close

बाढीले बगायो त्रियुगा नदीको निर्माणाधीन शिवाई पुल 

बाढीले बगायो त्रियुगा नदीको निर्माणाधीन शिवाई पुल 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाई–बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुल बाढीले बगाएको छ ।निरन्तर परेको वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले निर्माण भई सञ्चालनको तयारीमा रहेको मोटरेबल पक्की पुल शनिबार बाढीले बगाएको छ । 

 

३ सय ७ मिटर लम्बाइको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाईपट्टि रहेको दोस्रो पिलर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको छ । शिवाईपट्टिको पहिलो र दोस्रो पिलर भासिएपछि एउटा स्लाब नदीमा झरेर क्षतविक्षत भएको छ । 

 

बाढीले स्लाप बगाउँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाईका ४८ वर्षीय अख्तर मियाँ रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

 

११ वर्ष लगाएर निर्माण गरिएको उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित शिवाई–बेल्ही जोड्ने पुल निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको बेला शिवाईपट्टिको पहिलो र दोस्रो स्ल्याव जोड्ने पिलर धसिएपछि पुल क्षतिग्रस्त भएको छ ।

 

आर्थिक तथा प्राविधिक समस्याले वडा नम्बर ५ शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बन्न ११ वर्ष लागेको हो । २०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थपेर बल्ल हस्तातरण गरी सञ्चालनको अन्तिम तयारीमा रहेका बेला बाढीले बगाएको हो । अन्तिम पटक थपिएको म्यादपछि पुल निर्माण सम्पन्न भई केही दिनमै सञ्चालनको तयारीमा थियो । 

 

‘पुलसँग सडकलाई जोड्ने दुई छेउमा बाँध निर्माण सकिएकाले असारभित्रै हस्तान्तरण गर्ने योजना रहेका बेला बाढीले पुल क्षतिग्रस्त बनायो’, गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले भने । 

 

निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंका प्रतिनिधि केदारप्रसाद तिम्सिनाका अनुसार ७.७५ मिटरको मात्र पिलर भएकाले पुल धसिएको हुन सक्छ । 

 

पुल निर्माण गरिएको स्थानमा ९ मिटरसम्म बालुवा भएको तर ढिजाइनचाहिँ ७.७५ मिटर मात्र छ । शिवाईपट्टिको २ वटा पिलर धसिएको र एउटा स्लाप झरेर बगेकाले करिब ३ करोड रुपैयाँ बढीको क्षति भएको उनले बताए । 

 

तिम्सिनाका अनुसार बालाजु काठमाडौंका स्वायल ट्रेस्ट गर्ने कन्सल्टेन्ट कम्पनीले गलत गरेकाले निर्माणमा ढिलाइ हुँदै आएको र सडक विभागले कन्सल्टेन्सीले दिएको रिपोर्टअनुसार ओपल फाउन्डेसन असफल भएपछि पुनः दोस्रो डिजाइनमा काम गरेकाले ढिलाइ भएको हो ।

 

विभागले कन्सल्टेन्सीले दिएको रिपोर्टअनुसार ओपन फाउन्डेसनमा काम गर्ने गरी ठेक्का लगाएकामा काम गर्ने क्रममा ओपन फाउन्डेसन असफल भएपछि पुनः डिजाइन गर्न डेढ वर्ष लागेको थियो ।

 

पुल निर्माणको सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट–दिक्तेल सडक आयाजनाले गर्दै आएको छ । ढिलै भए पनि पुल निर्माण भएकामा स्थानीय खुसी थिए ।
पुल निर्माणको ठेक्का महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कंलकीले लिएको थियो ।

 

तर, सुरुमा ठेक्का लिएको कम्पनीले पछि आफूले काम नगरेर अन्यलाई जिम्मा दिँदा ढिलाइ भएको थियो । ‘आर्थिक र प्राविधिक कारणले काममा ढिलाइ भएको हो । विशेषगरी पानीको सतहमुनि भएको ठूल्ठूला रूखका कारण ३ वर्षसम्म काममा अवरोध भएको थियो । तर, पछि निर्माण सम्पन्न गरेका थियौँ । अहिले बाढीको चपेटामा परेको छ’, तिम्सिनाले भने ।

 

पुलको लागत करिब ११ करोड २७ लाख रुपैयाँ रहेको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए । पुल निर्माणमा ढिलाइ गरेका कारण निर्माण कम्पनी महालक्ष्मी÷लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड रुपैयाँ जरिमानासमेत गरिएको थियो ।