close

राजधानी खुसीले बिर्सायो ‘लालपुर्जा’

३ वर्षमै आयो राजधानी तर ४० वर्ष भो आएन लालपुर्जा

राजधानी खुसीले बिर्सायो ‘लालपुर्जा’

३ वर्षमै आयो राजधानी तर ४० वर्ष भो आएन लालपुर्जा

Trulli
ADVERTISEMENT

दाङ– वनभित्रको बस्ती भालुवाङ लालपुर्जाका लागि चर्चामा आइरहने बस्ती हो । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रमा बसिरहेका १ हजार ५ सय परिवारको एउटा मात्रै इच्छा थियो– घर र बसेको जमिनको ‘लालपुर्जा’ पाउने । बस्ती बसेको ४ दशकसम्म पनि सपना पूरा भएको छैन । तर, सोच्दै नसोचेको सपना पूरा गरेको छ, भालुवाङले ।


भालुवाङबासीलाई भएको लालपुर्जाको इच्छा प्रदेश ५ को राजधानी भालुवाङको निर्णय सुनेपछि मेटिएको छ । प्रदेश राजधानी बनाउने निर्णयले औधी खुसी छौं,’ राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल भन्छन्, ‘लालपुर्जा खोजेको ठाउँमा राजधानी पाइने भयो ।’


राजधानीसँगै बस्ती स्थायित्वको विश्वाससमेत बढेको पोख्रेलको भनाइ छ । ‘अब लालपुर्जा पाउँदै गरौंला तर पहिले राजधानीको निर्णय कार्यान्वयन होस्’, पोख्रेल भन्छन्, ‘हाम्रो स्थायित्व खोज्दै गराैंला ।’


सुगम जिल्ला भए पनि विकासको दृष्टिले पछि परेको क्षेत्र हो, भालुवाङ, त्यो पनि ऐलानी जग्गाको बजार क्षेत्र ।


तर, अब यो क्षेत्र राजधानीका नामले चर्चित भएको छ ।  संघ अध्यक्ष पोख्रेल भन्छन्, ‘सुगम जिल्ला भए पनि पिछडिएको भालुवाङमा प्रदेश राजधानी घोषणा गरिएकाले अब विकासले फड्को मार्नेछ । प्रदेशको मध्य भागमा रहेको भालुवाङलाई भर्जिन ल्यान्ड बनाउनेछौं ।’


एकै पटक राजधानी बनाउने निर्णयले कुनै समय गुमनाम भालुवाङलाई राजनीतिक निर्णयले राष्ट्रिय चर्चामा ल्याएको छ । यो विषय दाङलाई त्यति चासो नभए पनि भालुवाङलाई भने सरप्राइज नै बनेको छ । राजधानी व्यवस्थापनमा भने चुनौती र जटिलता रहेको पोख्रेल सुनाउँछन् ।


राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी प्रदेशले पालिकाभित्रको क्षेत्रलाई राजधानी बनाउने निर्णय गर्नु स्वागतयोग्य भएको बताउँछन्  । सबैको पायक पर्ने भएकाले भालुवाङ प्रदेश राजधानीका लागि उपयुक्त रहेको उनको दाबी छ ।


भालुवाङ क्षेत्रले ३ जिल्ला छोए पनि प्रदेश राजधानी राप्ती गाउँपालिकाको केन्द्र हुनेछ । प्रदेश ५ ले गत शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको देउखुरी उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको छ । यसलाई दाङबासीले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।


 
शंकर पोखरेलको चुनावी नारा

 

दाङमा निर्वाचनमा जाने सबै राजनीतिक दलको चुनावी नारा नै राजधानी जिल्लामा राख्ने निर्णय थियो । यही नाराले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङबाटै चुनाव जिते । दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बने ।


तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै उनीहरूप्रति दाङबासीले असन्तुष्टि जनाउँदै आएका थिए । दबाबसमेत सिर्जना गर्दै आएका थिए ।


भालुवाङको इतिहास

 

चुरे पहाडको फेद र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठानसँग जोडिएको क्षेत्र हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने  भालुवाङ पूर्वी दाङको अहिलेको मुख्य बजार हो ।


यहीँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ । प्युठान र रोल्पा जाने नाकासमेत बनेको छ, भालुवाङ  क्षेत्र ।


भालुवाङको खास बजार पहिले पूर्व–पश्चिम राजमार्गभन्दा पूर्वपट्टि थियो । रोल्पा, प्यूठानतिरबाट मानिसहरू त्यहीँ किनमेल गर्न आउँथे । तर, जब पूर्व–पश्चिम राजमार्ग बजारभन्दा पश्चिमतिरबाट बन्यो, तब राजमार्गलाई छोएको ठाउँमा नयाँ बजार बस्यो ।
नयाँ बजारलाई पुलचोक नामकरण दिइयो ।


चल्तीको बजार सुक्दै गयो र पुल्चोकमा सहरीकरण बढ्ने क्रममा छन् । अहिले अर्बौंका पूर्वाधार बनेका छन् तर भालुवाङ बजार कसैको स्वामित्वमा छैन । यो वनको स्वामित्वमा छ ।


पूर्व–पश्चिम राजमार्ग बनेपछि गाडीको चहलपहल सुरु हुनासाथ मानिसहरूले राष्ट्रिय वन फँडानी गरी त्यहाँ बस्ती बसाएका हुन् । भालुवाङको पुल्चोक क्षेत्रका अधिकांश घर राष्ट्रिय वन क्षेत्रमा बनेका छन । तर, त्यहाँको जग्गाको लालपुर्जा बजारमा बस्ने कसैसँग छैन ।


भालुवाङ बजारको जग्गालाई सरकारले स्वामित्व नदिए पनि उनीहरूसँग नगर विकासले दिएको एउटा रसिदको आधारमा बिजुली, खानेपानी र अन्य सरकारी सुविधा उपलब्ध गराइरहेको अध्यक्ष पोख्रेल बताउँछन ।


४१ बिघाभन्दा बढीमा फैलिएको भालुवाङ बजारमा १ हजार ५ सय  घर बनेको संघ अध्यक्ष पोख्रेलले जानकारी दिए ।