close

बलेवाको नारायणस्थानमा बन्यो प्रि-आइसोलेसन

बलेवाको नारायणस्थानमा बन्यो प्रि-आइसोलेसन

Trulli
ADVERTISEMENT

बागलुङ- बलेवास्थित बागलुङ नगरपालिका वडा नम्बर १४ मा ४ शय्याको प्रि-आइसोलेसन निर्माण गरिएको छ । रुघाखोकी र ज्वरोको लक्षण देखिइरहेकाले वडा कार्यालयले प्रि-आइसोलेसन बनाएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

 

यहाँ अझै ३३ जना कोरोनाका सक्रिय संक्रमित छन् । लक्षण देखिएका तर तत्काल अस्पताल लैजाने अवस्था नभएका बिरामीलाई प्रि-आइसोलेसनमा राखेर उपचार गराउने व्यवस्था गरिने खत्रीले जानकारी दिए ।

 

तत्कालीन गाविस कार्यालय रहेको घरमा ४ बेड राखेर पहिलो चरणको काम थालिएको हो । ‘सामान्य समस्या देखिएकालाई उपचार गर्न १ जना डाक्टर र केही नर्सको व्यवस्थापन गर्दै छौँ,’ खत्रीले भने, ‘एमडी पढ्न बिदामा बसेका डा. प्रकाश कार्कीले समय दिएकाले प्रि-आइसोलेसन सञ्चालनमा सहज भएको हो ।’ कम्तीमा २ जना स्टाफ नर्स वा अनमीको व्यवस्था गर्न लागेको उनले बताए । 

 

वडाबाट नियुक्ति पाएका स्वास्थ्यकर्मी सामान्य सेवा-सुविधा मात्रै पाउने स्वयंसेवी हुनेछन् । बागलुङस्थित धौलागिरि अस्पताल लग्नुपर्ने भए उक्त प्रि-आइसोलेसनबाट पठाइने उनको भनाइ छ ।

 

‘१-२ जना बिरामीलाई यहीबाट पठायौँ । प्रारम्भिक उपचार पाएकाले बागलुङ पुगेपछि निको हुँदै छन्,’ खत्रीले भने, ‘लक्षण देखिएका बिरामीको खोजी भइरहेकाले उनीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिइरहेका छौँ ।’

 

नगरपालिकामा जानकारी गराएर अझै व्यवस्थित बनाउन खोजे पनि नगरप्रमुखले जोखिम नउठाउन आग्रह गरेपछि खत्रीले एकल प्रयास गरेको बताए । 

 

‘धेरै सकिएन तर ४ वटा बेड भए पनि तत्काल बागलुङ पठाउनुपर्नेको पहिचान गर्न सजिलो होला भनेर यो काम गरियो,’ खत्रीले भने, ‘घरभित्रै बसाल्न सकियो भने १ सातामा सबै निको पार्न सकिन्छ ।’ छिमेकी वडामा भोजभतेरले धेरै बिरामी भएको थाहा पाएपछि आफ्नो वडा ठप्प बनाउन लगाएको उनले सुनाए ।