close

पहिरोको जोखिम घटाउन सडकमा सावधानी 

पहिरोको जोखिम घटाउन सडकमा सावधानी 

Trulli
ADVERTISEMENT

बागलुङ- बर्सेनि पहिरोका कारण हुने क्षति कम गर्न जिल्लाको काठेखोला गाउँपालिकाले सडक निर्माणमा सावधानी अपनाउने भएको छ । नयाँ सडक निर्माण एवं स्तरोन्नति गर्दा संरचना निर्माण र वृक्षारोपणलाई जोड दिन लागिएको हो ।


बाढीपहिरोको जोखिम रहेको क्षेत्रमा सडक निर्माण गर्दा वातावरणमैत्री सडक निर्माण गर्ने नीति गाउँपालिकाले बनाएको अध्यक्ष अमर थापाले बताए । प्रविधि प्रयोग गरेर नयाँ सडक बनाउँदा पहिरोको जोखिम बढेको भन्दै गाउँपालिकाले सडक बनाउँदा संरचना निर्माणलाई अनिवार्य गरेको छ ।

 

पहिरो नियन्त्रणका लागि वृक्षारोपणलाई सँगै अघि बढाइएको थापाले बताए । ‘सडक निर्माण गर्दा पर्यावरणीय रुपबाट वातावरणमा प्रतिकूल असर पर्ने भएकाले हामीले सुरुदेखि नै त्यस्तो कार्यलाई सकेसम्म निरुत्साहित गर्न प्रयत्न गरिरहेका छौँ,’ थापाले भने, ‘आगामी आवमा पनि गाउँपालिकाले अवलम्बन गरेको मार्गदर्शनबमोजिम स्थानीय स्रोत, जनशक्ति, साधन र जनसहभागिता परिचालनमा विशेष जोड दिई रोजगारी सिर्जना गर्ने योजना सञ्चालनमा ल्याइनेछ ।’ 

 

काठेखोलामा नयाँ सडक भत्काउने काम बन्द भएको थापाको दाबी छ । भएका सडकको स्तरोन्नतिमा समेत वातावरणमैत्री योजना बनाउनुपर्नेछ । ‘गत वर्षमा ५० प्रतिशत संरचना निर्माण नगर्ने योजनाले भुक्तानी पाएनन्,’ थापाले भने, ‘यो आवमा ६० प्रतिशत संरचना निर्माण अनिवार्य गर्ने योजना छ ।’ संरचना बनाउँदा बाढीपहिरोको जोखिम कम हुने, सडक बलियो हुने र स्थानीयले रोजगारी पाउने गाउँपालिकाको विश्वास छ । 


ग्याबिन लगाउने, मेसिनरी वाल बनाउने, सडक नाली बनाउने, माटोको व्यवस्थापन गर्ने र सडक बनाएका ठाउँमा अम्लिसो, खनिमजस्ता घाँसबालीका बिरुवा लगाउने योजना गाउँपालिकाको छ ।  ‘ढुंगामाटो हामीसँग छ । त्यो भत्काउन मेसिन लगाउनुभन्दा समथर बनाउन युवा लगाउँदा गाउँपालिकामै बजेट उपयोग हुन्छ,’ थापाले भने, ‘छेउछाउको घाँसे रुखले पशुपालनमा सघाउँछ ।’

 

काठेखोलाको सबै वडामा सडक सञ्जाल पुगेको छ । गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका मुख्य सडकलाई थप स्तरोन्नति गर्न बाँकी रहेको थापाले बताए ।  चालू वर्षमा ग्राभेल, ढलान र कालोपत्रेजस्ता काम गर्न पहिलो प्राथमिकता दिइनेछ । नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिने भएकाले अब बन्ने सडक पहिरोको जोखिम लिएर नआउने थापाको विश्वास छ । 

 

यसअघि काठेखोला वडा नम्बर ७ रेशको जिरेदीमा सडक निर्माणमा भएको असावधानीकै कारण यो वर्ष पहिरोले ठूलो क्षति पुर्‍याएको छ भने बिहुँका दुई वडामा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गका कारण ठाउँ-ठाउँमा पहिरोको जोखिम छ ।