close

बिहानै मृत भेटिएका वडाध्यक्ष घिमिरे हिजो कहाँ बास बसे ?

बिहानै मृत भेटिएका वडाध्यक्ष घिमिरे हिजो कहाँ बास बसे ?

Trulli
ADVERTISEMENT

गुल्मी - ‘उहाँ(मुसीकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरे) आत्महत्या गर्ने खालको मान्छेनै होइन । एकदमै इनर्जेटिक हुनुहुन्थ्यो । उहाँको आत्मबल र प्रेरणा त्यस्तै खालको थियो । हिजो २ बजे नै हाम्रो कन्ट्याक भएको हो ।’ पालिकाखबरसँग मुसीकोट नगरपालिका-२ का वडाध्यक्ष रविन्द्र केसीले भने । 

मुसिकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरको आत्महत्यापछि पालिकाखबरसँगको संवादमा उनले आफूले पत्याउनै नसकेको बताएका छन् । आफूहरू धेरै नजिक भएको हुँदा राम्रोसँग चिनेको उनको भनाइ छ । हिजोको संवादको क्रममा पनि सामान्य देखिएको र  संगतमा पनि आत्महत्या नै गर्ने खालको केही नदेखेको उनको भनाइ छ । 

शुक्रबार मात्र घिमिरे मेयर र उपमेयरसहित दोभाने कृषि सडक खण्डको अनुगमनमा निस्किएका थिए । हिजो उनी घरमा बास नबसेको खुलेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण सापकोटाले पालिकाखबरसँग बताए । प्रहरी निरीक्षक सापकोटाका अनुसार वडाध्यक्ष घिमिरेको घर आरुचौरमा हो भने घटनास्थल सोही वडाकै मज्वाङमा पर्छ । जुन उनको घरदेखि करिब १ घण्टाको दूरीमा पर्छ । 

प्रहरीका अनुसार मुचुल्का र प्रारम्भिक अनुसन्धानको काम सकिएको छ । पोस्टमार्टम रिपोर्टसँगै थप अनुसन्धानको काम जारी छ । स्थलगत मुचुल्काबाहेक थप अनुसन्धानको काम नसकिएकाले थप बोल्न नमिल्ने प्रहरी निरीक्षक सापकोटाले बताए । हिजो घर नआउनु भएको सत्य हो ? भन्ने पालिकाखबरको प्रश्नमा उनले भने,‘हिजो घर नआउनु भएको हो, तर उहाँ कहाँ बस्नु भएको हो त्यो पनि खुल्न बाँकी नै छ ।’

आत्महत्याका लागि देखिने गरी कुनै तनाब र दबाब नदेखिनु अनि शुक्रबारसम्म जनप्रतिनिधिको रुपमा अनुगमनमा सहभागी भएका घिमिरेको निधनले पूरै मुसीकोट शोकमय भएको छ । स्थलगत मुचुल्काले सबै कुरा नबोले पनि मृतकको शरीरमा कुनै घाउचोट भने नदेखिएको प्रहरीले जनाएको छ ।