close

गाउँमै आउँदैनन् देउवा, घरमा पलायो झार 

जिल्ला जाँदा भाडाको बास, आफ्नो गाउँमा गरेनन् विकास

गाउँमै आउँदैनन् देउवा, घरमा पलायो झार 

जिल्ला जाँदा भाडाको बास, आफ्नो गाउँमा गरेनन् विकास

Trulli
ADVERTISEMENT

डडेल्धुरा- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुख्र्यौली घर छाडेको १९ वर्ष भइसक्यो । चुनावमा  जिल्ला दौडाहाका बेला देउवा आफ्नो पुर्खाैली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (साविकको अशिग्राम गाविस) मा पुग्छन् । 

 

देउवाको एकतले पुख्र्यौली कच्ची घर २०५८ सालमा माओवादीले बम प्रहार गरी ध्वस्त पारेको थियो । १९ वर्षयता देउवाको घर जीर्णावस्थामा छ । बम प्रहारबाट क्षतिग्रस्त भएको उनको घर पुनर्निर्माणसमेत गरिएन ।

 

देउवाको घरमा अहिले झार उम्रिएको छ । सबैले देउवाको घर मात्र भन्छन् । त्यो ठाउँमा देउवाको चिनारीसम्म पनि केही देखिँदैन । गाउँमा सडक पुगेपछि खुसी भएका यहाँका नागरिक विकट ग्रामीण क्षेत्रमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने हुँदा चिन्तित छन् । 

 

‘चार पटकसम्म प्रधानमन्त्री भो । देश र जिल्लाबारे सोच्यो तर आफ्नो गाउँबारे केही सोचेन’, देउवाका कार्यकर्ताहरूको दुःखेसो उनी गाउँ गएका बेला भेट्न आउनेहरूले भन्ने गर्छन् । हालसम्म निर्वाचनको बेलाबाहेक देउवा प्रायः गृहजिल्ला फर्किंदैनन् । उसो त सभापति देउवा निर्वाचनका बेला मात्रै जिल्ला पुग्ने नेताका रुपमा परिचित छन् ।

 

जीर्णावस्थाको उनको घरमा अहिले अहिले कोही बस्दैनन् । जग्गाजमिन उनका सहोदर दाजुभाइले गर्दै आएका छन् ।  चुनावका बेला पहिलो मत खसाल्न गृहजिल्ला पुग्ने देउवासँग अरू बेला उनका दाजुभाइको समेत भेट हुँदैन । 

 

निर्वाचनका बेला आउँदा उनी डडेल्धुरा सदरमुकाममा घर भाडामा लिएर बस्ने गर्छन् । सदरमुकाम पुग्दा देउवालाई भेट्न सर्वसाधारणदेखि कार्यकर्ताहरूको लम्बेतान भीड लाग्ने गर्छ ।

 

२७ भदौ, २०५२ मा देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेलादेखि जिल्लामा थुप्रै विकास निर्माणका काम भए पनि देउवाले आफ्नो पुख्र्यौली थातथलोको विकास नगरेकोप्रति स्थानीयको चिन्ता छ । आफ्नै ठाउँको व्यक्ति ४–४ पटक प्रधानमन्त्री बन्दा पनि देउवाको पुख्र्यौली थलो भएको स्थानमा विकास पुग्न सकेको छैन । 

 

हाल काठमाडौंको बूढानीलकण्ठमा स–परिवारसहित बस्दै आएका छन् । चुनावमा थुप्रै आशा देखाउने तर चुनाव जितेपछि जिल्ला नफर्किने गरेको आरोप देउवामाथि लागेको छ । 

 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला डडेल्धुरामा देउवाको राजनीतिक उदयसँगै विकासको लहर चलेको हो । डडेल्धुरा सदरमुकामदेखि डेढ घन्टा पैदल दूरीमा रहेको देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका बासिन्दाहरू भन्छन्, ‘गाउँबासीको जीवनस्तरमा सुधार ल्याउन देउवाले थुप्रै काम गरे तर जिल्ला फर्किंदा यहाँ आउँदैनन् ।’

 

तत्कालीन समय देउवाको चुनावी एजेन्डा गाउँलेको जीवन स्तरलाई माथि उकास्न र कृषिमा आत्मनिर्भर बनाउने रहेको थियो । त्यसका लागि उनले खेत–खेतमा कुलो, घरघरमा बिजुली नारा अगाडि सारे । उनले जिल्लाबासीको मागबमोजिम धेरै ठाउँमा सिँचाइ, खानेपानी र सडकजस्ता भौतिक पूर्वाधारका विकासे आयोजनाहरू भित्र्याए ।

 

गाउँमा विद्युत् लाइन बिस्तार गरेर जिल्लाबासीलाई अँध्यारोबाट उज्यालोतर्फ डो¥याउन देउवाले भूमिका निर्वाह गरे । यहाँको धर्मसंस्कृतिको जर्गेना गर्न थुप्रै मन्दिरहरूमा बजेट विनियोजनसमेत गरे । 

 

डडेल्धुराको विकट ग्रामीण क्षेत्रमा जन्मेका देउवाले प्राथमिक शिक्षा गाउँकै अशिग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चाकोट डोटीबाट गरेका हुन् । 

 

आफू अध्ययनरत अशिग्राम प्राथमिक विद्यालयको स्तरोन्नति गरेर माध्यमिक तहसम्मको पढाइ हुन थालेपछि स्थानीय धेरै बालबालिकाले  पढ्न पाइरहेका छन् ।

 

विकट ग्रामीण क्षेत्रमा माध्यमिक तहका विद्यालय स्थापना गराउन देउवाले प्रयत्न गरेकै कारण छात्राहरूले गाउँमै अध्ययन गर्ने अवशर पाएको सामाजिक संस्था रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्का बताउँछिन् ।


 
डडेल्धुराबाट ७ पटक निर्वाचित भएर ४ पटकसम्म देशको प्रमुख कार्यकारीका रुपमा काम गर्ने अवसर पाएका देउवाले संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पतालका रुपमा डडेल्धुरा अस्पताल स्थापनामा धेरै सहयोग गरेको अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह बताउँछन् । 

 

गाउँमा मोटर बाटो स्तरोन्नति गर्ने र पक्की सडक बनाउने, डडेल्धुरामा साना तथा कुटिर उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने, पश्चिम सेतीका साथै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई कार्यान्वयनमा लैजान उनको सहयोग रह्यो ।