close

सिटामोलका लागि ७ घण्टा पैदल ! कहाँ छ सिंहदरबार ?

सिटामोलका लागि ७ घण्टा पैदल ! कहाँ छ सिंहदरबार ?

Trulli
ADVERTISEMENT

बझाङ– बुङ्गल नगरपालिका वडा नं. ६ मा पर्ने बड्डी ज्यावनवासीले सामान्य बिरामी हुँदा पनि सिटामोल लिनकै लागि सात घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको चार वर्ष पूरा भइसकेको भए पनि बड्डी ज्यावनका बासिन्दाहरू वर्षौंदेखि यो समस्या झेल्दै आएका छन् ।

 

यहाँका स्थानीयहरू उपचारका लागि साविक पीपलकोट गाविसको खौलाधारमा रहेको पीपलकोट स्वास्थ्य चौकी जान्छन् । यस ठाउँमा पुग्न बड्डी ज्यावनबाट स्वस्थ मान्छेले लगातार सात घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छे बोकेर लैजाँदा पूरै दिन बित्ने गर्छ ।

 

गाउँमा औषधि पसलसम्म पनि नभएकाले सामान्य बिरामी भए पनि खौलाधार नै पुग्नुपर्ने बाध्यता त्यहाँका बासिन्दालाई छ । हिँड्न सक्ने बिरामी दिनभर हिँडेर साँझ पुग्ने भए पनि हिँड्न नसक्नेलाई बोकेर लैजानुपर्दा पालैपालो बोक्नका लागि २०–२५ जना सँगै जानुपर्ने भएपछि गाउँ नै रित्तिने गरेको छ ।


बड्डी ज्यावनबाट कम्तीमा पाँच घण्टा पैदल यात्रा गरेपछि नजिकको अर्को गाउँ पारीबगर पुगिन्छ । पारीबगरमा अहिले नगरपालिकाले स्वास्थ्य इकाइ केन्द्र संचालनमा ल्याएको भए पनि त्यहाँ स्वास्थ्य सामग्री र औषधिको अभाव हुने गरेकाले आफूहरूलाई स्वास्थ्य इकाइ केन्द्रको भर नभएको स्थानीय अमितादेवी बोहराले बताइन् ।


स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाँक्रीकै भर पर्ने गरेका छन् । गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको अर्की स्थानीय धना बोहराले बताइन् । उनले भनिन्, ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर लैजानुपर्छ । भनेको बेला बोक्ने मान्छे नहुँदा झन् समस्या हुन्छ । कतिपयले बाटोमै बच्चा जन्माउँछन् त कतिपयको बाटोमै ज्यान गुमाउँछन् ।’


नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा लैजाँदा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनले बताइन् । खोप केन्द्र लैजानका लागि पाँच घण्टा लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको अर्की स्थानीय जानकी बोहराको भनाइ छ ।


‘खोपको महत्त्व बुझेकाहरू त हिँडेरै गएर पनि लगाउँछन् तर धेरैजसो अशिक्षित र नबुझेकाहरूले खोप नै लगाउँदैनन्’, उनले  भनिन् । गाउँमै खोप केन्द्र भइदिएको भए कुनै पनि बालबालिकाले खोप लिनबाट बञ्चित हुन नपर्ने उनको भनाइ छ ।


यहाँको समस्यालाई लिएर स्थानीयहरू नगरपालिका र जिल्लाका विभिन्न निकायमा धाए पनि कतैबाट सुनुवाइ नभएको बड्डी ज्यावनवासीको गुनासो छ ।


भोट माग्नका लागि विभिन्न पार्टीका नेताहरू निर्वाचनका बेला गाउँमा आएका भए पनि दुर्गममा भएका कारण यस गाउँमा त्यसपश्चात् कुनै पनि जनप्रतिनिधिहरू पुग्दैनन् । प्रदेशसभा सदस्य देवकी मल्ल विजयी भएपछि बड्डी ज्यावनमा एकचोटि पुगेकी र त्यहाँको सुकुम्वासी समस्या र स्वास्थ्य इकाइको समस्यालाई लिएर प्रदेशसभामा पहल गरिरहेको बताउँछन् स्थानीय ।


यता, बुङ्गल नगरपालिका प्रमुख धनबहादुर बिष्टले भने त्यहाँका जनताको समस्या बुझेको भए पनि जनसंख्या कम भएका कारण गाउँमा नै स्वास्थ्य इकाइ केन्द्र बनाउन नसकिने तर बड्डी ज्यावन र अन्य टाढा रहेका गाउँहरूको पायक पर्ने गरी पारीबगर भन्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा ल्याएको बताए ।