close

सधैँ सास्ती दिने मध्यपहाडी लोकमार्ग : हिउँदमा भान्सामै पुग्छ सडकको धुलो, बर्खामा हिलोको रजगज

सधैँ सास्ती दिने मध्यपहाडी लोकमार्ग : हिउँदमा भान्सामै पुग्छ सडकको धुलो, बर्खामा हिलोको रजगज

Trulli
ADVERTISEMENT

बागलुङ– हिउँदमा सडकमा उड्ने धुलो भान्सामै पुग्छ । खान थालेको गासससमेत धुलोबाट जोगाउन हम्मे हुन्छ । बर्खाको समय हिलाम्मे हुने सडकमा पैदल यात्रा गर्न निकै कठिन । खेतीपातीको काम र घाँसदाउरा गर्न आउजाउ त गर्नै नसकिने । 

 

स–साना बालबालिका विद्यालय पठाउन सडकमै लड्छन् कि भन्ने त्रास अभिभावकलाई हुन्छ । वयस्कसमेत धानिएर हिँड्न कठिन सडकले सताउन थालेको वर्षौं भइसकेको छ ।

 

मध्यपहाडी लोकमार्गले फन्को हालेको बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ बिहुँका सर्वसाधारणको समस्या हो, यो ।

 

बिहुँमा कच्ची सडक निर्माण भएको २२ वर्ष भयो । २०५६ मा एसियाली विकास बैंकले निर्माण गरेको कृषि सडक अहिले मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएको छ । मध्यपहाडी लोकमार्ग बनेको १२ वर्ष बितिसक्दासमेत सडकको अवस्था जस्ताको तस्तै छ । 

 

‘मैले जागिरे जीवनको आधा समय यहीं बाटोको हिलो र धुलोसँग पौँठेजोरी खेलेर बिताएँ,’ भीमसेन माविका पूर्वशिक्षक शिवलाल कँडेल भन्छन्, ‘कालोपत्रे हुन्छ भनेको पनि वर्षौं भयो । नाली बन्छ भत्किन्छ । सडकमा पानी बगिरहन्छ ।’

 

लोकमार्ग समयमा निर्माण सम्पन्न नहुँदा बिहुँबासीलाई निकै सास्ती छ । सडकमा बगेको लेदोसहितको पानी खेतबारी र घरगोठमा समेत पस्ने गरेकाले वर्षामा थप सास्ती हुने गरेको कँडेलले सुनाए ।

 

बिहुँमा मात्रै लोकमार्गको १५ किमि सडक छ । ठाउँ–ठाउँमा घुम्ती र सडक नालीको पानी उचित व्यवस्थापन नभएका कारण यहाँका बस्ती जोखिममा छन् ।

 

हिउँदको समय धुलोले ढाकेर आसपासमा रहेको जंगलको घाँस पशु चौपायाले खाँदैनन् भने वर्षाको समयमा भलबाढीका कारण बालीनालीमा क्षति हुने गरेको स्थानीय किसान गुरुप्रसाद कँडेलले बताए ।

 

‘२२ वर्षदेखि हिलो र धुलोले उमेर नै घटाइरहेको छ । सडक समयमा बनाउन नसके कम्तीमा पानी तर्काइदिए हुन्थ्यो,’ कँडेल भन्छन्, ‘बिहँुपारिको सडक कालोपत्रे भइसक्दासमेत हाम्रोमा भएन ।’

 

सडकका कारण बाह्रै महिना उकुसमुकुसमा बस्नुपरेको स्थानीयको गुनासो छ । कतिपयले त बाढीपहिरोको त्रासका कारण गाउँ नै छाड्न थालेका छन् । ‘यो सडक चक्लाउने काम पनि एकै पटक गरे हुने । हरेक वर्ष माटो खन्दा पहिरोको जोखिम छ । सडक कामै नलाग्ने भयो,’ स्थानीय डिलप्रसाद कँडेलले भने ।

 

मध्यपहाडबाट आउने भलबाढीका कारण स्थानीय सडकमा ठूलो क्षति पुग्ने गरेको छ । ४ वर्षअघि यही सडकका निर्माणका क्रममा जमिनमा क्षति पुगेर काउलेको बस्ती नै भासिएको थियो ।

 

भूकम्प पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा काउलेका १४ परिवारलाई सुरक्षित स्थानमा घर बनाएर राखिएको गाउँपालिका अध्यक्ष अमर थापा बताउँछन् ।

 

‘समयमा लोकमार्गको काम नहुँदा बिहुँ मात्रै होइन, सिंगो गाउँपालिका प्रभावित छ,’ थापाले भने, ‘हामीले बनाएका संरचनामा समेत लोकमार्गबाट आउने बाढी–पहिरोले क्षति पुर्याउने गरेको छ ।’ 

 

लोकमार्गको २ खण्डमा निर्माणको जिम्मा लिएका कम्पनीले म्याद थप्ने समय मात्रै काम गर्ने र अरू बेला विभिन्न बहाना बनाएर काममा ढिलासुस्ती गर्दै आएका छन् ।

 

बागलुङ बजारदेखि सुल्डाँडासम्मको १३ किमि खण्ड सिद्धिसाई भारत संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । बाँकी १२ किमि खण्ड सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएर स्तरोन्नतिको काम गरिरहेको छ । 

 

निर्माण कम्पनीले भने कोरोना महामारी, वर्षा, स्थानीयको अवरोधलगायतका समस्या देखाउने गरेका छन् । लोकमार्ग आयोजना कार्यालयले भने काम भइरहेकाले स्थानीयका माग र समस्या सम्बोधन हुँदै जाने जनाएको छ । 

 

सडकको काम समयमा नभएको भन्दै पछिल्लो पटक स्थानीय युवाले निर्माण कम्पनीलाई सर्वसाधारणको तहबाट कारबाहीको चेतावनी दिन थालेका छन् ।