close

३ दशकदेखि अलपत्र सुनथराली विमानस्थल 

बल्ल निर्माणले लियो गति

३ दशकदेखि अलपत्र सुनथराली विमानस्थल 

बल्ल निर्माणले लियो गति

Trulli
ADVERTISEMENT

कालीकोट- ३ दशकसम्म अलपत्र अवस्थामा रहेको कालीकोटको सुनथराली विमानस्थल निर्माणले गति लिएको छ । परीक्षण उडानमै सीमित रहेको बेवारिसे अवस्थाको विमानस्थल कालोपत्रे सुरु भएको हो ।

 

निर्माण सुरु भएको ३ दशक बित्न लाग्दासमेत परीक्षण उडानमै सीमित यो विमानस्थल गौचरनको रूपमा परिणत थियो । कालीकोटका नागरिक अभियन्ता, सभासद् र स्थानीयको पटक-पटकको दबाबपछि विमानस्थलको कालोपत्रे सुरु गरिएको हो ।
 

विमानस्थल निर्माण आयोजना प्रमुख पदमबहादुर खड्काका अनुसार विमानस्थलको घेरबार, धावनमार्ग निर्माण गर्ने काम सकिइसकेको छ । ‘विमानस्थल कालोपत्रे सुरु गरेका छौँ । निर्माणमा अवरोध नभए आउँदो वैशाखसम्म विमानस्थलको काम सकाएर हस्तान्तरण गर्ने तयारी छ ।’ 


गौरी पार्वती श्याम एन्ड शंकर जेभीले सुनथराली विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । १२ करोड ३५ लाख रुपैयाँको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियो । 

 

गत २९ माघ २०७३ मा परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । नियमित उडानका लागि अब धेरै समय कुर्ने नपर्ने आयोजना प्रमुख खड्काले दाबी गरे ।


‘आउँदो वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँँ’, प्रमुख खड्काले भने, ‘स्थानीयले निर्माणमा केही अवरोध गरेका छन् । यसको सहजताका लागि गाउँपालिकाले सहयोग गरिरहेको छ । सुनथराली विमानस्थलको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेकोे छ ।’


आउने वैशाखसम्म काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।


लामो समयसम्म बेवारिसे बनेको विमानस्थल स्थानीयको खेल मैदान र वस्तुभाउ चर्ने गौचरनमा परिणत भएको थियो । विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठाउँमा परिणत भएको थियो ।

 

अब भने विमानस्थल कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी छन् । स्थानीय नेत्र विष्टले भने, ‘लामो समयदेखि बन्द विमानस्थलमा अहिले आएर कालोपत्रेको काम सुरु हुँदा खुसी छौँ । परीक्षण उडानमै सीमित रहेको विमानस्थल कालोपत्रे भएपछि जहाज चढ्ने सपना पूरा हुने आश छ ।’ 

 

तत्कालीन सशस्त्र माओवादीका कारण विमानस्थल निर्माणका क्रममा २०५८ मा स्थानीय ३५ जना कामदारको मृत्यु भएको थियो । त्यसबेलादेखि यो विमानस्थल निर्माण बन्द थियो ।


२०६३ को निर्वाचनमा यहाँका सांसदहरूले पहल गरेपछि केही समय निर्माण सुरु भएको थियो । तर, २ वर्ष काम गरिसकेपछि ठेक्का रद्ध गरी निर्माण फेरि बन्द भएको थियो ।

 

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले २०७३ मा पहिलो पटक परीक्षण उडान गर्दा जहाज चढ्न पाउने आशमा रहेका यहाँका नागरिक पुनः निराश बनेका थिए ।