close

झलनाथ खनालः घर जाँदैनन्, मान्छे पनि चिन्दैनन्

झलनाथ खनालः घर जाँदैनन्, मान्छे पनि चिन्दैनन्

Trulli
ADVERTISEMENT

इलाम - मेची राजमार्गको नाम चलेको घुम्ती हो, बन्चरे गोलाई । राजमार्गमै रहेको पुवाखोला बजारसँगै पुल तरेपछिको दोस्रो घुम्ती । घुम्तीको छेवैमा छ, वरपीपलबिनाको चौतारो । यहीबाट छुट्टिन्छ, पण्डित गाउँ जाने बाटो । 


यही पण्डित गाउँ, पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मथलो हो । साविकको साँखेजुङ गाउँ विकास समिति वडा नम्बर–४ अहिले इलाम नगरपालिका वडा–१ मा पर्छ । हिलाम्मे कच्ची सडक । कतै पहिरो झर्ला, त कतै खहरेखोल्सीले बगाउला भन्ने डरसँगै करिब डेढ किलोमिटर तेर्सिएपछि पण्डित गाउँ आइपुग्छ । 


गाउँ पुगेपछि, मूल सडक छाड्नुपर्छ, सवारी साधन चल्दैनन्, पैदलै बाटो नाप्नुपर्छ । सफा र मर्मत नगरेको भिरालो गाउँको उकालो गोरेटो बाटो । केही मिनट हिँडेपछि पुरानो लाग्ने गाउँले सडक, ढिस्कना झरेर आधा पुरिएको छ ।  बाटो पुरिएको छेवैमा घरसम्म पुग्ने बाटो, बर्खाभरि पलाएको घाँस काटेर भर्खरै सफा गरिएको छ ।


वरैबाट देखिन्छ, सम्भारविहीन पुरानो घर । कालो छानामुनि लाछी तानेर नीलो जस्तापाताले छाएको छ । केही दिन अगाडि मात्र सफाइ भएको झल्को घरको आँगन टेकेपछि थाहा हुन्छ । घरको पछाडिबाट जोडेर बनाइएको कच्ची घरमा बस्दो रहेछ, झलनाथाको घरजग्गा कमाउने परिवार । तिनै परिवारले घरको रेखदेख गर्दा रहेछन् । 


घरको रेखदेख गर्ने भए पनि सधैं बन्द ढोकामा ताला लाग्दो रहेछ मूल घरमा । पुरानो टिनका मक्किएका छाना । चाँपको काठले बनेको दुई तले घर ठम्याउन उतिसाह्रो गुदी खियाउन पर्दैन । अचानक घर पुग्दा त्यहाँभित्र हेर्न पाउनुहुन्न । तला माथिको कोठा र भुइँतलाको एउटा कोठा प्रयोगमा छ । अन्य कोठा भने गोदामजस्तै छन् । 


कोरोना महामारीमा बन्दाबन्दीको समय गुजार्न आइपुगेको घरधनी पूर्पप्रधानमन्त्री खनालका कान्छा भाइ दाताराम खनालले जानकारी गराए ।  पूर्वप्रधानमन्त्री झलनाथले पहिलो पाइला सारेको घरको अहिलेको अवस्था हो, यो । मान, सम्मान, इज्जत र इतिहास हराउँदै गरेको अनुमान लगाउन बेर लाग्दैन, यो घरको वरिपरि फन्को मारेपछि । ‘यसमा प्रधानमन्त्रीको सुको पनि स्वामित्व छैन । घर हेर्न पनि आउँदैनन् । चासो पनि राख्दैनन् । स्थानीय छिमेकीले पनि खासै चिन्दैनन्’, गाउँले सांगठनिक सहयात्री बुद्धिनाथ लुइँटेलले सुनाए ।


दाजुभाइको अंशबन्डामा कान्छा भाइ दाताराम खनालको कित्तामा परेको छ, योे घर । यहाँ बसेर पूर्वप्रधानमन्त्री झलनाथले मेलापात, घाँसदाउरादेखि जीवनको पहिलो अक्षराम्भ गर्दै कक्षा ७ सम्म अहिलेको जनता आधारभूत विद्यालयमा अध्ययन गरे । यसलाई तत्कालिकन समय साँखेजुङ मिडिल स्कुलको नामले चिनिन्थ्यो । 


‘प्रधानमन्त्रीको नाम मात्रको घर, संरक्षण सम्वर्द्धन र विकासमा कसैको चासो छैन । अब इतिहासमा सीमित हुँदै छ’, लुइँटेलले भने, ‘घरसम्म आउने बाटो छैन । बनाउन कसैले चासो दिएका छैनन् । संरक्षण र विकास कसले गर्छ । गाउँको भविष्य पनि प्रधानमन्त्रीको नाममा  बिलाएको छ ।’


२००७ सालमा बनेको यो घर साक्षी मात्र उभिएर बसेको छ, यतिबेला । झलनाथको घर पुग्न बाटोको सुविधा छैन । विद्युत्, शौचालय, खानेपानीको व्यवस्थापन त्यति सन्तोषजनक देखिन्न । भविष्यमा प्रधानमन्त्रीको नासो जन्मघर जोगाउन यसको मर्मत गर्दै, छाना फेर्न दाइ झलनाथसँग कुराकानी गरिरहेको भाइ दाताराम सुनाउँछन् ।


भाइ दातारामले समय र अवसर पारेर घर गाउँ हेर्न पूर्वप्रधानमन्त्री झलनाथ आइरहेको बताए पनि स्थानीय गाउँले यसमा सहमत छैनन् । ‘गाउँघर आएको भए देखिन्थ्यो-भेटिन्थ्यो होला नि । तर, खै अवसर जुरेकै छैन’, स्थानीय भन्छन् ।  


गाउँलेका अनुसार झलनाथ निर्वाचमा पनि गाउँमा खासै देखिएनन् ।  नेपालटार, त्रिवेणीतिर आउँछन्, बस्छन् । तर गाउँ आउँदैनन्, पछिल्लो २० वर्षयता ।


‘प्रधानमन्त्रीको गाउँ भन्न पनि लाज लाग्छ’


गाउँ हुँदै मेची राजमार्गको सडकले ओझेल पारेको छ, पण्डित गाउँलाई । साथीभाइ, छरछिमेक सम्झेर बेलाबेला आउने भए थाहा हुन्थ्यो होला, उनलाई जन्मगाउँको पीडा । नआउनेलाई के थाहा घर गाउँको समस्या । पूर्वप्रधानमन्त्रीको गाउँघर भन्न पनि लाज लाग्छ’, स्थानीय दुःखी सुनिन्छन् ।


‘मेची राजमार्ग निस्कन ज्यानको जोखिम मोलेर हिँड्नुपर्ने र सवारी साधनमा पनि बाटामा झरेको पहिरो पन्साउनुपर्ने अवस्था रहेको एक स्थानीय नाम उल्लेख नगर्ने सर्तमा बताउँछन् । भन्छन्, ‘कसैलाई मतलब छैन । बाटाघाटो र विकासको सवालमा सवारी साधन सञ्चालन गर्नुपर्ने हो । हामी आफैंले पहिरो पन्साइरहेका छौं । बाटोलाई कालोपत्रे गर्न जापान सरकारले लगानी गरेको १ करोड कता हरायो, पत्तै भएन ।’ 


आफू जन्मिहुर्केको गाउँको विकासमा पूर्वप्रधानमन्त्रीले चासो देखाउनुपर्नेमा त्यसो नभएको स्थानीयको बुझाइ छ । झलनाथले रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट स्थापनामा सहयोग गरे । जग्गा दान गरेर देश र जनताले नबिर्सने काम गरे । ‘आफ्नो बाल्यकाल बिताएको गाउँको विकासमा चासो देखाएकै छैनन् । गाउँको त के आफू हुर्केको घरको समेत सोधीखोजी छैन’, स्थानीय गोविन्द ढकाल भन्छन् ।


स्थानीयका अनुसार पूर्वप्रधानमन्त्री झलनाथले औपचारिक शिक्षा सुरु गरेको जनता आधारभूत विद्यालयमा अहिले पनि राम्रो खेलमैदान छैन । विद्यार्थीका लागि आवश्यक शिक्षकसमेत व्यस्थापन हुन सकेको छैन । पर्याप्त भवनसमेत छैनन् । 


झलनाथकै गाउँमा खानेपानीको राम्रो व्यवस्थापन हुन सकेको छैन । ‘बाटाघाटा बर्खामा हिलाम्मे, पहिरो र खहरेले बगाउला भन्ने डर छ । स्थानीय किसानको समस्या झनै विकराल छ । यसतर्फ पूर्वप्रधानमन्त्री झलनाथले चासो दिएनन्’, स्थानीय पूर्ण रिमाल भन्छन् ।


‘विकास राना र नेम्बाङले गर्नुपर्छ’


संयोग मान्नुपर्छ, जन्मगाउँको मत  कहिल्यै पाएका छैनन्, पूर्वप्रधानमन्त्री खनालले । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २  घरगाउँ पर्छ तर अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हात पार्दै सदनमा पुगेका छन् ।


यही कारणले गाउँघरको विकासमा चासो नदेखाएको उनका भाइ दाताराम खनाल बताउँछन् । पूर्वप्रधानमन्त्रीको गाउँको विकास यहीको नागरिकको मत पाएका सांसद सुवासचन्द्र नेम्बाङ र रामबहादुर रानाले गर्नुपर्ने दाबी गर्छन्, दाताराम ।


‘प्रधानमन्त्रीले मात्र कसरी आफ्नो गाउँ बनाउँछन् ?  आफ्नो गाउँ आफैं बनाउनू भनेको झलनाथप्रति गरिएको अनुचित माग हो,’ दाताराम भन्छन् ।


देशको नेतृत्व गर्ने मान्छेको इतिहास संरक्षण गर्ने काम यही क्षेत्रबाट निर्वाचनमा विजय हासिल गरेको नेताहरूको पनि भएको उनको दाबी छ । उनीहरूले पनि यहाँका नागरिकको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।