close

फुटपाथ कसका लागि ?

Trulli
ADVERTISEMENT

काठमाडौँ । नयाँ बानेश्वरको फुटपाथमा हिँड्दा हिँड्दै सडकमा पुगेको रेशम थापाले पत्तै पाएनन् । गाडीले हर्न बजाएको सुन्ने बित्तिकै उनी झसङ्ग भए अनि मात्रै सडकमा पुगिसकेको थाहा पाए । 

कामको दौडानमा नयाँ बानेश्वरको थापागाउँ पुगेको उनी फुटपाथ साघुँरो र भएका पुटपाथमा पनि पसल राखिएकाले फुटपाथमा पाइला राख्ने ठाउँनै नभएको उनी बताउँछन्  ।

‘फुटपाथ सानो रहेछ, एकजना मात्रै हिड्न मिल्ने । त्यसमाथि कतै पसलका सामान त कतै घरका खम्बा छ ।’, उनले भने, ‘आफू हिँड्नलाई बाटो नै नभएपछि सडकको बाटो प्रयोग गरेँ । अलि खुला भएका फुटपाथमा पसल थापेका छन् ।’ 

नुवाकोटकी सरिता तामाङ लामो समयदेखि काठमाडौंमा बस्छिन् । सामान्य काम गर्दै रत्नराज्य क्याम्पसमा पढ्ने उनी काठमाडौंका फुटपाथ राम्रोसँग प्रयोग गर्न नपाएकोमा गुनासो पोख्छिन् । 

‘कहिलेकहीँ कामको सिलसिलामा असन बजार पुग्नुपर्छ । तर त्यहाँ ठेलमठेल गरेर हिड्नु पर्छ’, उनले भनिन्, ‘अझ बिहानको समय सडकमा बसेर माग्ने र व्यापार गर्नेहरूको लाइन हुन्छ । कोही त बाटै छेकेर बेच्न आउँछन् ।’

असनको बाटो मात्रै नभई काठमाडौंका अधिकांश पुटपाथमा हिँड्दा यस्तै समस्या भोग्नु परेको उनले सुनाइन् । 
सबै सडकमा गाडीको सुविधा नभएकोले आफू सडकको प्रयोग गर्ने गरेको उनको भनाइ छ । तर फुटपाथ सडकमा कतै बत्तीका पोल, कतै फोहोरका थुप्रो त कतै व्यापारिक थलो बनाइएकोले आफूहरू समस्यामा परेको उनको भनाइ छ ।

कुनै सडकमा बीचैमा फुटपाथ टुंगिने र बाध्य भएर सडकमा हिड्नु पर्ने उनी बताउँछिन् । ‘फुटपाथ हुँदै अनामनगरबाट जाँदै थिएँ । तर बीचैमा फुटपाथ  टुंगियो’, उनले भनिन्, ‘पछाडिबाट बाइक हुइक्काएर ल्याएको रहेछ । झण्डै हानेनन् । त्यो दिन भाग्यले बाँचेजस्तो लाग्यो ।’

नेपालको सडक मापदण्ड २०७० ले फुटपाथ सडकको मापदण्ड निर्धारण गरेको छ । मापदण्ड अनुसार फुटपाथ सडकका लागि कम्तीमा डेढ मिटर चौडाई, अपांगमैत्री र सुरक्षित हुनुपर्ने व्यवस्था रहेको छ । तर, उपत्यकाका अधिकांश क्षेत्रका फुटपाथ कतै साघुँरो छन् । कतै फराकिलो फुटपाथ सडकमा व्यावसायीले रोजीरोटी थलो, कतै बिजुलीको पोल त कतै फोहोर थुपारेर राखिएको छ । 

फुटपाथको संरक्षण गर्दै आएको महानगरको दाबी

काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्रको संरक्षण गर्दै आएको जनाएको छ । व्यापारीले मनोमानी रुपमा फुटपाथमा व्यवसाय गर्दै आएको र त्यसलाई महानगरपालिकाले हटाउँदै आएको महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले फुटपाथ संरक्षणको जिम्मेवारी महानगरको मात्रै नभई स्थानीय र व्यवसायीको समेत रहेको बताए । उनले तत्कालीन महानगर प्रमुख केशव स्थापितको पालादेखि नै फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै आएको बताए । 

उनका अनुसार फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि महानगरले खुल्ला मञ्च र भृकुटीमण्डपमा सारिएको थियो । तर फुटपाथ व्यवसायी आफैँ महानगरको आदेश अवज्ञा गर्दै सडकमा व्यापार गर्दै आएको आरोप उनको छ । 

‘फुटपाथ व्यवसायी आफैँले सोचेर आफ्नो व्यवसायलाई सार्नुपर्ने उनी बताउँछन् । हामीले दिएको निर्देशन उहाँहरू मान्नु हुन्न । अब उहाँहरू आफैँले आफ्नो व्यवसायलाई सार्नुपर्ने हो’, उनले भने । 

उता ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायीलाई समयावधि निर्धारण गरिदिएको बताएको छ । 

महानगरप्रमुख चिरिबाबु महर्जनले महानगरमा बिहान ८ बजेसम्म स्थानीयले व्यापार गर्न पाउने बताए । ‘सबैले जागिर गर्न सक्दैनन् । यहाका केही स्थानीय कृषक छन् । खेतमा उब्जाएका सामग्री बेचेर जिविकोपार्जन गर्ने अवस्था छ’, उनले भने, ‘ती व्यक्तिको लागि बिहानको समयमा व्यापार गर्न पाउने व्यवस्था गरिदिएका छौँ ।’ 

अधिकांश व्यक्ति मर्निङ वाकका लागि निस्कने भएकोले उनीहरूको सामग्री बिक्री हुने उनी बताउँछन् । तर ८ बजेपछि उनीहरू आफैँ आफ्नो सामान उठाएर फुटपाथ सडक सफा गरेर जाने महानगरप्रमुख महर्जन बताउँछन् । महानगरभित्रका फुटथापलाई नगर प्रहरीले व्यवस्थित तरिकाले राखेको उनको दाबी छ । 

साघुँरिएको सडकले बिजुलीका पोल फुटपाथमा 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सडक साघुँरिएकोले बिजुलीका पोलहरू फुटपाथमा राखिएको बताए । काठमाडौंका सडकमा लामो समयअघि नै बिजुलीको पोल राखिएको र बस्ती बिस्तार भएसँगै तारहरू अस्तव्यस्त रहेको उनी बताउँछन् । 

तार र बिजुलीको पोलको व्यवस्थापनको लागि महानगरले योजना बनाएर काम गर्दै आएको उनले बताए । तर एकैपटक सबै तारहरूको व्यवस्थापन गर्न नसकिने र विस्तारै विजुलीका पोल र तारलाई व्यवस्थित गर्ने पालिका खबरलाई उनले बताए । 

फुटपाथमा फोहोर थुप्रिएका छैनन् : नगरप्रमुख मर्हजन

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो क्षेत्रको फुटपाथ सडकमा फोहोर नथुप्रिएको दाबी गरेका छन् । महानगरका सडक सफा गर्ने अभियानमा आफू लागि परेकोले बाहिरी सडकको छेउछाउमा फोहोर नथुप्रिएको उनले बताए । 

‘हाम्रो सडक सधैँ सफा छ । दैनिक रुपमा सडक छेउछाउका फोहोरलाई उठाएर लैजान्छौँ’, उनले भने, ‘ल्याण्डफिल्डमा समस्या भए पनि हाम्रो क्षेत्रको फोहोर उठाएका छौँ ।’ भित्री सडकका केही फुटपाथमा मात्रै फोहोर थुप्रने समस्या रहेको र त्यसलाई पनि हटाउँदै आएको उनले बताए । 

महानगरप्रमुख महर्जनले सडकमा राखिएको निर्माण सामग्री पनि ६ घण्टाभित्र हटाइसक्नुपर्ने व्यवस्था रहेको बताए । उनले सोभन्दा बढी समय निर्माण सामग्री फुटपाथ वा सडकमा राखिएको पाइएमा महानगरले जरिवाना लिने गरेको बताए । 

उता काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको दाबी गरेका छन् । उनले सोका लागि महानगरले योजनागत रुपमा काम गर्दै आएको र आगामी केही दिनमा ती फोहोर उठाइने दाबी गरे।