close

लोकप्रिय हुने आ-आफ्नो तरिका, कुर्सीबिनाको वडा कार्यालयबाट सेवा

लोकप्रिय हुने आ-आफ्नो तरिका, कुर्सीबिनाको वडा कार्यालयबाट सेवा

Trulli
ADVERTISEMENT

झापा । “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यो मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको भनाइ हो । 

गत बैसाख ३० गते स्थानीय चुनावबाट उनी वडाध्यक्ष निर्वाचित भएका हुन् ।  त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुगेका छन्, उनहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गरेका छन् । 

भारतबाट मेची नदी तरेर सयको सङ्ख्यामा दिनका दिन जङ्गली हात्तीको हुल भित्रिने त्यहाँको मुख्य समस्या हो। बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

“वडावासी बिहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ”, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आएका उनी भन्छन्, “ जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौँ हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु ?”

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गरेका छैनन् । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाडेका छैनन् । कार्यालयमा आउने पाहुनालाई पनि उनले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गरेका छन् । 

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उनले २० वटा पिरा र ६ वटा गुन्द्री राखेका छन् । वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिए । पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उनले बताए । 

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् । गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ । उनी भन्छन्, “घरेलु हस्तकला र सीपको सम्मान र प्रवर्द्धनमा यो अभियानले सघाउ पुर्‍याएको छ ।” ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं ४ र तेह्रथुमबाट उहाँले घुँघुरोका चार सय लौरो मगाउनुभएको छ । वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उहाँको योजना छ ।