close

यारी खोलामा मोटरेबल पुल उद्घाटन 

यारी खोलामा मोटरेबल पुल उद्घाटन 

Trulli
ADVERTISEMENT

उदयपुर– प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले उदयपुरको भविष्यसँग जोडिएको सुनकोसी करिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 

उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ५ कुमलटारस्थित यारी खोलामा प्रदेश सरकारद्वारा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

 

मन्त्री कार्कीले सुनकोसी करिडोरलाई नयाँ ढंगबाट अगाडि बढाउन प्रदेशले संघीय सरकारसँग समन्वयका लागि तयारी थालेको जानकारी दिए । ‘सुनकोसी करिडोर यस क्षेत्रको समृद्धिको मूल आधार रहेकाले यसलाई अगाडि बढाउन संघीय सरकारसँग समन्वय गरिरहेका छौँ’, उनले भने । 

 

मन्त्रालयका सचिव लगाएत इन्जिनियरको टोलीसहित पुल उद्घाटन गर्न पुगेका कार्कीले उदयपुरको भूगोल सुगम नरहेकाले विकटतालाई हेरेर बजेट विनियोजन गर्न उनले आग्रह गरे । मन्त्रीको जिल्ला भनेर उदयपुरमा बजेट हाल्न दबाब नदिए पनि यस क्षेत्रको विकटतालाई हेरेर बजेट विनियोजन गर्न सचिवलाई ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

 

उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ५ स्थित यारी खोलामा करिब ८ करोड ७४ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश १ ले जनाएको छ । बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडकअन्तर्गत पर्ने यो पुल निर्माणपछि ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका साथै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

 


६ चैत ०७६ मा प्रदेश सांसद कला घलेले शिलान्यास गरेको पुल कोभिड महामारीकै समय एएनएस केएम जेबी/एनएस जेभी काठमाडौंले १८ महिना लगाएर निर्माण गरेको मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए ।