close

कुट्नै पर्ने त्यस्तो के काम गरे गुठिचौरका अध्यक्षले!

विगतका वर्षमा बजेट कार्यान्वयनमा असहयोग गरेपछि यस वर्षको बजेट निर्माणमा सहभागिता नगराइएको अध्यक्षले स्वीकार गरे । बजेट निर्माणमा आफूलाई सहभागी नगराएकोमा उपाध्यक्ष रुष्ट भइन् । बजेटको छलफल चलिरहँदा अध्यक्षमाथि उपाध्यक्षले हातपात गरिन् ।

कुट्नै पर्ने त्यस्तो के काम गरे गुठिचौरका अध्यक्षले!

विगतका वर्षमा बजेट कार्यान्वयनमा असहयोग गरेपछि यस वर्षको बजेट निर्माणमा सहभागिता नगराइएको अध्यक्षले स्वीकार गरे । बजेट निर्माणमा आफूलाई सहभागी नगराएकोमा उपाध्यक्ष रुष्ट भइन् । बजेटको छलफल चलिरहँदा अध्यक्षमाथि उपाध्यक्षले हातपात गरिन् ।

Trulli
ADVERTISEMENT

जुम्ला- गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आफ्नो पदीय अधिकार प्रयोग गर्न नदिएको भन्दै अध्यक्षमाथि हातपात गरेकी छिन् । प्रहरी कार्यालयबाट टेलिफोनमार्फत सम्पर्कमा आएकी उपाध्यक्ष भण्डारीले आवेशमा आएर अध्यक्ष दानबहादुर बुढालाई हातपात गरेको स्विकारिन । 


गाउँपालिका अध्यक्ष बुढालाई हातपात गरेको आरोपमा उपाध्यक्ष भण्डारी आइतबारदेखि जिल्ला प्रहरी कार्यालय जुम्लामा हिरासतमा छिन् । आफूले अध्यक्षसँग आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ माग गर्दा मुखामुख  गर्न थालेपछि कुटपिट गरेको र सोही कारणले आफू हिरासतमा बस्नुपरेको सुनाईन् ।

 

आफू जिल्ला प्रहरी कार्यालयको महिला सेलमा रहेको जानकारी दिँदै उनले भनिन्, 'स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएदेखि मैले मेरो पदको प्रयोग गर्न पाएकी थिइनँ । विगत १३/१४ महिनादेखि नै म गाउँपालिका अध्यक्षबाट पीडित हुँदै आएकी छु । त्यसैले आइतबारको घटना घट्न गएको हो ।'

गाउँपालिका अध्यक्षले एकलौटी रुपमा पदको प्रयोग गरेको आरोप उनले लगाएकी छिन् । गाउँपालिका अध्यक्ष बुढाले कर्मचारी र अन्य जनप्रतिनिधिलाई समेत आफ्नो मातहतमा सञ्चालन गर्न खोजेको आरोप उनको छ । 

आफूले असार पहिलो सातादेखि नै गाउँपालिकाको लागि आवश्यक बजेट बनाउन अनुरोध गर्दा पनि कुनै सुनुवाई नगरेको उनले बताइन् । 'मैले असार २/३ गतेदेखि नै गाउँपालिका अध्यक्षलाई बजेट निर्माणका लागि शाखागत कार्यक्रमको माग गर्न र  छलफल गर्न अनुरोध गरेकी थिए । उहाँले समय बाँकी छ भनेर आलटाल गर्नु भयोे,' उनले भनिन्, 'तर म बजार अनुगमन गर्न गएको समयमा उहाँले आफ्नो मनपरी रुपमा बजेट निर्माण गर्नु भएछ ।'

तर पनि गाउँपालिका अध्यक्षसँग बजेट माग्न खोज्दा कुनै जानकारी दिन मानेनन्। 'कार्यपालिका बैठकमा मैले बजेटको खाँका माग गरे । तर उहाँले समय धेरै भएको भन्दै मेरो कुरा सुन्नु भएन । मेरो कुरालाई अनुमोदन हुने आश्वासन दिएर कार्यपालिका बैठक सकाउनु भयो,' उनले भनिन्। 

आफू पनि जनताको जनप्रतिनिधि भएकाले केही बजेट माग गर्न खोजेको उनले बताइन् । 'बजेटको खाँका निर्माण भएपनि मेरो मातहतको कार्यक्रम बुझ्न खोजेकी थिए,' उनले भनिन्,'मपनि जनताको भोटबाट निर्वाचित भएको जनप्रतिनिधि हुँ । मसँग पनि स्थानीय बासिन्दाको अपेक्षा होला ।'

गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी


उनले आफूलाई खबर नै नदिई कार्यपालिका बैठक तथा बजेट निर्माण गरेको आरोप लगाइन् । 'जब म अनुगमनको लागि बाहिर निस्किन्छु तब अध्यक्षले बैठक बोलाउनुहुन्छ । तर हामीलाई कुनै जानकारी हुदैँन,' उनले भनिन्।

उनले अघिल्लो आर्थिक वर्षको बजेट क्लोजिङ गर्नको लागि पालिकाको शाखागत रुपमा आय व्ययको खर्च माग गरेको तर कुनै जानकारी नदिएको बनाइन् । 'असार २५ गते अघिल्लो आर्थिक वर्षको क्लोजिङ थियो । तर  कुनै जानकारी आएन,' उनले भनिन्, '२७ गते लेखाको कर्मचारीसँग गत वर्षको आय व्यय माग गर्दा परीक्षा छ दिन भ्याउँदिन भनेर फर्काउनुभयो ।'


आफूलाई गाउँपालिकाको कर्मचारीले समेत कुनै जानकारी नदिने उनले बताइन् । उनले भनिन्, 'गाउँपालिका अध्यक्षले कर्मचारीलाई आफ्नो मातहतमा राख्नु भएछ क्यारे । त्यसैले मलाई कुनै जानकारी दिन मान्नु हुन्न ।'

उनले कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्षलाई बजेटको सिलिङ, पुराना बजेटको आयव्यय र आर्थिक अनियमितताबारे जानकारी माग गरेको बताइन् ।  'मलाई  अध्यक्षले  तपाईको अधिकार छ र भनेर सोध्नुभयो । र उपाध्यक्षलाई बजेट संयोजकबाट पछि हटाउने काम गर्न खोज्नु भयो,' उनले भनिन् ।


उनले पालिकाभित्रको एक होटेलमा मध्यराती अध्यक्ष, अन्य जनप्रतिनिधि र  कर्मचारीको सहभागितामा बजेट निर्माण गरेको बताइन् । 'राती होटेलमा गएर बजेट बनाउनु भएछ । मैले बिहान जानकारी पाए,' उनले भनिन्, 'कार्यपालिका बैठकका लागि बोलाउनु भएको थियो । सो खबर पाएपछि जान मन लागेन र अरु साथीलाई बजेटको सिलिङ ल्याउन अनुरोध गरेँ ।'

उनले थपिन, 'र कर्मचारी र अध्यक्षले उहाँ (साथी)लाई सिलिङ दिन मान्नु भएन छ । त्यो दिन त्यत्तिकै भयो । आइतबार बिहानै नगरसभाको बैठक थियो । तर ११ बजे पुग्दा पनि केही जनप्रतिनिधिबाहेक कोही थिएन, मैले बजेटको सिलिङ मागे । दिउँसो साढे २ बजेसम्म पनि दिनु भएन । अनि अध्यक्षको कार्यकक्षमा गएर सो घटना भएको हो ।'

उनले आफूले कुटपिट गरेपछि अध्यक्ष र वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले आफुलाई धकेलेर अश्लिल शव्द प्रयोग गरेको बताइन् । प्रवक्ता महाताराले उपाध्यक्ष भण्डारीको पदमाथि प्रश्न गर्नुका साथै आफूहरुले बजेट ल्याएको र उपाध्यक्षलाई 'कहाँ गएर न्याय माग्नु हुन्छ' भन्दै धम्काएको उनको आरोप छ ।

विगत १४ महिनादेखि आफूले अन्याय सहेर बस्दै आएको उनले जिकिर गरिन् । '१४ महिनादेखि मैले अध्यक्षको हेपाही सहेर आएकी थिए । यो नै मेरो सबैभन्दा ठूलो गल्ती भयो । घरभित्रको समस्या आफैँ साम्य पार्ने सोचेँ ।  र, चुपचाप सहेँ,'  उनले भने, 'तर अहिले बजेटको सिलिङ माग्दा अध्यक्षले मुखामुख गरेकोले कुटेँ ।'

बजेट कार्यान्वयनमा असहयोग भएपछि उपाध्यक्षलाई बेवास्ता 
गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गत बर्ष बजेट कार्यान्वयनमा  उपाध्यक्षले आफूलाई असहयोग गरेकोले हाल बेवास्ता गरेको बताए । आर्थिक वर्ष २०७९/०८० मा एकीकृत समाजवादीसँग मिलेर बजेट, नीति तथा कार्यक्रम ल्याएको बताए ।

'जुनदिनबाट बजेट ल्याइयो त्यसदिनबाट उहाँले प्रतिपक्षको भुमिका निर्वाह गर्नुभयो। ल्याएको बजेटलाई कार्यान्वयन गर्नुपर्ने सन्दर्भमा पूर्ण रुपमा असमर्थन गर्नुभयो,'  उनले भने, 'त्यसैले असहयोग गर्नेसँग मिलेर बजेट र नीति तथा कार्यक्रम ल्याउन हुदैँन भनेर आर्थिक वर्ष २०८०/०८१ मा माओवादीसँग मिलेर नीति तथा कार्यकम र बजेट ल्याउने निर्णय भयो र ल्यायौँ ।'

शनिबार कार्यपालिकाको बैठकमा उपाध्यक्षलाई बोलाएपनि  कार्यपालिकाको बैठकमा नआएकाे उनले बताए।उनका अनुसार आइतबार कार्यपालिकाको बैठक सँगसँगै गाउँ सभा थियो।

सो बैठकबाट बजेट अनुमोदन गराउने र गाउँ सभामा लैजाने तयारी भइरहेको उनले बताए । कार्यपालिका बैठक हुनु अगाडि आफू कार्यकक्षमा बसिरहेको बेला उपाध्यक्ष आएर बजेट सिलिङ माग गरेको उनले बताए । 'मैैले एकजना कर्मचारीलाई बजेटको सिलिङ दिन निर्देशन दिएँ तर उपाध्यक्षले एक्कासी अगाडि बढेर मेरो गालामा हान्नुभयो,' उनले भने, 'एकपटक हान्दा मैले केही प्रतिक्रिया जनाइनँ। त्यसपछी उहाँ चप्पल निकालेर हान्न थाल्नुभयो । म हृदयविदारक भएँ। मेरो आँखा बाटै आशुँ खसे। यो अत्यन्दै भत्र्सना लायक घटना छ। यो दुर्भाग्यपूर्ण घटना घट्यो।'


उपाध्यक्षले आफूमाथि लगाएको आरोप आरोपमात्र रहेको बताएका छन्। ‘उहाँलाई बजेटमा सहभागी गराएर २०७९ ०८० को नीति तथा कार्यक्रम र बजेट ल्याएका हौँ। उहाँको एकदमै दादागिरी थियो। मेरो कार्यकक्षमा आएर हातपातको घटनाबाटै यो प्रष्ट भएको छ’ उनले भने।

'माओवादीसँग मिलेर समावेशी र सहभागितामूलक  भावनालाई केन्द्रबिन्दुमा राखेर नीति तथा कार्यक्रम ल्याएका छौँ,' उनले भने, 'अपाध्यक्षलाई स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार अनुसार काम गर्न दिएको छु ।' 


उपाध्यक्षको अनुगमनको अधिकार, सरकारी संस्थाको समन्वयको अधिकार, नीति तथा कार्यक्रमको तर्जुमा समितिको संयुजकत्व उपाध्यक्ष भण्डारी नै रहेकाे र साेही बमाेजिम काम भइरहेकाे उनले बताए । 'उहाँकै संयुजकत्वमा नीति तथा कार्यक्रम ल्याएका छौँ। न्यायिक समितिको संयोजक उहाँ नै हुनुहुन्छ,' उनले भने, 'बजेट सभामा प्रस्तुत गर्ने अधिकार पनि उहाँकै हो। तर उहाँले घटना घटाउनुभयो।'

आफूमाथि हातपात भएपछि उपाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले आफूमाथि हातपात भएपछि जिल्ला प्रहरी कार्यालयमा उपाध्यक्ष विरुद्ध जाहेरी दिएकाे बताए । उनले आफ्नाे जाहेरीपछि  उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए। 'नीति तथा कार्यक्रम, बजेट सभामा पेश गर्ने अधिकार उपाध्यक्षको भएपनि बजेट बनाउने अधिकार त अध्यक्षको हो नि,' उनले भने ।

तर अरुकाे कार्यकक्षमा बस्दै गरेकाे व्यक्तिलाई हातपात गर्न नपाउने उनले बताए ।  उनले भने, ‘वडा नं ५ का वडाअध्यक्ष र कार्यपालिका सदस्य देवराम नेपाली प्रत्यक्षदर्शी हुनुहुन्छ। उपाध्यक्षलाई मैले केही बोलेको÷गरेको छैन। उहाँले हातपात गर्दापनि म टुलुटुलु हेरेर बसेँ। अपाध्यक्षको व्यवहार देखेपछि केही कार्यपालिकाका सदस्य आक्रोशित हुँदै कस्तो अलोकतान्त्रिक काम गरेको काम गरेको भन्नुभयो।'

 
उपाध्यक्षले ठूलो गल्ती गरेकाे उनकाे आराेप छ ।'अहिले गल्तीको महशुस गरेर पनि केही हुनेवाला छैन। म उहाँलाई माफी दिन सक्दिनँ। कानुनी उपचारको बाटो खोज्छु’ उनले भने।

उता उपाध्यक्षा भण्डारीले आफूलाई अध्यक्ष बुढा र वडा अध्यक्षा महताराले हातपात र अश्लिल शब्द प्रयाेग गरेकाे आराेपमा प्रहरीसमक्ष जाहेरी  दिन बताएकी छिन् । 'महिलामाथि कसैलेे हातपात र दुर्व्यवहार गर्न पाउँदैन । म पनि न्यायकाे लागि लड्न तयार छु,' उनले भनिन्, 'जुनसुकै निकायमा पनि धाउन सक्छु ।' 


अध्यक्ष उपाध्यक्षबीचको झगडाले जनता मारमा पर्न नदिने गाउँपालिका अध्यक्ष बुढाले बताए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको अधिकार क्षेत्रमा कटिबद्ध भएर काम गर्ने हो। उपाध्यक्षले गल्ति गरेको र त्यो अनुसारको कारबाही हुने बताउँदै उनले भने, 'यदि सजायबाट मुक्त भई उपाध्यक्षले सुध्रेर काम गर्न खोजेमा म कुनै अवरोध गर्दिनँ ।'


पाँच वडा रहेको गाउँपालिकामा अध्यक्षसहित २ वटा वडामा नेपाली कांग्रेस, उपाध्यक्ष र एक वडामा नेकपा समाजवादी पार्टी, एक वडामा स्वतन्त्र र एक वडामा नेकपा माओवादीका जनप्रतिनिधि छन्। कार्यपालिकाको हिसाबले माओवादी र एकिकृत समाजवादीको गरेर बहुमत रहेको अध्यक्ष बुढाले जानकारी दिए।