close

अछाम बस दुर्घटना अपडेटः एकको मृत्यु, १७ घाइते (पूर्ण विवरणसहित)

अछाम बस दुर्घटना अपडेटः एकको मृत्यु, १७ घाइते (पूर्ण विवरणसहित)

Trulli
ADVERTISEMENT

अछाम- अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।


जिल्लाको सदरमुकाम मंगलसेनबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायात प्रा.लि.को ना४ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका- ३ का १९ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।


जिल्ला ट्राफिक कार्यालय अछामका प्रतिनिधि देवेन्द्र खड्काका अनुसार आज मंगलबार बिहान ८ बजे चौरपाटी गाउँपालिका वडा नं.- ७ मार्कुमा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उपचार भइरहेको बयालपाटा अस्पतालले जनाएको छ । अन्य घाइतेहरूको जिल्लास्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।


कोको भए घाइते ?


घाइते हुनेमा जिल्लाको चौरपाटी गाउँपालिका वडा नं.- ५ का ६५ वर्षीया पार्वती भण्डारी, ४० वर्षका प्रमानन्द भण्डारी, २३ वर्षीया मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं.- ७ नन्देगडाकी ३१ वर्षीय यज्ञश्वरी उपाध्याय, नौ वर्षीय डण्डप्रसाद उपाध्याय, भीमदत्त नगरपालिका- १८ कञ्चनपुरकी २५ वर्षीया सोनिया चन्द, बान्निगढी जयगढ गाउँपालिका वडा नं.- ५ कालिकाका २४ वर्षीय नरेश रावल रहेका छन् ।

 

यस्तै, साँफेबगर नगरपालिका- ३ का १७ वर्षीय सन्तोष भण्डारी, वडा- ६ भाग्यश्वरका ६० वर्षीय कृष्णराज पण्डित र उनकी श्रीमती ५१ वर्षीया वसुन्धरा पण्डित, भाग्यश्वरकै २७ वर्षीय अजय रावल, साँफेबगर नगरपालिका- १३ बाब्लाका ३० वर्षीया कृतिसिंह कुँवर, साँफेबगर नगरपालिका- १० घुघुरकोटकी २३ वर्षीया लक्ष्मी बोगटी, साँफेबगर नगरपालिका- ४ का ४१ वर्षीय टंक भण्डारी रहेका छन् ।


बसमा ३७ जना यात्रु सवार थिए । अन्य सबैको प्राथमिक उपचारपछि घर फिर्ता भएका छन् । बस तीब्र गतिमा रहेको र मोड काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । बस सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो ।