close

स्वतन्त्र रूपमा विजयी अध्यक्ष भन्छन् : कृषि स्तरोन्नतिका लागि टोल–टोलमा महिलाहरू एकीकृत गर्छु

स्वतन्त्र रूपमा विजयी अध्यक्ष भन्छन् : कृषि स्तरोन्नतिका लागि टोल–टोलमा महिलाहरू एकीकृत गर्छु

Trulli
ADVERTISEMENT

काठमाडौं । करिब दुई दशकपछि मुलुकभरका स्थानीय तहले २०७४ सालमा जनप्रतिनिधि पाए । स्थानीय तह निर्वाचन ०७४ पछि सर्वसाधारणले घरआँगनको सरकार मात्रै पाएनन्, पहिलो कार्यकालको अनुभव गरे । 

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । र, १०० दिने कार्यकाल पनि पूरा गरिसकेका छन् ।

निर्वाचितमध्ये यतिखेर सबैभन्दा बढी चर्चा छ स्वतन्त्रको । जसमध्ये एक हुन्, भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ । 

नेकपा एमालेको टोल कमिटी र नगर कमिटीबाट जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यसमेत भएका उनलाई पार्टीले पालिका अध्यक्ष पदका लागि टिकट दिएन । जसका कारण उनले पार्टी नै परित्याग गरे । अनि दिए पालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार । 

सामाजिक क्षेत्रमा गरेको योगदानको आधारमा टोल कमिटी तथा नगरकमिटीले गाउँपालिका अध्यक्षका लागि सिफारिस गरेको थियो । तर, पार्टीले विभिन्न कारण देखाउँदै आफूलाई उम्मेद्वार नबनाएको आरोप उनको छ । 

पार्टीले उम्मेद्वारीको लागि टिकट नदिए पनि साथीहरूको सल्लाहबमोजिम आफूले स्वतन्त्र उम्मेद्वार दिएको उनले बताए । ‘अनि विजयी पनि भएँ,’ उनले भने । 

गाउँपालिका अध्यक्ष हुनुपूर्व सामाजिक क्षेत्रमा क्रियाशील रहेका उनलाई स्वतन्त्र भए पनि जित्न असहज भएन । 

पार्टीले नपत्याएका कुलुङलाई साल्पासिलिछो बासीले पत्याए । अन्ततः निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईलाई २८ मतान्तरले पछाडि पार्दै गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भए । 

कुलुङले एक हजार आठ सय १४ मत पाउँदा काँग्रेसका राईले एक हजार सात सय ८६ र नेकपा एमालेका शान्तिबहादुर अधिकारीले एक हजार ३ सय ८३ मत पाउन सफल भए । 

आफू स्वतन्त्रबाट निर्वाचित भएकाले पालिकाभित्रका सबै जनताले समान अवसर र सेवा पाएको उनले बताए । 

दलीय वा पार्टीगत रूपमा स्थानीय तहमा निर्वाचित भएमा जनताले पनि सोहीबमोजिम सेवा, सुविधा र अवसर पाउने उनको भनाइ छ । 

‘राजनीतिमा सबै जनताको पहुँच हुँदैन । दलबाट निर्वाचित भएपछि आफ्नो पार्टी र सिद्धान्तअनुरूप मात्रै काम हुन्छ,’ उनले भने, विपक्षी दलका कार्यकर्ता र राजनीति नबुझेका नागरिकलाई अवसर हुँदैन ।

उनका अनुसार स्थानीय तहको सरकार भए पनि समानताको सिद्धान्त लागू भएको हुँदैन । दलीय व्यवस्थाबाट साझा जनप्रतिनिधि हुन नसक्ने भएकाले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको उनले पालिकाखबरलाई बताए । 

‘राजनीतिबाट युवासँगै जनतामा एकखालको वितृष्णा देखिन्छ । युवामा दलीय व्यवस्थामा उदासीनता देखिन्छ,’ उनले भने, ‘त्यसैले जनताको सुझावबमोजिम मैले स्वतन्त्र उम्मेद्वारी दर्ता गराए र विजयी पनि भएँ ।’

विजयी भएसँगै आफूमा पालिकाको दायित्व आएको उनी बताउँछन् । उनले भने, ‘अबको मेरो संकल्प पालिकालाई बनाउने हो । जनताको अपेक्षा र आकांक्षा पूरा गर्नु हो ।’

पालिका भौगोलिक रूपमा विकट भएकाले सोहीअनुरूप जनताका अपेक्षा रहेको उनले पालिकाखबरलाई बताए । ‘जनताको अपेक्षा भनेकै विद्युत्, सडक र शिक्षामा सहज पहुँच हो,’ उनले भने, ‘यहाँ बत्तीको समस्या छ । सडक तथा यातायातको समस्या छ । साथै शिक्षामा सहज पहुँच छैन ।’

जनताको अभिभावक भएकाले आफूसँग जनताको धेरै अपेक्षा रहेको उनले बताए । विकट क्षेत्र भएकाले सामाजिक रूपान्तरणभन्दा पनि भौगोलिक रूपान्तरण जनताको चाहना भएको उनले बताए । 

‘जनतामा मैले गर्न सक्छु भन्ने विश्वास छ । उहाँहरूले मेरो पालामा धेरै परिवर्तन हेर्न चाहनुभएको छ,’ उनले थपे, ‘त्यसैले पनि आफूसँग धेरै जिम्मेवारी भएको अनुभूति गर्छु ।’ 

समस्या समाधानका लागि स्थानीयका साथै विज्ञसँग छलफल गर्दै आएको उनले बताए । विषयगत रूपमा छलफल गरी योजना बनाएको बताउँदै सोहीअनुरूप कार्यान्वयन गर्ने उनले बताए । 

सडक विस्तारका लागि टोलटोलमा सडकसँगै अन्तरजिल्ला सडकसञ्जाल निर्माण गर्ने योजना बनाएका छन् । सोका लागि पालिकासँग जोडिएका संखुवासभा, खोटाङ र सोलुखुम्बु तीन जिल्लाका सरोकारवाला निकायसँग भेटघाट र बैठक भइसकेको उनले सुनाए । 

पछिल्लो समय मुलुकका अधिकांश क्षेत्रमा बिजुली पुगे पनि साल्पासिलिछोमा बत्ती पुगेको छैन । अहिले पनि सो क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । आफ्नो कार्यकालमा घरघरमा बत्ती पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । 

‘हाम्रो पालिकामा बत्ती पुगेको छैन । तर, अब पुग्नेछ,’ उनले भने, ‘बत्ती जडानका लागि आवश्यक योजना बनिसकेको छ ।’ 

उनका अनुसार अब पालिकामा केन्द्रीय र स्थानीय स्तरबाट बत्ती जडान हुनेछ । 

‘केन्द्रीय लाइन ल्याउने योजना छ । साथै पालिकाले पनि स्थानीय खोलाबाट विद्युत् उत्पादन गर्ने योजना बनाएको छ,’ उनले भने, ‘साथै, वैकल्पिक ऊर्जा जडान गर्ने लक्ष्य छ । विद्युत् उत्पादनका लागि डिपिआर निर्माण भइसकेको छ । अब थालनी हुनेछ ।’

स्थानीय ऊर्जा उत्पादनका लागि पालिकाले नीति बनाइसकेको छ । वैकल्पिक ऊर्जाका लागि गाउँपालिकाले विभिन्न सरोकारवाला निकायसँग सहयोगका लागि अनुरोध गरेको छ । ऊर्जा सञ्चालनका लागि गाउँपालिकामा बाह्य निकायबाट पनि सहयोग आउने अध्यक्ष कुलुङले बताए । 

‘गाउँपालिकाको आम्दानीको मुख्य स्रोत कृषि हो । कृषिबाहेक पालिकामा २र३ वटा घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । ‘यहाँ नेपाली हातेकागज र अल्लोद्वारा उत्पादित सामग्रीको घरेलु उद्योग छ । अन्य उद्योग सञ्चालनमा आउन सकेको छैन,’ उनले पालिकाखबरलाई भने । 

पालिकाको आर्थिक स्थिति उकास्नका लागि कृषिमा आधुनिकीकरण गर्नुपर्ने अध्यक्ष कुलुङको जोड छ । त्यसका लागि पालिकाभित्रका टोल–टोलमा कृषि तथा महिला समूहलाई एकीकृत गर्ने उनको योजना छ । 

कृषकलाई प्रोत्साहनका लागि आधुनिक कृषि औजारको वितरणसँगै किसानका लागि परिचयपत्र वितरण गर्ने उनले सुनाए । परिचयपत्रका लागि पालिकाका किसानको तथ्यांक संकलन भइसकेको र वितरण अन्तिम चरणमा रहेको उनले बताए । 

आर्थिक उपार्जनका लागि गाउँबासीलाई घरबाटै उद्योग सञ्चालनका लागि मेसिन तथा औजार अनुदानमा वितरण गर्ने योजना उनको छ । त्यसका लागि गाउँसभामा छलफल भई पारितसमेत भएको उनले बताए । 

जनतासँग सूचना र प्रविधिको पहुँच नभएकाले गाउँपालिकाको योजना कार्यपालिका भवनमा सीमित रहेको उनले बताए । केही जनताले फोन तथा सञ्चारमाध्यमको प्रयोग गरे पनि गाउँपालिकाको कार्यक्रमबारे जानकार छैनन् । त्यसैले उनले गाउँपालिकामा सूचना र अभिलेखीकरण गर्ने बानी विकास गर्न योजना बनाएका छन् । 

त्यसका लागि गाउँसभाबाट ‘सूचना अभिलेख व्यवस्थापन नीति’ पारित भइसकेको उनले सुनाए । 

नीतिअनुसार पालिकाका कार्यालयमा स्मार्ट बोर्ड जडान गरिनेछ । ‘डिजिटल प्रविधिको प्रयोग गरिनेछ,’ उनले भने । 

गाउँपालिकासम्बन्धी जानकारी दिनका लागि मोबाइल एप्लिकेसन निर्माण गरिने उनले बताए । ‘एप्लिकेसनमा विषयगत रूपमा फोल्डरको व्यवस्था हुनेछ । मोबाइल प्रयोगकर्ताले सो एप्लिकेसन सजिलै प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘यो मेरो आइडिया हो । जुन गाउँसभामा बैठकबाट पारित भइसकेको छ ।’

तर, गाउँपालिकामा सूचना प्रविधिका विज्ञ व्यक्ति नभएकाले सो योजना अघि बढ्न नसकेको उनले दुखेसो पोखे । 

कार्यभार सम्हालेको एक सय दिनमा कानुनी प्रावधानहरू निर्माण गरिएको उनले सुनाए । ‘अघिल्लो कार्यकालमा नीति, नियम तथा कार्यविधि खासै निर्माण भएन । मेरो १०० दिन कानुन निर्माणमै बित्यो,’ उनले भने, ‘हालसम्म १३ वटा नीति, कार्यविधि र ऐन पारित भएका छन् ।’ 

कानुनी प्रावधान निर्माण भएपछि आफूसँगै अन्य जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुने उनको विश्वास छ । उनले आफ्नो गाउँपालिका भ्रष्टाचारबाट अछुतो नरहेको सुनाए । ग्रामीण भेगमा ठेकेदार कम्पनीभन्दा पनि उपभोक्ता समितिमार्फत् विकास निर्माण कार्य हुने भएकाले सोहीअनुरूप भ्रष्टाचार हुने गरेको उनले बताए । 

भ्रष्टाचार भए पनि कोही व्यक्तिले सजाय नभोगेको उनले बताए । उनका अनुसार बौद्धिक तथा राजनीतिक पहुँचवाला व्यक्तिको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिने गरेको उनले बताए । काम नगरे पनि कागजी रूपमा काम सम्पन्न भएको देखाउने गरेको उनको आरोप छ । 

तर, आफ्नो कार्यकालमा यस्तो भ्रष्टाचार हुन नदिने उनको दाबी छ । हामीले नयाँ ढंगबाट उपभोक्ता समिति गठन गरेका छौँ । बौद्धिकभन्दा पनि सामान्य व्यक्तिलाई राखेका छौँ, उनले भने, उनीहरूलाई कागजी रूपमा काम गर्न नआए पनि व्यावहारिक रूपमा काम सम्पन्न हुन्छ ।’

उपभोक्ता समिति कार्यविधि निर्माण गरेर मुनाफारहित ढंगबाट काम गर्न प्रशिक्षणसमेत दिएको उनले बताए । निर्माण कार्यको आयोजनाको ठेक्का लिने, तर सम्पन्न नगरी भाग्ने ठेकेदार कम्पनीलाई खोज्दै काम गर्न लगाएको उनले बताए । केही कम्पनीको सम्झौता रद्द गर्ने प्रक्रियामा रहेको उनले सुनाए । 

आफू स्वतन्त्रबाट विजयी भए पनि काम गर्न समस्या नभएको उनले बताए । ‘काम गर्न अप्ठेरो छैन । सबैको चित्त बुझाएर काम गर्ने हो । सबै जनप्रतिनिधिसँग छलफल गरी काम गर्दै आएको छु,’ उनले भने ।