close

गाउँका लागि खनिएको सडकले गाउँवासीलाई नै थुन्यो

गाउँका लागि खनिएको सडकले गाउँवासीलाई नै थुन्यो

Trulli
ADVERTISEMENT

बझाङ- तल्कोट गाउँपालिका वडा नम्बर- १ का विकुल्ली र रैसल्ली गाउँमा सडक विस्तार गर्ने क्रममा स्थानीयले हिँड्ने बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा विकुल्ली र रैसल्ली गाउँका ४० जना विद्यार्थीले विद्यालय जान पाएका छैनन् भने स्थानीयवासीलाई पनि बजार जान-आउन, घाँस-दाउरा जस्ता कार्य गर्न असहज भएको छ । 


सडक विस्तारका क्रममा खसेको ढुंगामाटोले स्थानीयले हिँड्दै आएको पैदल बाटो पुरिएको हुँदा ४ दिनदेखि विद्यालय जान नपाएको सुनिकोट माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विनिताकुमारी बमले बताइन् । विस्तार हुँदै गरेको सडक र स्थानीयले प्रयोग गर्दै आएको पैदल बाटो भिरैभिरमा भएकाले हिँडडुल ठप्प भएको अर्का स्थानीय पूर्णबहादुर बमले बताए । 


विकल्पमा अन्य बाटाहरू नभएका हुँदा ठूलो समस्या भएको बमको भनाइ छ । उनका अनुसार वस्तुभाउ चरिचरनमा लैजाने बाटो पनि त्यही भएकाले गोठमै थुनिएका छन् । हाल २५ घरधुरी विकुल्लीमा बसोवास गर्दै आएका छन् भने १० घरपरिपरिवार रैसल्लीमा बसोवास गर्दै आएका छन् । सुदूरपश्चिम सरकारको लगानीमा निर्माणाधीन सडकले विकुल्ली र रैसल्लीलाई जोड्ने लक्ष्य छ ।


यता, हालको ठेक्काअनुसार रकम सकिएको र अर्को ठेक्का सम्झौताका लागि आगामी आइतबार १५ दिने सूचना खोलिने तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर बिष्टले बताए । उनका अनुसार हाललाई स्थानीयको समस्या हेरी प्राविधिकबाट पैदल बाटो खुलाउनका लागि स्टिमेट ल्याउन शनिबार प्राविधिक पठाई यथाशीघ्र बाटो खुलाउने प्रयास गर्ने गाउँपालिका अध्यक्ष बिष्टले बताए । 


उनले भने, ‘शनिबार प्राविधिक पठाएर बाटोको अवस्था बुझ्नेछौँ र आवश्यक रकम निकासा गरी बाटो खुलाउनेछौँ । बाटो बन्द भएकामा हामी पनि चिन्तित छौँ ।’