close

अवैध क्रसर सञ्चालनमा वडा अध्यक्षकै मिलेमतो, आफ्नै जग्गा भाडामा दिएर वैधानिक बनाउने खेल

लेकबेंसीमा सञ्चालित सबै क्रसर अवैध रहेको नगरप्रमुखकै दाबी

अवैध क्रसर सञ्चालनमा वडा अध्यक्षकै मिलेमतो, आफ्नै जग्गा भाडामा दिएर वैधानिक बनाउने खेल

लेकबेंसीमा सञ्चालित सबै क्रसर अवैध रहेको नगरप्रमुखकै दाबी

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको लेकबेंसी नगरपालिका वडा नम्बर ८ मा अवैध क्रसर सञ्चालनका लागि वडा अध्यक्षले नै जग्गा भाडामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ८ चिसापानीमा रहेको लामा राजेन्द्र श्याम एन्ड शंकर नामक क्रसर सञ्चालन गर्न वडा नम्वर ८ का वडा अध्यक्ष लालबहादुर टंलामीले आफ्नो ३ रोपनी जग्गा भाडामा दिएको खुलेको हो ।


अरू केही व्यक्ति मिलेर करिब २ बिघा जग्गा क्रसर सञ्चालन गर्न भाडामा दिइएको वडा अध्यक्ष टंलामीले बताए । २०७५ सालमा क्रसर सञ्चालन गर्न वडा अध्यक्षसहितको समूहले जग्गा भाडामा दिएको हो ।


अहिले गंगटे, आरनटुडा, ढाडखेत सडक निर्माणका लागि क्रसर स्थापना गरिए पनि नदीजन्य पदार्थको अवैध दोहनमा स्थानीय सरकारले साथ दिँदा राजस्व छली हुँदै आएको छ । 


जिल्ला प्रशासन कार्यालयले भने अवैध रूपमा सञ्चालन भइरहेका क्रसर बन्द गर्न नगरपालिकालाई पत्राचार गरिसकिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

 

उनले भने, ‘अवैध क्रसर बन्द गराउन पत्राचार गरिसकेका छौँ । जिल्ला प्रशासनको भन्दा धेरै जिम्मेवारी र अधिकार नगरपालिकाकै हुन्छ । पुनः अनुगमन गर्छौं र कारबाहीका लागि सिफारिस गर्छौं ।’


लेकबेंसीमा सञ्चालित सबै क्रसर अवैध रहेको नगरप्रमुख गगनसिं सुनारले दाबी गरे । ‘नगरपालिकाले पनि त्यस्ता उद्योग बन्द गराउन निर्देशन दिइसकेको छ’, उनले भने ।