close

लामो समयसम्म सुसार नपाएको पार्कको फेरिँदै छ मुहार

लामो समयसम्म सुसार नपाएको पार्कको फेरिँदै छ मुहार

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङ नगरपालिका वडा नम्बर १ बाँगेचौरमा रहेको सहिद स्मृति पार्कलाई मध्य भागबाट चिरेर पर्वत जोडेको संसारकै लामो झोलुंगे पुल । कोरोना महामारी नहुँदो हो त यतिबेला पुल घुम्न आउनेको पार्कमा बाक्लो उपस्थिति हुन्थ्यो । पार्कको पश्चिमतर्फ रहेको नेपालकै प्रसिद्ध कालिका मन्दिर दर्शनका लागि आउने पार्कमै पुग्थे ।


पुल निर्माणपूर्व सहरी कोलाहालबाट मुक्तिका लागि पार्कमा पुग्नेको ठूलो लर्को थियो । पार्कको बीच भागमा रहेको पोखरी वर्षाको पानी जम्मा भएर लामखुट्टे उत्पादन गर्ने केन्द्र मात्रै थियो । आसपासका बिरुवा मरेर सुठो परेका थिए ।


लामो समय सरोकारवालाको नजरमा नपरेको पार्कले सास फेर्न थालेको छ । उद्यानमा रहेको फोहोरको डंगुर व्यवस्थापन भएको छ । उद्यान छेवैबाट बग्ने बजारको फोहोर बोकेको नाली व्यवस्थापन भएको छ । 

 

‘पार्क नजिकै रहेको सडक नाली हुँदै यहाँ बग्ने नालीको व्यवस्थापन गरेका छौँ,’ बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले भने, ‘यो वर्ष पार्कलाई सुन्दर बनाउने घोषणाअनुसारको काम भइरहेको छ ।’ 

 

सहरी जीवनको कोलाहलबाट बालबालिका तथा वृद्धका लागि शान्ति दिने उद्देश्यले २२ वर्षअघि रामरेखा सामुदायिक वनसँग सहकार्य गरेर तत्कालीन नगरप्रमुख ऋषिराम शर्माले यो पार्क बनाएका थिए । 


निर्माणपछि लामो समय सुसार नपाएको पार्कले अहिले मुहार फेर्न थालेको छ । पार्कमा रहेको पोखरी र आसपासमा रहेका सहिदका सालिकलाई मर्मत तथा रङरोगन गर्ने काम भइरहेको इन्जिनियर मनोज शर्माले जानकारी दिए ।


पार्कको सुरक्षाका लागि रिटर्निङ वाल लगाउने काम भइरहेको छ । पार्कभित्रै पैदल हिँडडुलका लागि १८० मिटरको पदमार्ग निर्माण भइरहेको शर्माले बताए । ‘फूलका बिरुवा र दुबो रोप्न १६ लाख रुपैयाँ खर्च हुँदै छ,’ शर्मा भन्छन्, ‘पार्कको सौन्दर्यकरणको काम भइरहेको छ ।’ 

 

वन तथा भू-संरक्षण विभागको सहरी वन विकास कार्यक्रमअन्तर्गत हरियाली प्रवद्र्धन कार्यक्रममा सहकार्य गरेर यो पार्कको सौन्दर्यकरण गरिएको हो । ४१ लाख रुपैयाँ खर्चेर पार्कलाई सुन्दर बनाउन कुल स्टिमेटको ३० प्रतिशत नगरपालिकाले साझेदारी गरेको नगरप्रमुख पौडेलले बताए । 

‘पहिले प्रभु बैंकले जिम्मेवारी लिएर पार्कको मर्मत थालेको थियो । केही अवरोधका कारण लामो समय काम हुन सकेन,’ पौडेलले भने, ‘पछिल्लो समय पार्कको मध्य भागबाट लामो पुल बनाउँदा केही समय पार्कको उपयोग भएन ।’ पुलका कारण २ भागमा विभाजन भएको पार्क बागलुङको पर्यटनसँग जोडिने उनको विश्वास छ ।