

 

यस्तै, बुंगल र जयपृथ्वी नगरपालिका वडा नम्बर ६ मा खेल मैदानका लागि काम अगाडि बढे पनि अझै पूरा नभएको स्थानीय नरेश कुँवर सुनाउँछन् ।

 

हाल संघीय बजेटमा बनिरहेको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ को क्रिकेट मैदान पनि बजेट अभावमा अलपत्र छ । संघीय सरकारको ९६ लाख रुपैयाँ बजेटमध्ये ५४ प्रतिशत रकममा शेरबहादुर बोहराको सुर्मा सरोवर निर्माण सेवाले काम गरिरहेको छ । बाँकी रहेको २० लाख रुपैयाँको पूर्वाधार निर्माणमा महेन्द्र खत्रीले काम गरे पनि मैदानक निर्माण १० प्रतिशत मात्र पूरा भएको वडाध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए ।

 

उनका अनुसार मैदान १ सय लम्बाइ र १ सय मिटर चौडाइको बनाउनुपर्ने भए पनि चौडाइ अझै ५० मिटर बाँकी छ । उक्त क्रिकेट मैदान डाँडामा बनाइन लागेको र पायक नपर्ने ठाउँमा हुँदा उपयुक्त नभएको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का रवीन्द्र खड्काले बताए ।

 

मानव बस्तीबाट टाढा र डाँडामा बनिरहेको मैदान बालुवामा पानी खन्याउनुजस्तै भएको उनको भनाइ छ । यस्तै, बुंगलमा पनि बजेट अभावमा खेल मैदान अलपत्र छ । 

 

स्थानीय तह बेखबर 


१२ स्थानीय तह रहेको बझाङमा स्थानीय तहबाट एउटा पनि खेल मैदान निर्माण नहुनु विडम्बना भएको भलिबल खेलाडी विशाल विक बताउँछन् । स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकनै नगरी सडक विस्तार गर्नु र आफू निकटका उपभोक्ता समितिलाई कनिका छरेजस्तो सामान्य नहर, खानेपानी वितरण गर्नुबाहेक अन्य कुरामा ध्यान नदिएको उनको गुनासो छ ।

 

थलाराका इन्द्र विष्ट पनि स्थानीय तहले विकास भनेको सडक, खानेपानी मात्रै हुन् भन्ने बुझेको बताउँछन् । जनप्रतिनिधिहरू धेरै पढे–लेखेका नहुँदा विकासका सूचकबारे अज्ञात रहेको बुझाइ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहको छ ।

 

मानव विकास, रोजगारीका लागि उद्योगधन्दा, शिक्षा, खेलकुद, स्वास्थ्य, पर्यटनमा जनप्रतिनिधिको ध्यान नपुगेको उनको तर्क छ ।