close

साकेला गाउँपालिकामा मृतककाे नाममा समेत भ्रष्टाचार, गृह मन्त्रालयले थाल्यो छानविन

साकेला गाउँपालिकामा मृतककाे नाममा समेत भ्रष्टाचार, गृह मन्त्रालयले थाल्यो छानविन

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता चुहावट भएपछि गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चासो देखाएको छ ।

साकेला गाउँपालिका–४ मात्तिममा मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेकाको झुटा विवरण बनाएर एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको समाचार बाहिरिएपछि गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चासो देखाएको हो ।

मृत्यु भइसकेका तथा एउटै व्यक्तिको नागरिकता प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको विषयमा छानविन गर्न गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार गाउँपालिकालाई पत्राचार गरेको छ ।

छानविनका क्रममा राज्यको सम्पत्ति दुरुपयोग भएको ठहर भएमा दुरुपयोग भएको सम्पूर्ण रकम असुल गरी कानून बमोजिम कारवाहीका प्रकृया थाल्न र सात दिनभित्र सोको जानकारी बिभागलाई गराउन पत्रमा भनिएको छ ।

‘उक्त कार्यमा अनियमितता गर्ने जनप्रतिनिधि र कर्मचारी समेतको मिलेमतो रहेको भन्ने विषयमा वास्तविकता के हो ? अन्य वडा कार्यालयमा समेत कस्तो अवस्था रहेको छ ?,’ पत्रमार भनिएको छ, ‘छानविन गरी कसुरदार ठहरिएमा त्यसरी दुरुपयोग गरेको सम्पूर्ण रकम असुल उपर गरी कानून बमोजिम कारवाहीका लागि तत्काल प्रकृया अगाडि बढाउन र सोको जानकारी सात दिनभित्र यस बिभागमा गराउन हुन अनुरोध छ ।’

गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनियमितता भएको भनिएका चार जनाको नाम समेत उल्लेख गरेको श्रोतले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितताको विषय सामाजिक सुरक्षा ऐन २०७५, सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि २०७५ विपरित तथा भ्रष्टाचारजन्य कसुरमा पर्ने बिभागले जनाएको छ ।

गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाल सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्तालाई तत्काल बैंकिङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

साकेला गाउँपालिकाले पनि मृत्यु भइसकेकाको नक्कली कागजात बनाएर बनाएर एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गर्नेमाथि छानविन थालेको छ ।

मात्तिममा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भइरहेको खबर सार्वजनिक भएपछि बुधबार गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्कालाई छानविन गरेर १५ दिनभित्र सत्यतथ्य प्रतिबेदन पेश गर्न जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए ।

उपाध्यक्ष खड्कालाई मात्तिम बाहेक अन्य चार वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको यतार्थ प्रतिबेदन पनि २५ दिनभित्र पेश गर्न भनिएको अध्यक्ष खड्काले बताए ।

अन्य वडामा समेत नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको पाइएको श्रोतले जनाएको छ ।

यता मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भने पत्रकार सम्मेलन गरेरै सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

वडाको सम्पूर्ण आर्थिक तथा प्रशासनिक काममा जनप्रतिनिधिको प्रत्यक्ष भूमिका नरहने भएकाले सामाजिक सुरक्षा भत्ता अनियमिततामा राजनीतिक पुर्वाग्रह राखेर आफुलाई मुछ्ने काम गरिएको भट्टराईको दावी छ ।

वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान थालेको थियो ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने १ हजर २ सय १४ व्यक्तिको नामावली दावी विरोधका लागि सार्वजनिक गरिसकेको छ ।

‘नक्कली व्यक्ति खडा गरेर सामाजिक सुरक्षा भत्ता भुक्तानी हुँदै आएको पाइएपछि दावी विरोधका लागि ५ असोजसम्म  नामावली सहित १५ दिने सूचना जारी गरिएको छ,’ गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले भने ।

अघिल्लो चौमासिकमा गाउँपालिकामा १ करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा नक्कली व्यक्तिको नाम कटाउन थालेपछि यो चौमासिकमा सामाजिक सुरक्षा भत्ताको मात्रा १ करोड १९ लाख ३६ हजारमा झरेको गाउँपालिकाले जनाएको छ ।

अन्य वडाको तुलनामा रतन्छा र खिदिमामा मात्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली दुरुस्त देखिएको बताइएको छ ।

दाबी बिरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३ सय ५५ जना, साकेला गाउँपालिका–२ रतन्छाका २ सय ९८ जना, साकेला गाउँपालिका–३ खिदिमाका १ सय २७ जना, साकेला गाउँपालिका–४ मात्तिमका २ सय ५९ जना र साकेला गाउँपालिका–५ मात्तिमका १ सय ७५ जनाको नामावली सार्वजनिक गरिएको छ ।