close

नाममात्रका जनप्रतिनिधि !

नाममात्रका जनप्रतिनिधि !

Trulli
ADVERTISEMENT

काठमाडाैं - केही समयअघि मायादेवी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती यादवले पालिका अध्यक्ष वलिउद्दीन मुसलमानविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता गरिन् । मुद्दा दर्ता गरेसँगै पालिकाखबरले साेबारे समाचार तयार पार्न उपाध्यक्ष यादवसँग सम्पर्क गर्न खाेज्याैँ । र, गाउँपालिकाकाे वेभसाइटकाे सहयाेगबाट उपाध्यक्षकाे नम्बरमा डायल गर्याैँ ।

तर बिडम्बना उपाध्यक्षकाे फाेन उनका श्रीमान् मेवालाल यादवले उठाए । सामान्य परिचयपछि हामीले उपाध्यक्षलाई फाेन दिन अनुराेध गर्याैँ । उनले जवाफमा भने, ‘मेरी श्रीमती नेपाली बोल्न जान्नु हुन्न । मोबाइल घरमै छोडेर जानु भएकाे छ । त्यसैले मसँगै कुरा गर्दा पनि हुन्छ ।' यो  गाउँपालिकाकी उपाध्यक्ष यादवकाे श्रीमान् मेवालाल यादवले पालिकाखबरसँग 'मै सबै उत्तर दिन सक्छु' भनेर दिएको ‘निर्धक्कता’ हो  ।

उनले पालिकाखबरसँगको संवादमा उपाध्यक्षलाई न्यायिक समितिमा काम गर्न अधिकार नदिइएको, अनुगमन बिना विकासे बजेट भुक्तानी भएको र अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी सिलिङ बनाएको समेत आरोप लगाउन भ्याए ।

त्यस्तै विष्णुपुर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवलाई ३ पटक फोन गर्दा यादवका श्रीमान् उपेन्द्रकुमार यादवले सधैं आफूले नै फोन उठाउने गरेको बताए ।

त्यतिमात्र होइन, गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा राखेकाे याेजनाबारे गफ दिनसमेत भ्याए । चालू आवमा कुन-कुन विषय प्राथमिकतामा राखेको छ ? भन्ने पालिकाखबरको प्रश्नमा उनले भने, 'यो वर्ष शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखिएको छ । शिक्षाको कमजोरी सुधार गर्न, गुणस्तरीयता उकास्नका लागि योजना बनाएको छ ।'

आफूलाई पालिकाको योजनाबारे जानकारी भएको बताउँदै उनले कृषिमा अवलोकन गरेर किसानलाई बीउविजन वितरण, किसानको समस्याको आधारमा योजना बनाएको बताए । कृषिको बजेटबारे प्रश्न सोध्दा उनले भने, 'यसबारे उपाध्यक्षसँग नै कुरा गर्नुपर्छ । मलाई यति मात्रै थाहा छ ।' 

पालिकाको योजनाबारे केही तथ्यगत गफिएका उनको परिचय माग गर्दा उनले भने, 'म पालिकामा काम गर्दिनँ । सामान्य कृषक हुँ । मलाई जानकारी भएको यति हो ।' 

विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव भने भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।