close

भोजपुरका सबै स्थानीय तहमा कोरोना अस्पताल

भोजपुरका सबै स्थानीय तहमा कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

भोजपुर- भोजपुरका सबै स्थानीय तहमा कोरोना  अस्पताल निर्माण थालिएको छ । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसाद राई गाउँपालिका–  ६ बैकुण्ठेमा र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माणको तयारी थालिएको हो ।

केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दर्खास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, ‘केन्द्रबाट आएको निर्देशनअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौं । वडा– ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दर्खास्त माग गरिएको छ ।’  
 
पौवादुङमा गाउँपालिकाले भने अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मीसमेत छनोट सम्पन्न गरेर काम सुरु भइसकेको बताएको छ । वडा– ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने पालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

कोभिड अस्थायी अस्पताल निर्माणका लागि केन्द्रबाट १० लाख बजेट आएको र त्यसले ल्याब स्थापना गर्न रकम कम भए पनि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दसैंअघिसम्म सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष राईले बताए ।

निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहितका ५ शैया रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिए ।

टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछिको गाउँपालिका  र षडानन्द नगरपालिकाले गान्धी अस्पतालमा राख्ने गरी प्रक्रियामा लागेको जनाएका छन् । त्यस्तै, अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालेका छन् ।