close

गुल्मीमा ७१ प्रतिशत निजी आवास पुनर्निर्माण

गुल्मीमा ७१ प्रतिशत निजी आवास पुनर्निर्माण

Trulli
ADVERTISEMENT

गुल्मी- भूकम्प गएको ६ वर्षमा गुल्मीमा ७१ प्रतिशत मात्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ । गुल्मीमा भूकम्पबाट क्षति पुगेका ३ हजार २० घर पुनर्निर्माण भएका छन् । कुल ५ हजार २९ लाभग्राहीमध्ये ४ हजार ५ सय ६८ जनाले मात्रै पुनर्निर्माणको सम्झौता गरेका थिए । 

 

सम्झौता गरेकै शतप्रतिशत अर्थात् ४ हजार ५ सय २९ जनाले पहिलो किस्ता लगेका छन् भने ३ हजार ५ सय ९९ जनाले दोस्रो र ३ हजार २० जनाले अन्तिम किस्ता प्राप्त गरेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन) पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए ।

 

जिल्लामा भूकम्पले सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकामा क्षति पुर्‍याएको थियो । कालीगण्डकीमा ८० प्रतिशत निजी आवास पुनर्निर्माणको काम सकिएको छ । १ हजार १ सय ३४ लामग्राहीमध्ये १ हजार ९४ जनाले सम्झौता गरेका थिए । यसमा १ हजार ९४ ले पहिलो, १ हजार १३ ले दोस्रो र ८ सय ८० जनाले तेस्रो किस्ता प्राप्त गरेको रिजालले बताए ।
 
यस्तै, प्रबलीकरणबाट पुनर्निर्माणका लागि २ सय २६ र पुनर्निर्माणबाट प्रबलीकरणमा ८ जनाले लाभग्राही परिवर्तन गरेका छन् । जोखिमयुक्त लाभग्राहीअन्तर्गत धुर्कोटमा १८ र मदानेमा ३२ घरपरिवारलाई एकीकृत बस्ती निर्माण भइरहेको छ ।

 

त्यसका लागि पहिलो र दास्रो किस्ता वितरणको काम भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन) पूर्वाधार विकास कार्यालय गुल्मीका लेखा अधिकृत दधिराम मरासिनीले जानकारी दिए । 

 

पुर्तिघाट-फोक्सिङ-ग्वाघा-शान्तिपुर १२.३५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । यसको सम्झौता रकम १२ करोड २४ लाख ३५ हजार २ सय २१ रुपैयाँको छ ।

 

सडक पुलअन्तर्गत ३ करोड ३२ लाख ६३ हजार ५ सय ६४ रुपैयाँको लागतमा १५ मिटरको लुङखोला पुल निर्माण गरिएको मरासिनीले बताए । जिल्लामा जग्गा विवादका कारण विश्व शान्ति गुम्बाको काम हुन सकेको छैन ।

 

गुम्बाका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कार्यालयले निजी आवास पुनर्निर्माणमा ६३.७० प्रतिशत र सडक तथा पुल निर्माणमा ३७.४० प्रतिशत वित्तिय प्रगति गरेको जनाएको छ । 

 

गुल्मीमा ३१३ वटा विद्यालय भूकम्पबाट प्रभावित थिए । अहिले १२४ विद्यालय निर्माण भएका छन् । ४३ वटा विद्यालयमा सुविधासम्पन्न शौचालय र ८ विद्यालयमा खानेपानी योजना सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।

 

६२ वटा विद्यालयका २ सय ९ कोठा, ३४ वटा विद्यालयमा सुविधासम्पन्न शौचालय र ३४ वटा विद्यालयमा खानेपानी योजना निर्माणको काम भइरहेको पन्थीले बताए । अझै १ सय २७ विद्यालयको ७५४ कोठा निर्माण बाँकी छ ।

 

जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत १३ स्वास्थ्य चौकी र गुल्मी अस्पताल निर्माण हुँदै छ । त्यसमध्ये २ स्थानमा जग्गा प्राप्ति बाँकी एवं २ वटाबाहेक अरू सबै स्वास्थ्य चौकी र अस्पतालको टेन्डर भएर काम अगाडि बढेको छ ।

 

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले पुनर्निर्माणको विषय आशलाग्दो भएको बताउँदै भूकम्पले भौतिक संरचनामा ठूलो क्षति हुँदा पनि सबै ठाउँमा एकै किसिमको निजी आवास निर्माण आचारसंहिता कार्यान्वयन नहुनु दुखद पक्ष भएको प्रतिक्रिया दिए । 

 

एमाले नेता गणेश श्रेष्ठ, माओवादी केन्द्रका नेता वीरबहादुर कार्की र जसपा नेता घनश्याम पाण्डेयले जिल्लामा पुनर्निर्माणको विषय सन्तोषजनक रहे पनि भुक्तानीको झन्झटिलो प्रक्रियाले नागरिकले सास्ती पाएको बताए ।

 

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्याल आफूहरूले सञ्चालन गरेका कुनै पनि कार्यक्रम र योजना बेवारिसे नहुने दाबी गरे । प्राधिकरणमार्फत पुनर्निर्माणसँगै सचेतना, जनशक्ति निर्माण, क्षमता विकास, प्रविधि प्रयोग, प्रबलीकरण, एकीकृत बस्ती निर्माणमा काम गरेको उनले जानकारी दिए ।

 

टुटेका पुरातात्त्विक सम्पदा फर्काउनेदेखि शिक्षा र स्वास्थ्यका थुप्रै नयाँ संरचना निर्माण गरिएको उनको भनाइ छ । ‘क्षमताको हिसाबले भूकम्पपछिको पुनर्निर्माणमा उलेख्य प्रगति गरेका छौँ,’ उनले भने, ‘नेपालको काम देखेर बाहिरी मुलुकले समेत प्रशंसा गरेका छन् ।’

 

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गुल्मीका भूकम्पपीडितले पुनरावेदन गरेका समस्यामा प्राधिकरण गम्भीर नभएको बताए । करिब साढे ३ सय जनाले पुनरावेदन गरेकामा १३ जनाको मात्रै फैसला हुनु प्राधिकरणको कमजोरी भएको पराजुलीको बुझाइ छ ।

 

प्राविधिक नआउँदै घर बनाएकाहरूलाई पनि प्राधिकरणले अन्यायमा पार्ने काम गरेको उनले बताए । ‘घरबास नभएका नै वास्तविक भूकम्पपीडित हुन् । उनीहरूले प्राविधिक पर्खने अवस्थै थिएन,’ उनले भने, ‘अहिले विभिन्न बहानामा ती व्यक्ति नै अनुदानबाट वञ्चित छन् ।’