close

१० वर्ष अलपत्र, २ पटक शिलान्यास, अझै छैन बन्ने आश

१० वर्ष अलपत्र, २ पटक शिलान्यास, अझै छैन बन्ने आश

Trulli
ADVERTISEMENT

कालीकोट- निर्माण सुरु गरेको १० वर्षसम्म अलपत्र अवस्थामा रहेको कर्णाली करिडोर जोड्ने खुलालुको पक्की पुल निर्माणले बल्ल गति लिन थालेको छ ।

 

कर्णालीकै गौरवको आयोजना मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुल शिलान्यास गरेको झन्डै १ दशकपछि निर्माण अघि बढेको हो । 


पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालि र सडक डिभिजन कार्यालय जुम्लाको लापरवाहीले १ दशकसम्म पुल अलपत्र अवस्थामा थियो ।

 

पुलको २०६७ मा कांग्रेस नेता रामचन्द्र पौडेल र २०७१ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए । २-२ पटक शिलान्यास भएको पुलको १ दशकसम्म निर्माणले तीव्रता पाउन सकेको थिएन । 

 

१ दशकसम्म अलपत्र पुल आउँदो असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता ठेकेदारले गरेपछि स्थानीयमा आश पलाएको छ । 


सडक डिभिजन कार्यालय जुम्लाले नक्सा नदिँदा निर्माण अलपत्र गरेको परेको थियो । सडक डिभिजन जुम्लाले समयमै नक्सा नदिँदा पुल अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले दाबी गरे ।

 

उनले भने, ‘नक्सा पाइसकेपछि २०७४ देखि निर्माण सुरु गरेका थियौँ । नदीको पानी कम भएपछि हिउँदको ६ महिना काम हुने, बर्खामा पानी बढेर काम गर्न सकिएन । यसले गर्दा पनि निर्माणमा ढिलाइ भयो ।’

 

पुलको लागत १६ करोड रुपैयाँ बढी रहेको उनले बताए । मैनालीका अनुसार कोरोना महामारी नफैलिएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने योजना थियो । ‘लकडाउनले गर्दा ६ महिना काम पूर्ण रूपमा रोकियो । अब आउने असारसम्म पुल निर्माण गरिसक्छौँ’, मैनालीले भने । 

 

पुलको निर्माण अहिलेसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । पुलका लागि सबै सामग्री आइपुगेका छन् । आउँदो असारसम्म निर्माण सम्पन्न गरेर पुलबाटै गाडी गुडाउने योजनाका साथ काम भइरहेको मैनालीले दाबी गरे ।

 

उनले थपे, ‘अहिलेसम्म विभिन्न चुनौतीले गर्दा समयमै पुल निर्माण गर्न सकेनौँ । संघीय र कर्णाली प्रदेश सरकार, राष्ट्रिय योजना आयोगको साथ पाएपछि पुल निर्माणले गति लिएको छ । हामीले पनि सोहीअनुसार काम गरेका छौँ ।’

 

नदीबाट फेरीमा गाडी तारेर यातायात सञ्चालन 

 

पुल नहुँदा नदीमा फेरीबाट गाडी तारेर कर्णाली करिडोरमा यातायातका साधन सञ्चालनमा छन् । फेरीबाट तारेरै करिडोरमा चलिरहेका गाडीले महँगो भाडा लिने हुँदा यात्रुले सास्तीमाथि सास्ती छ ।

 

नेपालगञ्ज, सुर्खेतलगायत ठाउँबाट आएका गाडी जितेबजार झरेर झोलुंगे पुलको यात्रापछि करिडोरमा अर्को गाडी फेर्नुपर्ने बाध्यता छ । यसले गर्दा स्थानीयलाई खाद्यान्नलगायत सामग्री गाउँसम्म पुग्दा महँगो मूल्यमा किन्नैपर्ने अवस्था छ ।

 

स्थानीय हाटबजार जितेको पुलबाट तेलका ड्रमदेखि विभिन्न सामग्री मजदुरमार्फत ढुवानी गर्नुपर्दा थप महँगो हुने गरेको छ । पुल निर्माणपछि यहाँका ३ जिल्लाबासीले सहज रूपमा यातायात साधनको सुविधा लिन सक्नेछन् ।