close

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य  लिम्बू

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य  लिम्बू

Trulli
ADVERTISEMENT

इलाम- चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।

दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन् । 

चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका २०० खम्बामा ४०० वटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् । 

‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन् । उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन् । उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन् । उनले या वर्ष मात्र दुई लाख १० हजार आम्दानी गरेका छन् । फल बिक्री गरेर एक लाख ३० हजार र बिरुवा बिक्री गरेर ८० हजार आम्दानी गरेका उनले बताए । 

लिम्बूले उत्पादन गर्नुभएको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी ४०० देखि ५०० मा बिक्री हुने उनले बताए । विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा २५० सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।